सररर साझाको बिजुली बसैमा...

 असार २४, २०७९ शुक्रबार १३:४६:४६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

साझा बसको उही लोगो, ब्रान्ड र हरियो रङ्ग । तर डिजेलबाट होइन बिजुलीबाट चल्ने बस । बिहीवार बिजुली बसको उद्घाटन कार्यक्रम भइरहँदा साझा यातायातको कार्यालय पुल्चोकमा पत्रकारको घुइँचो थियो ।

९५ वर्षको उमेरमा पनि साझाका संस्थापक अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको मुहारमा बेग्लै चमक देखिन्थ्यो । उहाँ भने लट्ठी टेक्दै बसको अगाडिको ढोकाबाट चढ्नु भयो । बसको सीटमा बसेर साझाको इतिहासबारे जानकारी दिनुभयो । त्यसपछि साझाका तीन वटा बिजुली बस गुडे ।

बखुण्डोलबाट शिक्षण अस्पताल जान भनेर बस चढ्नु भएकी सिर्जना कपालीलाई सुरुमा यो बिजुली बस हो भनेर थाहा थिएन । बस चढिसकेपछि उहाँलाई नौलो लाग्यो । ‘अरु २ वटा बस गएको देखेँ । नयाँ रहेछ भन्ने लाग्यो । चढिसकेपछि भने एकदमै सजिलो लाग्यो । आवाज पनि छैन । एकदमै रमाइलो लाग्यो ।’

बसको झ्यालबाट बाहिर हेर्दै रमाइ रहनु भएका अर्का यात्रु अस्मित बजगाईँले बिजुली बसमा एकदमै आनन्द भएको अनुभव सुनाउनुभयो । उहाँ साझाले किनेको बस उपलब्ध गराउने दीगो कम्पनीसँग सम्बद्ध हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘एक वर्ष अगाडि टेण्डर गरे पनि बस कस्तो हुन्छ भन्ने अनुभव गर्न पाइएको थिएन । हामीले गरेको कामको परिणाम अहिले आएर बाटोमा कुदेको देख्न पाउँदा एकदमै खुशी लागेको छ ।’

अबको केही समयपछि नेपालमा विद्युतीय ऊर्जा खपतभन्दा बढी हुने र नेपालको अर्थतन्त्रमा सुधार गर्न तथा वातावरण स्वच्छ राख्न पनि बिजुली गाडीहरु चाहिने उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘अर्थतन्त्र, वातावरण अनि सडकमा हुने जाम हटाउन पनि साझाको बिजुली बसको सुरुआतलाई क्रान्तिकारी नै भन्नुपर्छ ।’

नेपालमा बिजुली गाडी चाहिन्छ भनेर अभियान चलाउनेमध्ये एक हुनुहुन्छ, विजयमान शेरचन । पेसाले मेकानिकल इञ्जिनियर शेरचनको नेतृत्वमा करिब २९ वर्ष अगाडि नेपालमा बिजुलीबाट चल्ने सफा टेम्पाको सुरुआत भएको थियो । 

साझाको बिजुली बसको उद्घाटनमा पुग्नुभएका उहाँले भन्नुभयो, ‘साझाको यो कदम एकदमै राम्रो छ । गर्नुपर्ने थियो । ठिक छ । तर, हामी यतिमा सीमित हुनुहुन्न ।’

अपाङ्ग मैत्री समेत रहेको साझाको बिजुली बसमा शारीरिक रुपमा अशक्त हिरामणि खनाल पनि पुल्चोकबाट चढ्नुभयो । बिजुली बस चढिसकेपछि उहाँले भन्नुभयो, ‘पहिले पहिले बूढानीलकण्ठ जाँदा अप्ठ्यारो महसुस हुन्थ्यो । तर, आज भने आनन्द भएको छ । रेल चढे जस्तो लागिरहेको छ ।’ 

पहिले पनि साझाले अपाङ्ग मैत्री बस सञ्चालन गरेको थियो । तर, अपाङ्ग मैत्री भने पनि त्यसमा चढ्न र ओर्लन झन्झट थियो । अन्य गाडीले अपाङ्ग देख्ने बित्तिकै नरोक्ने, नचढाउने गरेको गुनासो गर्दै खनाल भन्नुहुन्छ, ‘अरु गाडीले अपाङ्ग भनेपछि गाडी चढाउँदैनन् । साझाले चढाउने गरेको थियो । अब त अपाङ्गमैत्री बिजुली बस भएपछि एकदम सजिलो भएको छ ।’

महिला चालक तथा परिचालक

साझाको बिजुली बस महिला चालकले गुडाउँछन् । बसको परिचालक पनि महिला नै राखेको छ साझाले । चालकमध्येकी एक हुनुहुन्छ हर्मिता श्रेष्ठ । उहाँ पहिला नयाँ बसपार्क लगनखेल रुटमा साझाको डिजेल गाडी चलाउनुहुन्थ्यो। बिजुली बस चलाउन उहाँले ७ दिनको तालिम पनि लिनुभयो । 

बिजुली बसको चालक हुन पाएकोमा एकदमै खुशी देखिनु भएकी श्रेष्ठ भन्नुहुन्छ, ‘अर्को गाडीभन्दा यो धेरै फरक छ । चलाउन पनि एकदमै सजिलो छ ।’ लगनखेल–बूढानीलकण्ठ रुटकै परिचालक मिना ओलीलाई पनि डिजेल गाडीभन्दा बिजुली बस नै ठिक लागेको छ । पहिले साझाको डिजेल गाडीमा सहचालकको काम गर्ने उहाँ भन्नुहुन्छ, ‘एकदम रमाइलो लागेको छ । टेष्ट ड्राइभमा थिएँ । अर्को गाडीमा आवाज धेरै आउँछ यसमा भने आवाज आउँदैन । बस्न पनि सजिलो र आरामदायी छ । यसमा प्यासेन्जर बोलाउन माइक छ । मुखले कराउनु पर्दैन ।’ 

साझाले ३ वर्ष अगाडि नै बिजुली बस चलाउन भनेर लुम्बिनी विकास कोषसँग ४ वटा बस ल्याएको थियो । भैरहवा विमानस्थलको लागि भनेर ल्याइएका यी बस विमानस्थल नबनेका कारण साझाले ल्याएको हो । ठूलो समारोह गरेर साझाले उद्घाटन समेत गर्यो । तर, कोषले सरकारसँग कागजात पास गर्न नसकेका कारण साझाले बस चलाउन पाएन । ३ वर्षअघिको साझाको यो रहर सरकारले ३ अर्ब रुपैयाँ दिएपछि बल्ल पूरा भएको छ । 

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित भन्नुहुन्छ, ‘मोटरसाइकल र गाडीबाट मानिस बसमा आउन् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले हामीले परीक्षणको रुपमा बिजुली बस ल्याएका हौँ ।’ बिजुलीबाट चल्ने साना निजी गाडीहरु काठमाण्डौमा प्रशस्तै देखिन्छन् । सार्वजनिक ठूला बिजुली गाडीहरु चलाउनुपर्छ भन्ने बहस र आवश्यक्ता महसुस भइरहँदा साझाले यसको सुरुआत गरेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया