वीर अस्पतालमा बिरामीको अलमल !

 साउन ११, २०७९ बुधबार १४:३७:३१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

अस्पतालको मूलढोका बाहिर बिरामी तथा आगन्तुक बस्नका लागि लहरै राखिएका बेञ्च । बेञ्चमा कोही पालो कुरिरहेका छन्, कोही आफन्त । कोही वृद्धवृद्धा अडिन नसकेर आफन्तले समाइरहेका छन् । केही बिरामी अडिन नसकेर लम्पसार परिरहेका छन् । 

वीर अस्पताल अघिल्तिरको यही बेञ्चमा हुनुहुन्छ, गंगाबहादुर बिक । ओखलढुंगाबाट श्रीमतीलाई जँचाउन भनेर उहाँ वीर अस्पताल आएको डेढ महिना भयो । तर, उहाँको श्रीमतीलाई निको भएको छैन । 

सुरुमा श्रीमती लिएर आउँदा उहाँलाई कहाँ जाने, कहाँ गएर टिकट काट्ने र के गर्ने भन्ने अलमल भयो । कहाँ गएर कसलाई सोध्ने भन्ने पनि उहाँलाई थाहा थिएन । उहाँ भन्नुहुन्छ, ‘हामीलाई त ओखलढुंगा हस्पिटलको कुरा मात्र थाहा थियो यहाँनेर केही पनि थाहा थिएन । कहाँ जाने के गर्ने केही थाहा थिएन । सोधखोज गर्दै बल्लबल्ल देखाइयो ।’

यसपटक भने पहिले नै यहीँ अस्पतालमा बसेर गएको हुनाले उहाँले अलमलिनु परेन । अहिले उहाँ २ हप्ता अगाडि डिस्चार्ज भएकी श्रीमतीको फलोअपका लागि आउनु भएको हो । सबै जाँच गरे पनि उहाँको श्रीमतीको रोग पत्ता लागेको छैन । श्रीमती अडिन नसकेर बाहिरको बेञ्चमा उहाँको काखमा टाउको राखेर सुतिरहनु भएको छ । 

अब भने अस्पतालमा रहँदा बस्दा पुरानो भएर केही अप्ठ्यारो नभए पनि सुरुका दिन सम्झँदै उहाँ भन्नुहुन्छ, ‘सोधखोज गर्दै बल्ल भनेको ठाउँमा गयो । त्यहाँ अरु नै चिज भन्छन् । कुनै पनि कुरो एकै पटकमा कहिले पनि भएन ।’ 

आफ्ना सुरुआती दिनका अप्ठ्याराबारे बिक भन्नुहुन्छ, ‘नयाँ मान्छेलाई एकदम अलमल हुन्छ । सोध्दा कसैले भन्दिन्छ, कसैले भन्दैन । भनेको पनि कति बुझिन्छ कति बुझिन्न । भन्दिने मान्छे कोही पनि छैनन् । भनिदिने एक जना सुरक्षा गार्ड जस्तो मान्छे राखिदिए सबैलाई सजिलो हुन्थ्यो ।’

त्यसो त मोबाइलबाटै अनलाइन टिकट लिन पनि सकिन्छ । अनलाइनबाट टिकट कसरी लिने भनेर जानकारी पनि टाँसेर राखिएको छ । तर त्यो पढेर अनलाइन टिकट लिने मेसो धेरैलाई छैन । 

बिरामी हजुरबालाई बेञ्चमा बसाएर कहाँ जाने र के गर्ने भन्ने अलमलमा हुनुहुन्छ दोलखाका विकास थापा । उहाँलाई कहाँ गएर टिकट लिने कहाँ जाँच्ने कति पैसा लाग्छ, त्यसका बारेमा केही पनि थाहा छैन । थापा भन्नुहुन्छ, ‘हामी जस्तो पढेलेखेको मान्छेलाई यहाँ कहाँ टिकट काट्ने कहाँ जाने भन्ने समस्या छ भने अरु नपढेका र बुढाबुढी आए भने कसरी जाँचेर जालान् ।’

टिकट काट्नका लागि टोकनको व्यवस्था गरिएको छ वीर अस्पतालमा । तर, पनि कहाँ हो र कुन ठाउँ भन्ने नयाँ मान्छेलाई अलमल हुने गरेको छ । यसका लागि यहाँ जानुस् र यहाँ यस्तो सेवा छ भनेर बताइदिने कोही मान्छे देखिँदैन अस्पतालमा । सोध्दै र बुझ्दै जानुपर्ने वाध्यता छ । 

थापाले टिकट त काट्नु भयो । तर, अब उहाँलाई फेरि समस्या पर्यो नाक, कान घाँटीको बिरामी जाँच्ने डाक्टर कता हो भन्ने थाहा पाउन । लेख्न त बिरामी जाँच्ने पुर्जामा नलेखिएको होइन । तर, लेखिएको ठाउँ पत्ता लगाउन पनि कहाँ सजिलो छ र । थापा भन्नुहुन्छ, ‘बल्ल बल्ल टिकट काटियो तर, अब अब यो ठाउँ कसरी पत्ता लगाउने त्यो पो समस्या भयो ।’ 

दैनिक झण्डै २ हजारले सेवा लिने वीर अस्पतालमा नयाँ आएका मान्छेलाई टिकट कहाँ कसरी काट्ने र टिकट काटिसकेपछि कुन विभाग वा डाक्टरकहाँ कसरी पुग्ने भन्ने ठूलो अलमल देखिन्छ । यसका लागि कुनै सहायता कक्ष वा सम्पर्क गर्ने व्यक्ति देखिँदैन । शनिवार तथा सार्वजनिक बिदाका दिन बाहेक अरु वार बिहान ८ बजेदेखि बेलुकी ३ बजेसम्म टिकट काट्न पाइन्छ वीर अस्पतालमा । तर, अस्पताल आउने धेरैलाई यो कुराको जानकारी छैन ।

जानकारी नभएकै कारण पर्वतबाट जँचाउन भनेर आउनु भएकी सरस्वती रिजालले त्यस दिन टिकट लिन पाउनु भएन । उहाँ टिकट काट्ने समयभन्दा १५ मिनेट ढिलो गरी अर्थात सवा ३ बजेमात्र अस्पताल आइपुग्नु भयो । उहाँ आउँदा टिकट काउण्टर बन्द भइसकेको थियो । 

छोरीसँगै दाँतको समस्या लिएर अस्पताल आइपुग्नु भएकी अस्पतालका डाक्टर तथा अरु कर्मचारीलाई यति टाढाबाट आएको आजै जँचाउन पाए हुन्थ्यो भनेर भनिरहनु भएको छ । उहाँलाई सबैले दिने जवाफ भने उही थियो, ‘टिकट आज बन्द भइसक्यो भोलि आउनुस् ।’ टिकट नपाएर जँचाउन नपाएपछि निराश देखिनु भएकी रिजाल भन्नुहुन्छ, ‘टिकट कति बजेसम्म हुन्छ भन्ने थाहा भएन । आज अलि ढिलो भएछ । भोलि आउनुपर्ला । तर, टाढाबाट आएको मान्छेलाई यसो सुविधा दिएर भए पनि टिकट चाहिँ दिएको भए हुने ।’

यसो हेर्दा टिकट कहाँ काट्ने र काटिसकेपछि कहाँ गएर देखाउने भन्ने आम समस्या देखिन्छ । तर, सम्बन्धित ठाउँमा गएर जँचाइसकेपछि एक्सरे तथा अन्य सेवा लिन कहाँ कुन भवनमा जाने भन्ने समस्या पनि त्यत्तिकै देखिन्छ । यसका लागि मान्छेलाई सोध्दै जानु बाहेक अर्को विकल्प देखिँदैन । 

सप्तरीबाट आउनु भएकी रश्मी झा पनि यस्तै अलमलमा हुनुहुन्छ । उहाँले टिकट काटेर डाक्टरलाई जँचाउनु त भयो तर भिडियो एक्सरे गरेर आउनु भने । भिडियो एक्सरे गर्ने कता भनेर सोध्दै हिँडिरहनु भएकी झा भन्नुहुन्छ, ‘बल्ल सोधपुछ गरेर जँचाएपछि काम सकियो भनेर ढुक्क भएको । अब फेरि भिडियो एक्स रेका लागि जानुपर्ने भयो । कता जाने भनेर सोध्दै छु ।’ 

हरेक दिन धेरै संख्यामा बिरामी आउने वीर अस्पतालमा विक, थापा तथा रिजाल केवल प्रतिनिधि पात्र हुन । यहाँ आउने धेरै बिरामीलाई पहिला टिकट कहाँ र कसरी काट्ने अनि टिकट काटिसकेपछि कहाँ गएर देखाउने भन्ने समस्या हुन्छ । सोध्दै, खोज्दै टिकट काटेर जँचाएपछिको एक्स रे तथा अन्य सेवा लिन कहाँ जाने भन्ने अर्को अलमल भएको देखिन्छ । 

भिडियो एक्स रेको लागि हातमा कागज बोकेर कुदिरहनु भएकी झा भन्नुहुन्छ, ‘अस्पतालले यस्ता आवश्यक जानकारी दिनका लागि एक जना मान्छे खटाए हामी जस्ताको लागि धेरै सजिलो हुन्थ्यो ।’ 

वीर अस्पतालका सूचना अधिकारी सागर मिश्र भने बिरामीलाई खासै अलमल नभएको दावी गर्नुहुन्छ । ‘मान्छे घुमिरहेका हुन्छन् । हामीलाई पनि सोध्छन् । बाहिर अनलाइन टिकटिङको हेल्प डेस्क छ । भित्र पनि हेल्प डेस्क छ । त्यस्तो अप्ठ्यारो छैन’ उहाँले भन्नुभयो ।

तर, मिश्रले भने जस्तो बाहिर अनलाइन टिकटको हेल्प डेस्कमा सहयोग गर्ने प्रशासनको मान्छे नै देखिंदैनन् । मिश्र आफैँ भन्नुहुन्छ, ‘अनलाइन टिकटिङको हेल्प डेस्कमा अहिले त कोही छैन । पहिले एक महिना ट्रायलका लागि राखेको हो । टिकटका लागि पहिले टोकन लिएर काउण्टरमा गएपछि यति नम्बरमा जानु भन्छन् । त्यसकारण खासै समस्या छैन ।’ मिश्रले यसो भनिरहँदा अस्पतालमा आएका धेरै बिरामी कुन विभाग र कुन कोठामा जाने भनेर अलमलमै देखिन्छन् । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया