खानेतेलको भाउ केही घटेको सरकार र उद्योगीको दाबी : घटेको मूल्यमा पाउन नसकेको उपभोक्ताको गुनासो

 असार ३२, २०७९ शनिबार ११:३२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बजारमा खानेतेलको भाउ घटेको भने पनि महँगोमा किन्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योगीका अनुसार बजारमा पछिल्लो हप्ता खानेतेलको प्रकृति अनुसार (तोरी, सनफ्लावर र भटमास) लिटरमा ४० देखि ७० रुपैयाँसम्म घटेको छ ।

भाउ अहिलेसम्मकै उच्च हुँदा यसअघि उपभोक्ताले भटमास तेलमा प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँसम्ममा खरिद गर्नुपरेको थियो । तर अहिले बजारमा भटमासको तेल कार्टुनमा ७ सय रुपैयाँसम्म घटेको उद्योगीको भनाइ छ । त्यस्तै सूर्यमुखी तेल अहिले प्रतिकार्टुन २ हजार ६ सय रुपैयाँमा झरेको छ । यसअघि प्रतिलिटर ३ सय २० रुपैयाँ पर्ने तेल अहिले २ सय ५० देखि ६० रुपैयाँमा पाइने उद्योगीको भनाइ छ । तोरीको तेल पनि केही सस्तो भएको छ ।

तर उद्योगीले भाउ सस्तो भएको भने पनि उपभोक्ताले घटेको मूल्यमा तेल किन्न नपाएको गुनासो गरेका छन् । उद्योगीले खुद्रा मूल्य घटाएको भए पनि त्यो तेल बजारसम्म आइनपुगेकाले घटेकै मूल्यमा उपभोक्ताले तेल किन्न नपाएको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ ।

उद्योगीले भाउ घटाएको भने पनि नयाँ मूल्यसहितको तेल अहिलेसम्म बजारमा छ्यापछ्याप्ती नआएको सङ्घका महासचिव आमुलकाजी तुलाधरले बताउनुभयो । नयाँ मूल्य निर्धारण गरी बजारसम्म आइपुगेको तेललाई व्यापारीले घटेकै मूल्यमा सुरु गरेका उहाँको दाबी छ ।

सबैतिरका बजारमा समान रुपले घटेकै मूल्यमा बिक्री गर्न अझै एक हप्तासम्म लाग्ने महासचिव तुलाधरले जानकारी दिनुभयो । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार खाने तेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले मूल्य घटाएका हुन् ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थको मूल्य घटेकाले पनि अहिले बजारमा तेलको मूल्य केही घटेर आएको हो । अझै तेलको मूल्य केही घट्न सक्ने देखिएको नेपाल सङ्घले जनाएको छ ।

सरकारले यसअघि नै खानेतेलको मूल्य घटाउन उद्योगीलाई निर्देशन दिएको थियो । खानेतेलको मूल्य घटाउन तेल उद्योगीलाई निर्देशन दिएपछि केही मात्रामा मूल्य घटेको बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

सरकार र उद्योगीले तेल केही सस्तिएको भने पनि आम उपभोक्ताले अझै पनि घटेको मूल्यमा नपाएको गुनासो गर्दै आएका छन् । व्यापारीले पुरानो स्टक तेल बिक्री गर्नुपर्दा भाउ महँगो नै भएको बताउने गरेका उपभोक्ताको भनाइ छ ।

गएको फेब्रुअरी अन्तिममा रुस–युक्रेनबीच युद्ध सुरु भएपछि यही बहानामा कम्पनीहरुले तेलको मूल्य अत्यधिक बढाएका थिए । त्यतिबेला उद्योगीहरुले कच्चा पदार्थ रोकिएको भन्दै खानेतेलको मूल्य बढाउँदा अहिलेसम्मकै उच्च भएको थियो ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Surya thapaliya

    July 16, 2022, 12:41 p.m.

    सामानकाे मुल्यबृद्दि हुदा जतिपनि उपलब्ध गराउने व्यापारी,पसल साहुजि मुल्यघट्दा सामान छैन भन्छन भने त्याे जनतामाथि गरेकाे ठुलाे भ्रष्टचार नै हाे । पहिले सस्ताेमा सामान ल्याई राखेकाे लाई बढि मुल्यमा बेच्दा हुने अनि अब महङ्गाेमा सामान ल्याई राखेकाे स्टक सामान मूल्य घट्दा जनतालाई छैन/ सकियाे भनेकाहरूलाई भण्डार तलासि गरि सिल ठाेकि दिनु पर्छ है सम्बन्धित निकाय अनि स्थानिय सरकार जानि राखाै नि न्याय जनताले पाउनु पर्छ नभय तिमिहरूमकाे पनि कालाे दिन आउनेछ

  •  0 Reply

तपाईको प्रतिक्रिया