मकै पोलेर बितेका २१ वर्ष !

 साउन १४, २०७९ शनिबार १०:३:३५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ कालोपुलको उकालो लाग्दै गर्दा दायाँ मोडिएपछि आइपुग्छ सिफल । सिफलबाट जयबागेश्वरी जाने बाटोमा रहेको पिपलको रुखको फेदमा बसेर गएको २१ वर्षदेखि हरियो मकै पोलिरहनु भएको छ काभ्रे घर भइ सिफल बस्दै आउनु भएकी सीता चौलागाईँ।

अहिले पिपलको रुख वरिपरि टायल टाँस्ने काम भइरहेकाले रुखभन्दा ८/१० फिट दक्षिणमा सरेको छ उहाँको पसल । ४०/५० घोगा हरियो मकै, फलामको कराई, कराईमाथि लिस्टीका दाउरा, दाउरामाथि ५/६ घोगा मकै अट्ने फलामको लामो ओदान । आगोलाई हावाले नहानोस् भन्नका लागि एउटा थोत्रो जस्ता, केही दाउरा, एउटा छाता, ५/६ बोतल मिनरल वाटर, नुनखुर्सानी राखेको प्लाष्टिकका बोतल । यही हो उहाँको सिङ्गै पसल ।

५६ वर्षीय चौलागाईँको एक छोरा तथा एक छोरी हुनुहुन्छ । श्रीमानको निधन भएको एक वर्ष भयो । श्रीमान् पहिले गाडामा फलफूल बेच्नुहुन्थ्यो । उहाँ भने मकै । यही गाडाको फलफूल र मकैले उहाँहरुको परिवार पालिएको थियो । छोराछोरी पढाउन तथा छोरीको बिहेसमेत यही गाडाको कमाइले भएको हो । 

अहिले भने कोठामा छोरा र उहाँमात्रै हुनुहुन्छ । कोठा भाडा १५ हजार रुपैयाँ छ । दुई जना मात्र खाने हुँदा खानामा खासै पैसा नलाग्ने बताउँदै चाैलागाईँ भन्नुहुन्छ, ‘मकै पोलेको पैसाले अहिले दुई जनालाई खाना खर्च पुग्छ।’

उहाँको हर्नियाको अपरेशन भएको दुई महिना भयो । निको भएर उहाँले अहिले मकै पोल्न थालेको एक महिना मात्र भयो । कराईमा बल्दै गरेको दाउरालाई चिम्टाले झार्दै भन्नुहुन्छ, ‘लोग्नेमान्छेलाई मात्र हर्निया हुन्छ भन्ने सुनेको थिएँ । आफैँलाई भएर अपरेशन गर्नुपर्यो ।’

उहाँ दैनिक ५०/५५ घोगा मकै पोल्न ल्याउनुहुन्छ । १५ रुपैयाँ घोगामा किनेर ल्याउने मकै पोलेर ३० रुपैयाँमा बेच्ने उहाँको दैनिक कमाइ करिब ५ सय रुपैयाँ हुन्छ । मकै पोल्न दाउरा झण्डै १० किलो लाग्छ । एक किलो दाउराको २२ रुपैयाँ पर्छ । ‘पोल्न त गोलमा पोल्दा सस्तो हुन्थ्यो । तर, पशुपतिको लाश जलाएको गोल भनेर मान्छेले खानै मान्दैनन’ उहाँ हाँस्दै भन्नुहुन्छ, ‘दाउरा देखी देखी त पशुपतिको गोल हो भनेर सोध्छन् ।’

पशुपतिको गोल उहाँहरुलाई दिँदैन । आफैँ पनि खाने हुनाले उहाँ पशुपतिबाट गोल ल्याउनुहुन्न । उहाँ भन्नुहुन्छ, ‘पशुपतिबाट ल्याउने त कुरै भएन नि । पाप पनि लाग्छ ।’ मकै भने उहाँ गोपीकृष्ण हल नजिकैबाट बोरामा हालेर गाडीमा राखेर ल्याउनुहुन्छ । एक बोराको ५० रुपैयाँ भाडा लिन्छ गाडीले । त्यहाँ भने मकै काभ्रेबाट आउँछ । तर, अहिले मकैको समय भएकोले वरिपरिबाट पनि आउँछ । काभ्रेबाट नआउँदा भने मकै चितवनबाट आउँछ । 

उहाँहरु २०५३ सालमा काठमाण्डौ आउनु भएको हो । २०५५ सालमा छोरीको जन्म भयो । अनि २०५८ सालबाट उहाँले मकै पोल्न थाल्नु भएको हो । सडकमा पसल राख्न नपाइने सन्दर्भमा उहाँको आफ्नै तर्क छ, ‘ज्यामी काम गर्न जान सकिन्न । अर्को काम पनि छैन । यो भनेको बाध्यता हो । दिनभरि घरमा पनि के गरेर बस्नु।’ 

उहाँ मकै पोल्न प्रायः दिउँसो १ बजेदेखि बस्नुहुन्छ । नगर प्रहरीले उहाँलाई पसल नराख्न पटक पटक भनेको छ । उहाँको गाडासमेत ३ पटक लगिसकेको छ नगर प्रहरीले । एउटा गाडाको उहाँले २० हजार रुपैयाँ तिर्नु भएको हो । अरु दुई वटा भने १२ हजार रुपैयाँ र १५ हजार रुपैयाँ तिरेर किन्नु भएको हो । नगर प्रहरीले गाडा लैजाने कारणले उहाँले अहिले त्यसै भुँइमै पसल राख्नु भएको हो । उहाँ भन्नुहुन्छ, ‘गाडा लगेपछि फिर्ता दिँदैनन् । यहाँ पनि नराख् भनेका छन् ।’

उहाँलाई नगरपालिकाले बरु व्यवस्थित तरिकाले राख्न दिए हुन्थ्यो भन्ने लाग्छ । त्यसका लागि केही पैसा तिर्न पनि राजी देखिनुहुन्छ उहाँ । ‘राम्रोसँग बस्न दिए पैसा पनि ५ सय रुपैयाँसम्म दिनहुन्थ्यो । गाली गर्ने, उठाउने त हुन्थेन’ चाैलागाईँ भन्नुहुन्छ, ‘गाडा किनेर उठाउँदैन भने हामी महिनाको ५ सय रुपैयाँ तिर्ने हो ।’

सामान्यतया उहाँ दिनमा ४०/५० घोगा मकै बेच्नुहुन्छ । कहिलेकाहीँ चाँडै सकियो भने पनि फेरि मकै लिन भने जाने गर्नुहुन्न उहाँ । ‘फेरि लिन गएर कहिले ल्याएर अनि कहिले पोलेर बेच्नु,’ उहाँ भन्नुहुन्छ । 

उहाँको छोरा जागिर गर्नुहुन्छ । छोरीको बिहे भइसक्यो । छोरा छोरी आफ्नो लाइनमा लागि सकेका छन् । अब त सडकमा व्यापार नगरे पनि होला नि भन्दा उहाँको जवाफ छ, ‘छोराको कमाइले मात्र पुग्दैन । सकेसम्म जीउ चलेसम्म आफैँले काम गर्नुपर्छ । अरुसँग सय रुपैयाँ भने पनि माग्न त पर्दैन।’

अन्तिम अपडेट: बैशाख ७, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया