पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
माघ १४, २०८१ सोमबार
चियापसल कसैका लागि गफगाफ गर्ने ‘अड्डा’ हो । कसैका लागि साथीहरुसँग भेटघाट वा आराम गर्ने ‘जक्सन’ । शहर बजारमा पाइलैपिच्छे चियापसल भेटिन्छन् । काठमाण्डौमा त चियापसलका नाम पनि अनौठा र फरक शैलीका छन् । ‘चियावाला’, ‘चियादानी’, ‘बम्बु टी मास्टर’, ‘तन्दुरी चिया होलिक्स’, ‘दारी भाइको चिया पसल’ जस्ता चियापसलहरू नामकै कारण पनि चर्चित छन् ।
एकसय भन्दा धेरै स्वाद मिसिएको ‘चियावाला’
बुटवलका गणेश पाण्डेले सञ्चालन गर्नुभएको ‘चियावाला सिन्स १९५६’ नामको चियापसल काठमाण्डौको शङ्खमुल, थापाथली र चाबहिलसँगै ललितपुरमा समेत चर्चित छ । ६९ वर्षअघि सन् १९५६ मा बुटवलमा बुवाले शुरु गरेको चिया व्यवसायलाई निरन्तरता दिंदै गणेशले काठमाण्डौमा ‘चियावाला सिन्स १९५६’ सञ्चालन गर्नुभएको हो ।
यो चियापसलमा फरकफरक स्वादका एक सयभन्दा बढी प्रकारका चिया पाइन्छ । तीमध्ये सबैभन्दा लोकप्रिय चिया ‘मेरो खुशी चिया’ हो । यसको विशेषता भनेको ग्राहकलाई सोधेर रुची अनुसार चिया बनाइन्छ । अर्थात ग्राहकलाई चियामा कति दूध, चिनी, चियापत्ती वा मरमसला (जस्तै ल्वाङ, सुकमेल र अन्य सामग्री) राख्ने भनेर सोधिन्छ । ग्राहकको रोजाई र खुशी अनुसार चिया बनाइने भएकाले नै ‘मेरो खुशी चिया’ नाम राखिएको हो ।
अर्को छ ‘मनरुपा ब्ल्याक टी’ । मनरुपा गणेशको हजुरआमाको नाम हो । गणेशको हजुरआमाको हातले पकाएको चिया विशेष र बेग्लै हुन्थ्यो । कालो चिया भए पनि हजुरआमाले पकाउने तरिका छुट्टै थियो । त्यो चियामा केवल स्वाद मात्र नभई परम्पराको मिठास र सम्झनाको गहिराइ मिसिएको हुन्थ्यो । हजुरआमाले पकाएको चियाको त्यो स्वाद गणेशको मनमा अझै बसेको छ । अहिले हजुरआमा हुनुहुन्न, तर उहाँको सम्झना चियाको कपमा जीवित छ । गणेशले हजुरआमाको सम्झनामा चियाको नाम राखि दिनुभयो – ‘मनरुपा ब्ल्याक टी’ । यो चिया हजुरआमाले दिएको चिनो हो भन्नुहुन्छ गणेश ।
चियावालाको अर्को स्वाद हो, ‘घनश्याम चिया’ । घनश्याम गणेशका बुवाको नाम हो । उहाँले आफ्नो जीवनभर चियाको व्यापारमार्फत परिवारलाई सहारा दिनुभयो । बुबाले प्रतिदिन झन्डै एक सय ५० लिटर दूधको दुई सय कपभन्दा बढी चिया पकाएर बेच्नुभएको थियो । त्यतिबेला गणेशको बुवाले जस्ताको छाप्रोमुनी बसेर हिउँद–बर्खा नभनी दिनभर चिया पकाएर बेच्ने गर्नुहुन्थ्यो । बुबाले बनाउने चियाको विशेषता नै छुट्टै थियो– चिनी कम र गाढा रङ्गको । उहाँले बनाएको चिया पिउन निकै घुईंचो लाग्थ्यो । यही चिया बेचेर उहाँले परिवारको गुजारा चलाउनुभयो । बुबाको योगदान र मेहनतलाई स्मरण गर्दै गणेशले उहाँकै शैलीमा चिया बनाउने निर्णय गर्नुभयो । यो चियालाई बुवाको सम्मानस्वरूप ‘घनश्याम चिया’ नाम राखेर बेच्न थाल्नुभयो । यो चियापसलमा आमा समूहले तयार गरेको विशेष चिया ‘मदर टी’ पनि उपलब्ध छ ।
यहाँ हरेक चियाको नाममा आफ्नै कथा छ र चिया बनाउने तरिका पनि फरक छ ।
ललितपुरको बखुन्डोलमा रहेको ‘चियावाला’ पनि चियाप्रेमीहरूका लागि शान्त वातावरणमा चिया पिउने विशेष गन्तव्य हो । पसलमा प्रवेश गर्नेबित्तिकै भान्साबाट निस्कने तातो चियाको बासनाले मन लोभ्याउँछ । चिया बनिरहेको ठाउँ नजिकै झुन्ड्याइएको ‘केही मिठो बात गर’ भन्ने सन्देशले पसललाई आत्मीय बनाएको छ । अघिल्तिरको भित्तामा लेखिएको कविता – ‘चुपचाप यसैगरी जीवन कथा चलीरहोस, रुमानी रङ्ग बसन्त छरी, मन्द मन्द हाँसिदिनु’ – ले चियाको चुस्कीमा हराउन प्रेरित गर्छ । चिया बनाउने ठाउँसँगै आरामदायक टेबल र कुर्सी छन् भने अर्को ठूलो हलमा पनि चिया पिउन मिल्ने व्यवस्था छ । पसलको बाहिर सानो बगैँचाजस्तो ठाउँमा एउटा ठूलो रुख छ, जसको छेउछाउ सिमेन्टको पेटीमा गुन्द्री र चकटी ओछ्याइएको छ । वरपर मुढा र टेबल राखिएको छ, जसले गाउँको सौन्दर्य झल्काउँछ । चियापसलमा कुर्सी र टेबलको सट्टा फालिएका काठका बेञ्च र रुखका ठुटोलाई मुढा बनाएर राखिएको छ । पुराना चुकुलसहितका ढोकालाई खुट्टा राखेर टेबल बनाइएको छ, भने बेञ्च पनि यस्तै पुराना ढोकाबाट बनेका छन् ।
‘दारीभाइको चियापसल’
काठमाण्डौको शङ्खमूल प्रगतिनगरमा नामकै कारण चर्चित चियापसल छ– ‘दारीभाइको चियापसल’ । पसलको नाम जस्तै यसको सञ्चालकले दारी पाल्नु भएको छ । उहाँको नाम हो राजेश रेग्मी । उहाँले पाँच वर्षअघि यो चियापसल सञ्चालन गर्नुभएको हो ।
त्यसअघि इञ्जिनियरिङ्गको विद्यार्थी भएकाले राजेशलाई सधैं पढाइकै तनाव थियो । कहिले प्रोजेक्टको काम र परीक्षाहरूको दबाब । यी तनाव र थकानलाई मेटाउन उहाँ पहिलेदेखि नै दारी पाल्नु हुन्थ्यो । दारी पालेपछि साथीहरुले ‘दारीभाइ’ भनेर बोलाउन थाले । त्यसपछि उहाँ ‘दारी भाइ’ भनेर चिनिन थाल्नु भयो ।
डिप्लोमा इन इन्जिनियरिङ्ग पूरा गरेपछि उहाँले आफ्नो सीप र दक्षताको आधारमा एक वर्षसम्म काम गर्नुभयो । तर त्यो कामले सन्तुष्टी दिएन । जागिर छोड्नुभयो । जागिरको खोजीमा अलमलिनु भन्दा आफैंले चियापसल खोल्ने विचार आयो । आफूसँग भएको पाँच हजार रुपैयाँ लगानी गरेर आफूले चिनेको ठाउँ र साथीभाइले राखिदिएको नाम राखेर चिया पसल खोल्नु भयो ‘दारीभाइको चिया पसल’ ।
राजेशलाई लाग्छ, आफ्नो साँचले चिया पिउने सामान्य स्थानलाई सामाजिक भेटघाट र रमाइलो गर्ने स्थलमा रूपान्तरण गरेको छ । ‘पहिले चिया पसलहरू साना थिए– कुचुक्क परेको ठाउँमा बसेर चिया पिउनु पर्ने, गफ गर्न नपाइने र आरामदायक वातावरणको अभाव थियो । मैले यस समस्याको समाधान खोज्ने प्रयास गरेको हुँ’ राजेश भन्नुहुन्छ । ‘दारीभाइको चिया पसल’ ले बसुन्धरा र कालोपुलमा पनि आफ्नो शाखा बिस्तार गरिसकेको छ ।
थरीथरीका चिया पाक्ने ‘चियादानी’
चिया पकाउने परम्परागत भाँडोको नाम राखेर खोलिएको अर्को चियापसल पनि शङ्खमुलमै छ । ‘चियादानी’ का सञ्चालक हुनुहुन्छ, स्याङजाका सुवास शर्मा । यहाँ चिया पिउन मात्र होइन, पसलको नामको अर्थ पनि बुझ्न जानेहरु पनि धेरै हुन्छन् । सुवास भन्नुहुन्छ, ‘फेन्सी नाम राख्नुभन्दा परम्परागत नेपाली शब्द खोज्दा ‘चियादानी’ भेटियो । नेपाली साहित्यमा रुची भएकाले पनि ‘चियादानी’ शब्द मलाई विशेष मन परेको हो, त्यसैले यही नामबाटै पसलको नाम राखें ।’
उहाँले शुरुमा पाँच वर्षअघि पोखरामा ‘चियादानी’ नामले चिया व्यवसाय शुरु गर्नुभएको हो । यसको सफलता देखेर चितवनमा पनि यसको शाखा खोल्नुभयो । एक वर्षअघि काठमाण्डौमा पनि यसको शाखा खोलेर उहाँ चियापारखीहरु माझ चर्चित हुनुभएको छ ।
पसललाई गाउँले परिवेशको झल्को दिने शैलीमा सजाइएको छ । चियादानी दुई भागमा विभाजित छ । पहिलो भागमा बाँसले घेरिएको र खरले छाएको छाप्रो छ, जहाँ आरामसँग बस्न मिल्ने कुर्सी र टेबल राखिएका छन् । दोस्रो भाग खुला ठाउँमा रहेको छ, जसमा ग्राभेलले ढाकिएको जमिनमाथि होचो मेचहरु राखिएका छन् । गमलामा रोपिएका हरियाली बिरुवा, तोरणझैं झुन्डिएका साना बत्तीहरू र रातो लालटिनले गाउँको वातावरणलाई झल्काउँछन् ।
यहाँ पाइने मटका चिया, कालो चिया र मसला चियाको स्वाद र गुणस्तरले ग्राहकलाई आकर्षित गरेको छ । ‘चियादानी’ मा ३० प्रकारका चिया पाइन्छ ।
माटोको तातो कपमा तातो चिया पिउन पाइने ‘तन्दुरी चिया होलिक्स’
बानेश्वर चोक नजिकै छ, ‘तन्दुरी चिया होलिक्स’ । नाम सुन्नासाथ तन्दुरीमा चिया पकाउने होला भन्ने लाग्न सक्छ, तर चिया पकाउने तरिका फरक छ ।
सामान्यतया चिया दूध, चिनी र चियापत्ती हालेर डेक्चीमा पकाइन्छ । यहाँको विशेषता भनेको यसमा प्रयोग गरिने माटोको कप हो । कपलाई तन्दुरीमा पोल्ने र त्यसमा पाकेको चिया हालेर ग्राहकलाई दिइन्छ । यसैलाई नै तन्दुरी चिया भनिएको हो ।
कपको तातोपनमा नयाँ स्वाद हुन्छ । यही नयाँपनले ग्राहकलाई फरक अनुभव दिन्छ । चियाको स्वादसँगै माटोको कपबाट आउने बास्ना र तातो चियाको मिठासले यो ठाउँलाई अझ विशेष बनाएको छ । साथीभाइसँग गफ गर्न होस् वा अफिस जाँदा आउँदा केहीबेर फुर्सदको आनन्द लिन यो चियापसल धेरैका लागि मनपर्ने गन्तव्य बनेको छ ।
चार वर्षअघि खोटाङका जीवन खड्काले आफ्ना साथीहरूसँग मिलेर एउटा फरक सोँचका साथ व्यवसाय शुरु गर्नुभएको हो, ‘तन्दुरी चिया होलिक्स’ । उहाँलाई तन्दुरी चियाको विचार पहिलो पटक नेपालगञ्जको यात्रामा आयो । जीवन भन्नुहुन्छ, ‘भारतमा तन्दुरी चिया निकै चर्चित रहेछ । मैले सोचें, काठमाण्डौजस्तो ठाउँमा पनि यो शैलीमा चिया बेच्न सकिन्छ । नेपालमा चियापसल त धेरै छन्, तर नाम साधारण हुँदा ग्राहकले चासो देखाउँदैनथे । त्यसैले ‘तन्दुरी चिया होलिक्स’ जस्तो फरक र आकर्षक नाम रोज्यौं, जसले ग्राहकको ध्यान तान्न धेरै सहयोग गर्यो ।’
तराईको सुगन्ध र स्वाद भएको ‘बम्बु टी मास्टर’
काठमाण्डौको आलोकनगरमा ‘बम्बु टी मास्टर’ चियापसलमा तराईको सुगन्ध र स्वाद मिसिएको चिया पिउन पाइन्छ । सिरहाका घनश्याम कुमार यादवले चार वर्षअघि यो चियापसल शुरु गर्नुभएको हो ।
‘बम्बु टी मास्टर’ भन्ने नाम पछाडि एउटा विशेष सोँच लुकेको छ । घनश्यामलाई सधैं आफ्नै गाउँ तराईको झझल्को आउँथ्यो । त्यहाँको प्रकृति, बाँसले बनेका घरहरू र गाउँले जीवनशैलीले उहाँलाई शहरमा पनि आफ्नोपन दिन प्रेरित गर्यो । तराईमा पहिले–पहिले बाँसकै घर प्रचलित थिए, तर अहिले त्यो संस्कृति हराउँदै गइरहेको छ । यही सम्झनालाई शहरको व्यस्त जीवनसँग जोड्दै उहाँले चियापसलको नयाँ रूप ल्याउनुभयो ।
यो चियापसलको विशेषता भनेकै यहाँ प्रयोग हुने सबै सामग्री बाँसबाट बनेका छन् । कप, प्लेट, गिलास, चम्चा, टेबल र दाउरासमेत बाँसकै छन् । घनश्याम भन्नुहुन्छ, ‘बाँसको कपमा चिया पिउँदा एक प्रकारको सुगन्ध र मिठास थपिन्छ । यहाँ चिया पिउँदा तपाईंले सामान्यभन्दा केही फरक अनुभव गर्नुहुन्छ ।’
सजावटदेखि चिया बनाउने तरिकासम्म, सबै कुरा यहाँको अनौठो स्वाद र वातावरणमा मिसिएको छ । ग्राहकले फरक स्वादको त अनुभव गर्छन् नै, बाँस र माटोको प्राकृतिक स्पर्शले गाउँको झझल्को पनि पाउँछन् । यहाँ १० प्रकारका चिया पाइन्छ, जसले हरेक चिया प्रेमीलाई नयाँ अनुभव दिन्छ ।
माथिका यी चियापसल त केही उदाहरण मात्रै हुन् । अहिले काठमाण्डौका धेरै ठाउँमा आकर्षक नाम र शैलीका चियापसल खुल्ने लहर नै चलेको छ । यस्ता चियापसलले शहरको जीवनशैलीलाई अझ रमाइलो र विविध बनाएको छ । चिया घर, चिया गफ, चिया अड्डा, चिया पार्क, चिया दरबार जस्ता नामहरूले चियापसलहरूको फरक–फरक स्वाद र शैली झल्काएका छन् । शुद्ध माटोको भाँडामा बनाइने ‘मटका चिया’ होस् वा नयाँ प्रविधिले तयार गरिने ‘फ्युजन चिया’, यी सबैले ग्राहकलाई नयाँ स्वाद र अनुभव दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महेश ज्ञवाली उज्यालाेमा कार्यरत हुनुहुन्छ ।