बाबुरामसँगको छलफलपछि प्रचण्डको प्रतिक्रिया : ‘२/३ दिनभित्र टुङ्गोमा पुगेमा धेरै राम्रो हुन्छ’

 साउन ३, २०७९ मंगलबार १४:४०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ समाजवादी गठबन्धन बनाउने विषयमा छलफल थालिएको बताउनुभएको छ । सिंहदरबारमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसँग भएको छलफलपछि प्रचण्डले भट्टराईसँग पछिल्लो राजनीतिक अवस्था र नयाँ समाजवादी गठबन्धन बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

‘नयाँ गठबन्धन बनाउने विषयमा छलफल चलिरहेको छ, गठबन्धन बनाउने बारेमा अरू पार्टीसँग पनि कुराकानी गरौँ, पर्सिसम्म एउटा टुङ्गोमा पुग्यो भने राम्रो हुन्छ भन्ने कुरा भयो’, प्रचण्डले भन्नुभयो । नयाँ समाजवादी गठबन्धन बनाउनुको अर्थ अहिलेको सत्ता गठबन्धन तोड्ने नरहेको प्रचण्डको भनाइ छ  । प्रचण्डले आउँदो सङ्घीय र प्रदेशको चुनावसम्म अहिलेकै सत्ता गठबन्धन जारी रहने पनि दाबी गर्नुभयो । कांग्रेसको केन्द्रीय समितिले गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्नु स्वागतयोग्य कुरा भएको भन्दै उहाँले आउँदो चुनावमा गठबन्धन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । 

प्रचण्ड र बाबुराम भट्टराईबीचको छलफलमा एमालेबाहेकको समाजवादी गठबन्धन बनाउने विषयमा कुरा भएको प्रचण्डको सचिवालयले जनाएको छ । जनता समाजवादी पार्टीबाट निष्कासनमा परेर नयाँ पार्टी गठन गर्ने तयारीमा रहनुभएका भट्टराईले माओवादी केन्द्रमै आफू प्रवेश नगर्ने बरु कांग्रेस र एमालेविनाको समाजवादी केन्द्र बनाउन प्रस्ताव गर्नुभएको थियो । यस्तै माओवादी र एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले पनि वैकल्पिक वाम गठबन्धन गर्नुपर्ने बताउँदै आएकाे छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया