सरकारले सुन्न छाेडेकाे हाे ? कानकाे उपचार गर्नुपर्ने भयाे : भीम रावल

 साउन ८, २०७९ आइतबार १५:१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताउनुभएको छ । 

आज आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले अमेरिकी स्टेट पार्टनरशिप प्राेग्राम (एसपीपी) सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको बताउनुभयो । उहाँले पत्र पठाए–नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको बताउनुभयो । सभामुख र संसदीय समितिको निर्देशन सरकारले नसुनेको भन्दै उहाँले सरकारले श्रवणशक्ति गुमाएको टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘एसपीपीको सम्बन्धमा सरकारको निर्णयको कार्यान्वयनको अवस्था र पत्र पठाएको अवस्थाको सम्बन्धमा के छ भनेर सदनलाई जानकारी गराउनका लागि सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो । सरकार कहाँ छ ? यो देशमा छ ? कि कतै छ ? अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय नमान्ने । सभामुखले दिएको निर्देशन पनि नसुन्ने । होइन सरकारले कहिलेदेखि कान सुन्नलाई श्रवणशक्ति गुमायो ? भन्ने प्रश्न उठ्छ कि उठ्दैन ? रोस्ट्रमबाट बोल्दा अलिकति सुन्छ कि भनेको, सरकारको कानको उपचार त राम्ररी गर्नुपर्ने भयो । नेपाली जनताले चुनावमा गर्छन् कि हेरौँ ।’ 

सांसद रावलले बेलायतमा रहेका भुतपूर्व गोर्खा सैनिकको समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । विगत लामो समयदेखि भुतपूर्व गोर्खा सैनिक भर्ती सन्धि असमान र अपमानजनक रहेकोले खारेजीको मागसहित आन्दोलित भएको भन्दै उहाँले त्यो विषय नेपालको स्वाधीनता, स्वाभिमान र हितसँग गाँसिएको विषय भएको बताउनुभयो । सरोकारवालासँग छलफल गरी समस्या समाधानमा सरकारले पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ ।

सांसद रावलले यस सम्बन्धमा सरकारले अहिलेसम्म गरेका काम, कारबाही संसदलाई जानकारी गराउन पनि माग गर्नुभयो । 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया