न्युरोडको ‘न्यू लुक्स’

 असार ३०, २०७९ बिहिबार ९:३९:३२ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौको न्युरोड गेट नजिकै हाफ पाइन्ट र सुरुवालको पसल गर्ने ठकुरीदास तामाङलाई आफ्नो अगाडि फेरिएको रेलिङले खुशी बनाएको छ । तामाङ भन्नुहुन्छ, ‘एकदमै राम्रो देखिएको छ । तर, पहिलेको तुलनामा बलियो भने छैन जस्तो छ ।’ 

उहाँको चिन्ता बार अलि पक्का नभएकोमा छ । उहाँ भन्नुहुन्छ, ‘बार अलि पक्का भएन । त्यसमा फेरि चुच्चो पनि भएको हुनाले कहिलेकाहीँ घाउ पनि हुन सक्छ ।’

न्युरोड गेटदेखि खिचापोखरी जाने मोडसम्मको सडकपेटीमा कुमारी र पशुपतिको आकृति भएको नयाँ रेलिङ राखिएको छ । रातो रङ्गको पृष्ठभूमिमा कालो र सेतो रङ्गको कुमारीको आँखा अनि रातो, सेतो र पहेँलो रङ्गको पशुपतिको आकृतिले त्यस क्षेत्रमा आउने जो कोहीको ध्यान खिच्छ । 

काठमाण्डौ महानगरपालिकाका वडा नं २२ का वडा सदस्य चन्द्रमान तुलाधरका अनुसार अघिल्लो वर्ष छुट्याइएको बजेटबाट नयाँ रेलिङ राख्ने काम भइरहेको हो । न्युरोड गेट तथा न्युरोड वरिपरि बत्ती राखेर आकर्षक बनाउने योजना छ वडा नं २२ को । दरबारमार्गमा रातिको समयमा देखिने जस्तो बत्तीको आकर्षण बनाउन लागिएको तुलाधरले जानकारी दिनुभयो । न्युरोड गेटलाई एउटा आकर्षणको रुपमा देखाउन वडाले पहल गरे पनि पुरातात्विक महत्त्वको भएका कारण त्यसमा थप केही गर्न पुरातत्व विभागले मानेन । 

‘न्युरोड गेटको लागि भनेर आएको बजेट फिर्ता गयो । पुरातत्वले केही गर्न दिएन,’ तुलाधरको गुनासो छ, ‘गेटमा केही मर्मत सुधार गरियो । तर अरु केही गर्न मिलेन । तर अब वरिपरि भने सबै ठाउँमा बत्ती राखेको एउटा आकर्षक न्युरोड देख्न सक्नुहुन्छ ।’

गएको सालको बजेट भए पनि ४/५ महिना टेण्डर तथा सूचना र अन्य प्रक्रियाका कारण रेलिङको काम ढिलो भएको हो । काठमाण्डौ महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्ले भन्नुहुन्छ, ‘गएको सालको बजेटको कार्यक्रम हो । आफ्नै प्रक्रियामा काम गर्दा ३०/४५ दिन सूचना लाग्छ । छानिएर आउँदा ४/५ महिना त त्यसै लाग्छ ।’ 

अहिले न्युरोडको सडकपेटीमा रेलिङ तथा ब्लक छाप्ने काम पनि भइरहेको छ । न्युरोड गेटबाट छिरेर अगाडि बढ्दा कुनै ऐतिहासिक ठाउँमा जाँदैछु भन्ने झल्को दिने गरी काम गर्न लागेको महानगरको भनाइ छ । काफ्ले भन्नुहुन्छ, ‘हनुमानढोका दरबार स्क्वायर विश्व सम्पदा सूचीमा परेको ठाउँ भएकाले त्यसको महत्त्व झल्कियोस् भनेर बारमा पशुपति, स्वयम्भू झल्किने चित्र राखिएको हो ।’

काम यही असार महिनामा सकिनु पर्ने थियो । तर, काम गर्ने ठेकेदारले २/३ महिनाको समय मागेकोले अलि ढिलाइ भइरहेको हो । रेलिङ वसन्तपुरको वरिपरिको सबै डबलीमा राख्न लागिएको छ । वसन्तपुरसँग जोडिएका २२, २३ तथा २४ वडामा यस्तो रेलिङ राख्न लागिएको हो । 

काफ्ले भन्नुहुन्छ, ‘हनुमानढोकाको सुन्दरता बढाओस् भन्ने हो । अन्य क्षेत्रमा पनि गर्नु पर्ने छ । अबको योजनामा हामी त्यस्ता ठाउँमा जान्छौँ ।’

पर्यटन प्रवर्द्धन पनि होस् भन्ने महानगरको उद्देश्य रहेको छ । सडकपेटीमा ब्लक छापेर राम्रो बनाउँदा बार पनि राम्रो र आकर्षक होस् भनेर यस्ता कलाकृतिका चित्र भएका बार राखिएको हो । 

महानगरका सहायक प्रवक्ता काफ्ले भन्नुहुन्छ, ‘नयाँभन्दा पनि पुरानो र आकर्षक होस् भन्ने नै हाम्रो उद्देश्य हो । त्यसैले ब्लक पनि अहिले राम्रो, चिल्लो र आकर्षक हालिएको छ ।’ 

पशुपतिको नजिक पुग्दा पशुपति आइपुगियो भन्ने एक प्रकारको भाव उत्पन्न भएझैँ हनुमान ढोका जस्तो विश्वसम्पदा सूचीमा परेको ऐतिहासिक तथा पुरातात्विक ठाउँ आइपुगियो भन्ने आभाष दिलाउन महानगरले यो काम थालेको हो। 

‘न्युरोड, असन वा विष्णुमती जताबाट छिरे पनि हनुमान ढोका वा कुनै ऐतिहासिक स्थलमा जाँदैछु भन्ने कुरा होस् भन्नका लागि यो काम गरिरहेका छौँ,’ काफ्ले अगाडि भन्नुहुन्छ, ‘अब हामीले पर्यटन प्रवर्द्धन गर्नका लागि त्यस्ता क्षेत्रमा पनि केही गर्नुपर्छ । हाम्रो नीति पनि पर्यटन पूर्वाधारमा अलि खर्च गर्नुपर्छ भन्ने छ।’

टुँडिखेल वरपरका बार पनि महानगरले सजाउने योजना बनाएको छ । तर, त्यहाँ भने यस्तो पुरातात्विक महत्त्वका नभएर अरु खालका चित्रहरु राख्ने तयारी छ । सिङ्गो नेपाल झल्किने किसिमका चित्रहरु राख्ने योजना रहेको काफ्लेले जानकारी दिनुभयो। 

अन्तिम अपडेट: चैत २७, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया