ललितपुरका ठाउँ–ठाउँमा ट्राफिक बत्ती : कतै बल्न थाले, कतै बाँकी

 साउन ८, २०७९ आइतबार २०:५:१३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

झम्सीखेल चोक नजिकै ट्याक्सीमा ग्राहक कुरिरहनु भएका श्याम तामाङ चोकमा ट्राफिक बत्ती राखिएकोका खुसी हुनुहुन्छ । धेरै पटक यही चोक भएर ओहोरदोहोर गरिरहने उहाँ दिउँसोको समयमा भन्दा पनि बिहान र बेलुकाको कार्यालय समयमा हुने जाम घटाउन सघाउ पुगेकोमा बढी खुसी देखिनुहुन्छ । 

तामाङ भन्नुहुन्छ, ‘यहाँ बत्ती नराख्दा सबैले आफैंँ पहिला जान हतार गर्ने गर्दा झन्–झन् जाम हुन्थ्यो । अहिले बत्ती राखेपछि भने एकदमै ठिक भएको छ । बिहान, बेलुका ट्राफिक प्रहरी बस्ने हुँदा गाडीको चाप भए पनि सजिलै जान पाइएको छ ।’

झम्सीखेल चोकमा ट्राफिक बत्ती परीक्षणका रूपमा सञ्चालन भएको झन्डै दुई महिना भयो । औपचारिक रूपमा सञ्चालन भएको भने दुई हप्ता मात्र भयो । ललितपुर महानगर वडा नं ३ ले तन्त्र भिजन नामक संस्थाको सौजन्यमा यो बत्ती राखेको हो । तन्त्र भिजनको सौजन्यमा नै पुल्चोक र हरिहरभवनमा पनि ट्राफिक बत्ती राखिएको छ । 

ललितपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन भन्नुहुन्छ, ‘चलेको त पहिलेदेखि हो । तर औपचारिक शुभारम्भ भएको भने दुई हप्ता भयो । पुल्चोक तथा मङ्गलबजार जाने बाटोमा पनि हामीले राखेका छौँ ।’

ललितपुरका अरू ठाउँमा पनि ट्राफिक बत्ती राख्न थालिएको छ । चक्रपथको सानेपा चोक, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो र सातदोबाटोमा सडक विभागले ट्राफिक बत्ती जडान गरेको छ । यी ट्राफिक बत्तीहरू दुई महिनापछि सञ्चालनमा आउने विभागले जनाएको छ । 

सडक विभागका सडक सुरक्षा तथा ट्राफिक युनिट प्रमुख बेलबहादुर भुजेल भन्नुहुन्छ, ‘अहिले चक्रपथमा जडान भएका ट्राफिक बत्तीहरूको अरू सबै काम सकिएको छ, त्यसमा बिजुली जोड्न बाँकी छ । अब दुई महिनाभित्र पूरै सञ्चालनमा आउँछ ।’

ट्राफिक बत्ती जडान भएको ठाउँ धोबीघाट चोकमा सडक पार गर्नका लागि आकाशे पुलको व्यवस्था छैन । फराकिलो सडकमा गाडी तीव्र गतिमा कुदिरहेका हुन्छन् । जसले गर्दा बाटो काट्नेहरूका लागि सधैँ जोखिम हुने गरेको छ । तर अब ट्राफिक बत्ती राखिसकेपछि भने पैदल यात्रुले सुरक्षित महसुस गरेका छन् । 

धोबीघाट चोकमा बाटो काट्दै गर्नुभएकी दुर्गा मगर भन्नुहुन्छ, ‘पहिले यो ठाउँमा धेरै दुर्घटना भइसकेको छ । गाडीहरू धेरै स्पीडमा आउने गरेकोले बाटो काट्न एकदमै गाह्रो छ । नानीबाबुहरूलाई स्कुलबाट आउँदा पनि बाटो कटाउनै गाह्रो छ । अब यो ट्राफिक बत्ती चलेपछि पक्कै सजिलो हुन्छ ।’

ललितपुर महानगरपालिकाले गाडीको चाप धेरै भएका कुपण्डोल, कानदेवतास्थान, मन्त्री निवास तथा जावलाखेल गरी पाँच वटा चोकमा पनि ट्राफिक बत्ती जडान गर्न लागेको छ । ललितपुर महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार चाँडै नै महानगरले अबको ६ महिनाभित्र यी पाँच ठाउँमा ट्राफिक बत्ती जडान गर्नेछ । 

झम्सीखेलमा बिहान, बेलुका मात्रै बत्तीको काम

ललितपुर महानगरपालिका वडा नम्बर ३ ले राखेको हरिहरभवन, पुल्चोक र मङ्गलबजार जाने बाटोमा राखिएका ट्राफिक बत्तीहरूले दिनभर काम गर्ने गरेको छ । तर वडाले राखेको झम्सीखेल चोकको ट्राफिक बत्ती भने बिहान, बेलुका मात्र बाल्ने गरिएको छ । 

बिहान, बेलुका गाडीको चाप हुने भएकाले ट्राफिक बत्ती बाल्ने गरिएको र दिउँसो त्यति चाप नहुने भएकाले बाल्ने नगरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

काठमाण्डौ उपत्यकाको ट्राफिक अपरेशन इन्चार्ज सन्तोष रोका भन्नुहुन्छ, ‘गाडीको चाप नभएको बेलामा ट्राफिक बत्ती फ्ल्यास मोड (पहेँलो मात्र बलिरहने) मा राखिएका हुन्छन् । चाप बढी भयो भने चलाउने गरिएको छ ।’ 

अन्तिम अपडेट: बैशाख ४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया