चन्द्रागिरि केबलकार सुरक्षित छ, चढ्न हिचकिचाउनु पर्दैन : चन्द्र ढकाल

 साउन १३, २०७९ शुक्रबार १९:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चन्द्रागिरि केबलकार व्यवस्थापन समितिले चन्द्रागिरिको केबलकार सेवा सुरक्षित रहेको बताएको छ । 

आज शुक्रवार पत्रकार सम्मेलन गरेर समितिले केबलकार सुरक्षित रहेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले केबलकारको बारेमा सञ्चारमाध्यममा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरि केबलकार चढ्न हिचकिचाउनु नपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘केबलकार भनेको विश्वकै बेस्ट टेक्नोलोजी हो । यसमा सुरक्षाको हिसाबले कुनै पनि कुराको कन्जुस्याईं गरिएको छैन । यो शतप्रतिशत सुरक्षित छ । केही समयअघि मात्रै राष्ट्रिय सभाका अध्यक्ष चढेको बेलामा रोकिएको थियो । तर केही समयमै यो समस्या समाधान हुन्छ ।’

केही समयअघि मात्र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना केबलकार चढ्दा रोकिएपछि सञ्चारमाध्यममा चन्द्रागिरि केबलकारको बारेमा नराम्रा समाचार प्रकाशित भएकोप्रति आफ्नो ध्यान गएको अध्यक्ष ढकालले बताउनुभयो । आम नागरिकलाई केबलकारको बारेमा वास्तविक जानकारी र सूचना दिन नसक्दा यो समस्या आएको उहाँको बुझाइ छ । केबलकारमा समस्या आउने तर ती समस्या तत्काल समाधान हुने उहाँले बताउनुभयो । 

बत्ती जाँदा केबलकार रोकिन सक्ने, रोकिएमा जेनेटरको प्रयोग गरिने र जेनेटर पनि बिग्रिए आपत्कालीन इन्ड्राइभरमार्फत यात्रुलाई गन्तव्यमा ल्याउन सक्ने ढकालले बताउनुभयो । केबलकार रोकिँदा सिरानमा रहेका यात्रुलाई बस्न चाहे रिसोर्टको व्यवस्था रहेको र नबस्ने भए पनि गाडीमार्फत तलसम्म ल्याउने व्यवस्था रहेको उहाँको भनाइ छ । 

सामान्यतया विद्युत् आपुर्ति बन्द भएको अवस्थामा तथा पानी, चट्याङ परेको अवस्थामा केबलकार कहिलेकाहीँ अचानक बन्द हुने गर्छ । चन्द्रागिरिमा अहिले ३८ ओटा गन्डोला सञ्चालनमा छन् । भालेश्वर महादेवको दर्शन गर्न, घुम्न र चन्दागिरिबाट काठमाण्डौ उपत्यका नियाल्न दैनिक हजारौँ मानिस त्यहाँ पुग्ने गरेका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया