काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै : अहिलेसम्म २७ जना बिरामी

 असार २५, २०७९ शनिबार ७:१८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएका छन् । बिहीवार तीन जनामा हैजा पुष्टि भएकोमा हिजो थप चार जनामा हैजा देखिएको छ । योसहित काठमाण्डौ उपत्यकामा हैजा पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक काठमाण्डौको कागेश्वरी मनहरा–६ का तीन र ललितपुर महानगरपालिकाको हरिसिद्धिका एक जनामा हैजा देखिएको छ । इपिडिमियोलोजी  तथा  रोग नियन्त्रण महाशाखाका  प्रमुख  डा.  चुमनलाल  दासले  पछिल्ला दिनमा  दैनिक  रूपमा  हैजाका  बिरामी  पुष्टि हुँदै  गएको र थप सावधानी अपनाउनुपर्ने देखिएको बताउनुभयो  । यसअघि हैजा पुष्टि भएका व्यक्तिलाई १० दिनसम्म अस्पताल भर्ना गरी उपचारपछि डिस्चार्ज गरिएको  थियो ।

परीक्षण नगराएका अरू व्यक्तिलाई पनि हैजा हुनसक्ने भएकाले सचेत रहन डाक्टरको सुझाव छ  । खानपान र सरसफाइमा ध्यान नदिए प्रकोपकै रुपमा फैलने भन्दै सचेत रहन समेत आग्रह गरिएको छ । भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा दूषित पानी वा खाद्यवस्तुबाट सर्ने गर्छ ।

सङ्क्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ । तारन्तार चौलानी जस्तो सेतो पानीसहित दिसा लाग्ने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिनासाथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जान पनि डाक्टरको सुझाव छ ।

प्राथमिक उपचारका क्रममा घरमै जीवनजल र झोलिलो नुनिलो खानेकुरा खान सकिन्छ । उमालेको वा शुद्धीकरण गरिएको पानी पिउन, स्वस्थ खानेकुरा खान र दिसा गरेपछि र खाना खानुअघि राम्रोसँग साबुन पानीले हात धुन डाक्टरको सल्लाह छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया