भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : रेनु दाहाल

 असार २८, २०७९ मंगलबार १९:२४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरकाे शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको दाबी गर्नुभएकाे छ । आज मङ्गलवार महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण कार्यक्रममा मेयर दाहालले विगत पाँच वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताउनुभयो ।

पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि महानगरले विभिन्न कार्यक्रम गरी सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको उहाँले उल्लेख गर्नुभयो । ‘पाँच वर्षमा सात हजार विद्यार्थी सामुदायिक विद्यालयमा बढे’, उहाँले भन्नुभयो, ‘यो भनेको गुणस्तरमा वृद्धि हुनु हो । अझै यो सङ्ख्या बढेर जान्छ । छात्रालाई साइकल वितरण, विद्यालयलाई बस हस्तान्तरण, गरिब विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका थियौँ । विद्यालयका आधुनिक भवन निर्माण पनि भएका छन् ।’

महानगरपालिकाले एक वडा एक नमुना विद्यालय बनाउने लक्ष्यका लिएकाले विद्यालयहरूबीच शैक्षिक प्रतिस्पर्धा कायम भइ शैक्षिकक गुणस्तर बढ्ने मेयर दाहालले दाबी गर्नुभयो । ‘नारायणी नमुना मावि जस्तै सबै विद्यालय भरतपुरमा हुन जरुरी छ’, उहाँले भन्नुभयो, ‘भरतपुरमा मात्रै उत्कृष्ट होइन, देशकै उत्कृष्टमा पर्छ । नारायणी माविको विधि पद्धतिलाई सबै विद्यालयले अनुसरण गर्न आग्रह गर्छु । शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर सधैँ तयार छ ।’

मेयर दाहाले गरे केही पनि असम्भव छैन भन्ने कुरा विगत पाँच वर्षमा गरेका कार्यले पुष्टि गरेको बताउनुभयो ।

महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका पाँच वटा विद्यालयलाई बस हस्तान्तरण गरेको थियो । यो वर्ष भरतपुर १६ को ढड्डाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई मेयर दाहालले बसको चाबी हस्तान्तरण गर्नुभयो । बस हस्तान्तरण कार्यक्रमलाई बर्सेनि निरन्तरता दिइने पनि मेयर दाहालले उल्लेख गर्नुभयो ।

हस्तान्तरण गरिएको एउटा बसको मूल्य २१ लाख ४५ हजार रुपैयाँ छ । विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया