मुस्ताङको लेकाली खर्कमा चौँरीको आलाे रगत पिउने मेला

 साउन ९, २०७९ सोमबार १६:२९:५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मुस्ताङको लेकाली खर्कमा चौँरी गाईको मेला लागेको छ । थासाङ गाउँपालिका २ मार्चे र मुलीखर्क तथा घरपझोङ ५ नमखुलेक खर्कमा चौँरीको रगत पिउने मेला आयोजना गरिएको हो । 

हिमाली क्षेत्रमा पालिएका चौँरीको घाँटीबाट निकालेको आलो रगत पिउनका लागि मेला भर्न मानिसहरूको भिड लागेको छ । गएको बुधवारदेखि लगाइएको चौँरीको रगत पिउने मेलामा मुस्ताङसहित म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, स्याङ्जा, काठमाण्डौ र चितवनलगायतका जिल्लाबाट मानिसहरू पुगेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण गएको दुई वर्ष रोकिएको मेला यस वर्ष आयोजना गरिएको हो । व्यावसायिक रूपमा चौँरीपालन गरेका किसान आफैँले लगाएको मेलामा रगत पिउनका लागि मानिसहरूको भिड लागेको नमखुलेकका किसान भूपिन शेरचनले बताउनुभयो । 

मेलामा जिउँदो चौँरीलाई नियन्त्रणमा लिइ तालिम प्राप्त रगत निकाल्ने व्यक्ति (स्थानीय भाषामा आम्जी) ले चौरीको घाँटीमा सुइरो (चापो) ले नसामा कोपेर रगत निकाल्ने गर्दछन् । यसरी निकालिएको आलो रगत पिउने भन्दै खर्क र लेकमा पुगेकाहरूले गिलास थापेर उतिखेरै घुटुघुटु पिउने गर्दछन् । तालिम नलिएका र अनुभव नभएका व्यक्तिले रगत निकाल्दा भने चौँरीको मृत्युसम्म हुन सक्ने भन्दै उनीहरूलाई रगत निकाल्न दिइँदैन । 

रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौँरीलाई छाडिन्छ । मुस्ताङमा पालिएका चौँरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म रगत पिउने मेला सञ्चालन हुँदै आएको छ । नमखुलेकमा पाँच जना किसानले पालेका झन्डै तीन सयको हाराहारीमा चौँरीगाई रहेका छन् । अहिले दैनिक एक सय जनाभन्दा धेरै मानिस रगत खाने मेलामा सहभागी हुने गरेको किसान शेरचनले बताउनुभयो । उहाँका अनुसार चौँरीको घाँटीबाट निकालिएको आलो रगतलाई ठूलो स्टिल गिलासमा प्रति गिलास दुई सय रुपैयाँ मूल्य तोकिएको छ । 

 

यसैगरी थासाङ २ मार्चे र मुली खर्कमा पनि चौँरीको रगत पिउने मेला लागेको छ । निलगिरि हिमालको फेदीमा पर्ने मार्चे र धौलागिरि हिमालको फेदीमा पर्ने मुली खर्कमा लगाइएको मेलामा १६ जना किसानले पालेका आठ सय वटा चौँरीगाई ल्याइएको थियो । अहिले मार्चे र मुली लेकको मेलामा पुगेका मानिसहरू चौँरीको रगत पिएर फर्किएका स्थानीयवासी गोविन्द शेरचले बताउनुभयो । मुस्ताङको लेकाली खर्कमा रहेका गोठमा एउटै किसानले ८० देखि ९० वटासम्म चौँरी पाल्ने गर्दछन् ।  

उच्च हिमाली लेक र खर्कमा पालिएका चौरीले यार्सागुम्बा, पाँचऔँले, निरमसी, जटामसी, कुटुकी, वनलसुन, जिम्बु लगायतका जडीबुटीहरू खाने भएकाले चौँरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने चौँरीपालक किसानहरू बताउँछन् । चौँरीको आलो रगत पिउनाले ग्यास्ट्रिक, गानोगोला, कमजोरीपना, सुगर र प्रेसर लगायतका रोगहरू निको हुने भन्दै बर्सेनि मानिसहरू मुस्ताङको लेक र खर्कमा पुग्ने गरेका छन् । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख दण्डपाणि शर्माले रगत पिउने पशु स्वस्थकर हुनुपर्ने, रोग नलागेको तथा बिरामी नपरेको र कुनै किसिमको सरुवा रोग नदेखिएको हुनुपर्ने बताउनुभयो । उहाँले उच्च लेकमा पालेका चौँरीगाईले स्वास्थ्यवर्द्ध जडीबुटीहरू खाएको हुँदा मानव स्वास्थ्यलाई फाइदा हुने अनुमान गर्न सकिने बताउनुभयो । मुस्ताङमा पालिएका चौँरीगाईको अहिलेसम्म परीक्षण पनि नभएको र कुनै त्यस्तो समस्यासमेत नदेखिएको प्रमुख शर्माको भनाइ छ । 

चौँरीपालक किसानका लागि आलो रगत निकालेर बेच्ने काम वैकल्पिक आम्दानीको स्रोत हो । एउटा वयस्क चौँरीबाट ३५ गिलाससम्म रगत निकालेर बेच्ने गरिन्छ । हिमाली क्षेत्रमा हुर्काइएका चौँरीको मासु स्वादिलो र पोषिलो मानिने भएकाले बजारमा मासुको समेत उच्च माग हुने गर्दछ । चौँरीको दूधबाट दही, घिउ, चिज र छुर्पी लगायतका परिकारहरू बनाएर बिक्री गरिन्छ । 

चौँरीको सिङलाई खच्चडको घाँटीमा झुन्ड्याइने घण्टीको रूपमा प्रयोग गरिन्छ भने पुच्छर धार्मिक पूजाआजामा चमरको रूपमा प्रयोग गर्ने गरिन्छ । चौँरीको मलमूत्र खेतबारीमा प्रयोग हुन्छ । 

अन्तिम अपडेट: साउन २८, २०७९

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया