‘फोहर उठाउन नसक्नेले किन छुट्याएर राख भन्नु ?’

 साउन १९, २०७९ बिहिबार १२:५८:१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - अनामनगरका रोशन पाण्डेको घर धोबीखोला किनारामा छ । करिब एक हप्ता अगाडि राति खोलामा केही फालेको आवाज आएपछि उठेर हेर्नुभयो । उठेर हेर्दा फोहर फालेको थाहा भयो । तर, उहाँले थाहा पाएर उठेर हेर्दा फाल्ने मान्छे मोटरसाइकल कुदाएर टाढा पुगिसकेको थियो । 

पाण्डेको घर अगाडि फोहर थुप्रिएको एक हप्ता भयो । ‘फोहर छुट्याउन भनेर महानगरले भन्यो तर, फोहर उठाउन नआएको सात दिन भइसक्यो,’ पाण्डे आक्रोश पोख्नुहुन्छ, ‘महानगरले विभिन्न बहानाबाजी गरेर फोहर उठाउँदैन । कहिले फाल्न दिएन भन्छ । कहिले बाटो छैन भन्छ । यस पटक के भन्ने हो अहिलेसम्म के भन्ने कारण आएको छैन ।’

स्थानीयका अनुसार यस पटक काठमाण्डौमा फोहर नउठेको ७ दिन भयो । तर, यस पटक महानगरले पहिले धेरै मान्छेको आवतजावत हुने र सबैको आँखामा पर्ने न्युरोड गेट, भूगोल पार्क, सुन्धारा, मखन जस्ता ठाउँको चोकको फोहर भने उठाएको छ । तर न्युरोडमै पनि रञ्जना गल्लीमा भने फोहर थुप्रिएको छ । 

रञ्जना गल्लीमा लुगा जुत्ताको होलसेल गरेर बस्नु भएका रोशन शेरचन भन्नुहुन्छ, ‘महानगरले यो दिन गाडी आउँछ । यसरी फोहर छुट्याएर राख्ने भनेर भन्यो । तर, उसले भनेको समयमा न त गाडी आयो, न फोहर उठ्यो’ उहाँको आक्रोश छ, ‘उठाउन नसक्नेले किन भन्नु ।’

कमलादी चोकमा प्रज्ञा प्रतिष्ठानको बाहिरी पर्खालमा फोहर त्यस्तै डङ्गुर देखिन्छ । हिमालयन बैंकमा सेक्युरिटी गार्डको काम गर्ने अशोक तामाङ फोहरको कारण रुघाखोकी लागेर बिरामी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो फोहरले बिरामी नै बनाइसक्यो । कहिले उठाउने हो थाहा छैन । पहिले पनि यस्तै फोहर थियो । केही समय उठेपछि अहिले फेरि थुप्रिएको छ ।’

अनामनगरका मुख्य चोकमा यस पटक फोहर नथुप्रिएको भए पनि विभिन्न साना साना चोकमा फोहरको थुप्रो लागेको छ । फोहर उठाउनलाई ठिक्क पारिएको प्लाष्टिकका बोरामा फोहरहरु राखिएका छन् । तर, यहाँ पनि फोहर नउठेको भने ७ दिन भयो । 

अनामनगरमा खाजा पसल गर्ने राजेश पोखरेल भन्नुहुन्छ, ‘पहिले पनि यसै गरी फोहर थुप्रिएको थियो । केही समय उठ्यो । अब अहिले फेरि थुप्रिएको छ । आखिर जो आए पनि फोहरको समस्या समाधान गर्न भने सक्ने देखिएन ।’

सानो गौचरन चोकमा पनि फोहरको त्यतिकै थुप्रो लागेको देखिन्छ । यहाँ पनि फोहर नउठेको एक हप्ता भयो । यस महानगरले पहिले जस्तो मुख्य मुख्य चोकको फोहर भने उठाउने तथा साना साना र अलि भित्र परेका चोकको फोहर भने उठाएको छैन । मुख्य चोकमा फोहर नदेख्दा आम मान्छेको नजरमा फोहरकाबारे त्यति चर्चा परिचर्चा नहुने भए पनि फोहर थुप्रेको ठाउँ वरपरका मानिसले भने सास्ती भोगेका छन् । 

सानो गौचरन चोकमा चिया पसल गर्ने विवेक झा फोहरको थुप्रो देखाउँदै भन्नुहुन्छ, ‘यहाँ फोहर फालेको सात दिन भइसक्यो । यहाँ राति राति ल्याएर फोहर फाल्छ घरवालाहरुले । हामी जस्तो काम गर्ने मान्छेको त फोहर नै हुँदैन । भए पनि खास धेरै हुँदैन ।’

महानगरले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्नुपर्ने नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । हप्तामा दुई दिन कुहिने फोहर र दुई दिन नकुहिने फोहर उठाउने भनेर पनि महानगरले भनेको थियो । तर, अहिले ओखरपौखा जाने बाटो बिग्रिएको र बाटो बन्दै गरेको कारण फोहर नउठेको महानगरको भनाइ छ । 

सिसडोलको बाटो बिग्रेर दोहोरो गाडी नचलेका कारण अहिले धेरै फोहर फाल्न नसकिएको काठमाण्डौ महानगरका प्रवक्ता नविन मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार यसअघि ७ दिनसम्म फाल्न नपाएको फोहर थुप्रिएका कारण महानगर फोहर देखिएको हो । उहाँ भन्नुहुन्छ, ‘अहिले पनि दैनिक झन्डै १ सय वटा गाडी फोहर बोकेर गइरहेका छन् ।’

काठमाण्डौ महानगरमा मात्र दैनिक ६ सय टन फोहर निस्कन्छ । काठमाण्डौ उपत्यकाका नगरपालिका सबैको फोहर गर्दा दैनिक झन्डै १ हजार ३ सय टन दैनिक फोहर निस्कने गर्छ । एउटा गाडीले सामान्यतया १४ टनदेखि १८ टनसम्म फोहर बोक्ने गरेको छ । काठमाण्डौ महानगरका अनुसार अहिले थुप्रिएको फोहर भनेको यसअघि ७ दिन फाल्न नपाएर थुप्रिएको फोहर हो । 

मानन्धरका अनुसार अहिलेको फोहर निख्रनका लागि बाटो बनेर एउटा गाडीले तीन पटकसम्म फोहर बोक्ने अवस्था आउनु पर्छ । त्यसका लागि बाटो चालु हालतमा हुनुपर्छ । तर, अहिले ओशो तपोवन तथा सिसडोलमा पहिरो गएका कारण दोहोरो गाडी चल्न सक्ने अवस्था छैन ।

प्रवक्ता मानन्धर भन्नुहुन्छ, ‘ठेकेदारले ७ दिन गाडी गुड्न रोकेमा बाटो पूर्ण रुपमा बनाइदिने भनेको छ । तर, हामीले दैनिक फोहर फाल्नुपर्छ भनेका छौँ । बरु मिलाएर फोहर नफालेको समयमा बाटो बनाउन भनेका छौँ ।’

बाटोको समस्या समाधान हुने बित्तिकै महानगरले दैनिक सबै फोहर उठाउने र वर्गीकरण पनि थालिने तथा त्यसका लागि महानगरले झोला तथा भाँडो उपलब्ध गराउने पनि प्रवक्ता मानन्धरले जानकारी दिनुभयो।

अन्तिम अपडेट: चैत २८, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया