पुरानो स्कुटरलाई बिजुलीबाट चल्ने बनाउने कि !

 साउन १८, २०७९ बुधबार १८:५६:० | वैद्यनाथ पाैडेल
unn.prixa.net

पेट्रोलको भाउ महँगो भएपछि बालाजुका रामप्रसाद शर्माले आफूले चढ्दै आएको स्कुटरलाई बिजुली स्कुटरमा रूपान्तरण गर्नुभएको छ । बिजुली स्कुटर बनाइसकेपछि शर्मा दैनिक ५०/६० किलोमिटर गुड्नुहुन्छ । ‘एक पटकको फुल चार्जमा ८० किलोमिटर दिने भए पनि ब्याट्री जिरो बनाउन नहुने भएकोले ५०/६० किलोमिटर गुड्छ’, उहाँले भन्नुभयो । सुन्दर यातायात प्रालिले पेट्रोलबाट चल्ने स्कुटरलाई बिजुलीमा रूपान्तरण गर्न थालेपछि अरू स्कुटर धनी पनि यसतर्फ आकर्षित भएका छन् । 

पेट्रोलियम पदार्थको खपत कम गर्न पनि सरकारले विद्युतीय गाडीको प्रयोगमा जोड दिएको छ । यसका लागि सरकारले कर छुटदेखि अन्य सुविधासमेत दिएको छ । तर नयाँ विद्युतीय साधन आयात गर्दा धेरै महँगो पर्ने कारणले सरकारले भएका पुराना चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे साधनलाई २०७८ चैत १४ गते विद्युतीय साधनमा रूपान्तरण गर्न सकिने नियम ल्याय  जुन राजपत्रमा प्रकाशित पनि भइसकेको छ । 

सरकारले यो नियम ल्याएपछि सुन्दर यातायात प्रालिले इन्धनबाट चल्ने स्कुटरलाई विद्युतीय स्कुटरमा रूपान्तरणको काम थालेको हो । रूपान्तरणका लागि यातायात व्यवस्था कार्यालयबाट स्वीकृति लिनुपर्छ । 

सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा भन्नुहुन्छ, ‘नेपाल सरकारको निर्णयको एक/एक कपी दिएर यातायात कार्यालयमा गएर निवेदन दिएर आउनुस् अनि हामी परिवर्तन गर्छाैँ भनेका छाैँ ।’ सरकारको मापदण्डमा रहेर आएको स्कुटरलाई तीन घण्टामा विद्युतीयमा रूपान्तरण गरिने उहाँले बताउनुभयो ।

सरकारको नियमपछि सुन्दर यातायातले अहिलेसम्म एक सय ७१ वटा स्कुटरलाई बिजुली स्कुटरमा रूपान्तरण गरेको छ । मोटरसाइकलमा भने हिरो हाेन्डा बाहेक अरूको रूपान्तरण नगरिएको सुन्दर यातायातले जनाएको छ । स्कुटरको प्रत्येक मोडललाई रूपान्तरण गर्न सकिए पनि मोटरसाइकलमा भने नसकिएको सुन्दर यातायातको भनाइ छ । अध्यक्ष थापा भन्नुहुन्छ, ‘स्कुटरको एउटै मोडल हुने तथा बाइकमा भने फरक–फरक मोडलमा बेग्लै किसिमको ह्विल तथा संरचना हुने हुनाले अहिले केही मोडलमा मात्र गरिएको छ ।’

अहिले १३ सय स्कुटर धनीले रूपान्तरणका लागि सुन्दर यातायातमा निवेदन दिएका छन् । ब्याट्री, किट तथा अन्य सामग्री सकिएकोले निवेदन आए जति स्कुटरलाई रूपान्तरण गर्न नसकिएको सुन्दर यातायातले जनाएको छ । 

इन्धनबाट चल्ने एउटा स्कुटरलाई बिजुली स्कुटर बनाउन सुन्दर यातायातले एक लाख रुपैयाँ लिने गरेको छ । यसमा ब्याट्रीमा ४० महिना, मोटरमा २४ महिना, डिस्प्लेमा २४ महिना, कन्ट्रोलरमा १८ महिना तथा चार्जरमा ६ महिनाको वारेन्टी दिने गरिएको छ । एक लाख रुपैयाँमा चार्जर तथा स्कुटरमा एउटा अर्को ‘शक’ पनि फिट हुन्छ ।

एक लाख रुपैयाँ महँगो नभएको तर्क गर्दै थापा भन्नुहुन्छ, ‘यदि स्कुटरमा दिनमा ५० किलोमिटर यात्रा गर्ने हो भने तीन सय ६० रुपैयाँ लाग्छ । त्यस हिसाबले यो पैसा ६ महिनामा उठ्छ । तर बिजुली स्कुटरमा भने १५ रुपैयाँ मात्र खर्च हुन्छ । वारेन्टी दिएको ४० महिनाको हिसाब गर्दा ३४ महिना त सित्तै चढ्न पाइन्छ ।’

एक लाख रुपैयाँ महँगो नभएको थापाको अर्को तर्क छ, ‘एक लाख रुपैयाँमा अहिले ईभी मात्र नभएर कुनै स्कुटर आउँदैन । त्यसमाथि पुरानो स्कुटरलाई कन्भर्जन गरेर नयाँ बनाउने हुनाले एक लाख रुपैयाँमा नयाँ स्कटुर चढ्न पाइने भयो ।’

तर नेपाल विद्युतीय परिवहन सङ्घका अध्यक्ष शंकर पोखरेल भने स्कुटरलाई रूपान्तरण गर्न लाग्ने एक लाख रुपैयाँ महँगो भएको बताउनुहुन्छ । उहाँको भनाइ छ, ‘कोही मान्छेले पुरानो स्कुटर किनेर रूपान्तरण गराउँछु भन्दा पनि पुरानो स्कुटरकै ४०/५० हजार रुपैयाँ पर्छ । अब रूपान्तरण गर्न पनि थप एक लाख रुपैयाँ लाग्ने भएपछि एक लाख ५० हजारमा को पुरानो स्कुटर चढ्छ ?’

सङ्घले पनि यसबारेमा थप अध्ययन गरिरहेको पोखरलेको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘यो त्यति सक्सेस हुन्छ भन्ने हामीले महसुस गरेका छैनौँ । गर्न त सुन्दर बाहेक अरू कम्पनीले पनि खोजिरहेको छ । तर यही मूल्यका कारण कम्पनीहरू अघि बढेका छैनन् ।’ 

मूल्य घट्न नसक्नुमा अहिले सरकाले रूपान्तरणका लागि आयात हुने सामग्रीमा ३७ प्रतिशत भन्सार लगाएको छ । यदि रूपान्तरण गर्ने कम्पनीहरूमा प्रतिस्पर्धा भएमा मूल्य घट्न पनि सक्ने तर्क छ सुन्दर यातायातको । कारण बर्सेनि घट्दै गइरहेको ब्याट्रीको मूल्य । 

सुन्दर यातायातका अध्यक्ष थापा भन्नुहुन्छ, ‘हामीले पहिले बिजुली बस ल्याउँदा पौने तीन करोड रुपैयाँ परेको थियो । अहिले त्यसको मूल्य घटेर सवा दुई करोड भएको छ । त्यसैले स्कुटरको ब्याट्रीको पनि केही समयमा पक्कै मूल्य घट्छ अनि सस्तोमा रूपान्तरण गर्न सकिन्छ ।’

अहिले रूपान्तरण गरेको स्कुटर फुल चार्ज गर्न साढे दुई घण्टा लाग्छ जसमा साढे दुई युनिट बिजुली खर्च हुन्छ । त्यो भनेको झन्डै १५ रुपैयाँ हो । साढे दुई घण्टाको चार्जमा ७० किलोमिटर यात्रा गर्न सकिन्छ । थापा भन्नुहुन्छ, ‘दिन त ८० किलोमिटर दिन्छ । तर हामीले ७० किलोमिटरमा लक गरिदिन्छौँ । लिथियम ब्याट्री जिरो भयो भने उठाउन गाह्रो हुन्छ भनेर यसो गरिएको हो ।’

यसको गति भनेको ६० किलोमिटर प्रतिघन्टा हो । यसमा कन्ट्रोलर, तार, साइड लाइट, मोटरमा केही समस्या आयो भने तीन सेकेन्डमा ब्याट्री आफैँ बन्द हुने सुरक्ष संयन्त्र पनि अपनाइएको छ । यसमा २२ सय ५० हर्स पावरको मोटर हुन्छ । गियर नभए पनि यसमा १,२ र ३ गरी तीन वटा मोड हुन्छ । अलि स्पिड जानुपर्दा तीन मोड, अलि जाम छ भने दुई मोड र धेरै नै जाम छ भने गियर घटाए जस्तो एक नम्बर मोडमा राखेर चलाउन सकिन्छ । 

थापा यसमा राखिएको ब्याट्रीलाई अनावश्यक रूपमा नचलाउन र अरू तारहरू लगेर नजोड्न पनि सवारी धनीलाई आग्रह गर्नुहुन्छ । उहाँको भनाइ छ, ‘लिथियम ब्याट्री भएको हुनाले ब्याट्री जिरो हुँदैन । तर अनावश्यक रूपमा चलाउने गर्दा ड्यामेज भएर पछि काम नलाग्ने पनि हुन सक्छ । चलाएन भने बिग्रेको सेल निकालेर नयाँ थप्न सकिन्छ । यसले गर्दा अर्को ४० महिना कुद्न सक्छ ।’ 

अहिले स्कुटर रूपान्तरणका लागि सुन्दर यातायातसँग ११ जनाको इन्जिनियरिङ टोली छ । जसमा एक जना चिनियाँ, चार जना भारतीय, चिनमा तालिम लिएर आएका तीन जना र आन्तरिक रूपमा उत्पादन गरेका तीन जना रहेका छन् । 

बस र साना गाडी पनि रूपान्तरणका लागि सुन्दर यातायातले रुपन्देहीको सैनामैनामा जडान उद्योग खोल्न लागेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया