ललितपुर महानगरले 'सुशासन वर्ष' मनाउने, दमकल किन्नेदेखि वाटर एटीएमसम्मकाे याेजना

 साउन ४, २०७९ बुधबार १७:२५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० लाई 'सुशासन वर्ष' का रूपमा मनाउने भएको छ । आज बुधवार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रूपमा मनाइने बताउनुभयो । उहाँले सुशासन वर्ष महानगरले गर्ने खर्च कटौती गरेर, बेरुजु उल्लेख्य मात्रामा घटाएर, पारदर्शिता प्रवर्द्धन गरेर, वडालाई विकास केन्द्रको रूपमा विकसित गरेर र कार्यसम्पादन सम्झौता गरेर सुशासन वर्ष मनाउन लागिएको बताउनुभयो । मेयर महर्जनले विपद् व्यवस्थापनमा लगानी वृद्धि गरी दमकल खरिद गर्ने योजना बनाएको बताउनुभयो । वारुण यन्त्रको क्षमता अभिवृद्धि गर्ने, विपद्सम्बन्धी सम्पूर्ण जनशक्ति, स्रोत, साधन, सामग्री, सूचना एउटै छातामुनिबाट परिचालन गर्ने, रिङरोड बाहिरका वडाहरूमा फोहर सङ्कलनमा आधुनिक उपकरणको प्रयोग तथा परिचालन गर्ने योजना बनाएको उहाँकाे भनाइ छ ।  

त्यस्तै मेयर महर्जनले महानगरपालिकाले महानगरका सबै वडामा सम्भव भएसम्म आधुनिक अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गर्ने बताउनुभयो । उहाँले आधुनिक र प्रविधिको विकास हुँदै गएकाले महानरपालिकाको राजस्व सङ्कलन प्रक्रियालाई अनलाइन प्रणालीमा आबद्ध गर्ने बताउनुभयो । मेडिकल टिम बनाएर प्रत्येक घरमा गएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्ने गरी ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिने उहाँले बताउनुभयो । 

उहाँले महानगरले शैक्षिक क्रियाकलापलाई एकरूपता ल्याएर कक्षा ३ सम्म नेपाल भाषाको पाठ्यक्रम लागू गरिने उल्लेख गर्नुभयाे । मेयर महर्जनले खानेपानी व्यवस्थामा विशेष जोड दिँदै सम्भाव्यता स्थानमा वाटर एटीएमको व्यवस्था गर्ने बताउनुभयो । उहाँले छिमेकी नगरपालिकाहरूको परियोजनामा सहयोग गर्ने योजना बनाएको पनि सुनाउनुभयाे । लितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । यसमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ६१ लाख ५४ हजार तथा पुँजीगततर्फ चार अर्ब आठ करोड ७३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ । महानगरपालिको बजेटमा आन्तरिक स्रोत तीन अर्ब ९६ करोड, सङ्घीय ससर्त अनुदान ६५ करोड ९४ लाख, प्रदेश ससर्त अनुदान २९ करोड ९८ लाख चार हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरण एक अर्ब ७० करोड ४१ लाख १९ हजार रुपैयाँ रहेको छ । चालु खर्चतर्फको ४५ करोड रुपैयाँ ललितपुर महानगरपालिकाभित्रका ७३ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप वार्षिक एकमुस्ट रूमा १० हजार रुपैयाँका दरले दिनका लागि छुट्याइएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया