अझै सकिएन मिटरब्याज पीडितको दुःख !

 साउन २१, २०७९ शनिबार ११:१२:६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

घटना पुरानै भए पनि दृष्य केही फेरिएको छ । करिब डेढ महिना अघि अर्थात असार २ गतेदेखि नवलपरासी जिल्लाका सुस्ता तथा प्रतापपुरका मिटरब्याज पीडित माइतीघर मण्डलामा धर्नामा बसेका थिए । अहिले धर्नामा बस्ने धेरै अनुहार भने फेरिएको छ । केही पुराना र मलिन अनुहार छँदैछन् । तर, प्रायजसाे भने नयाँ छन् धर्नामा । 

यिनै नयाँ मध्येकी एक हुनुहुन्छ नवलपरासीकी द्रौपदी तामाङ । उहाँको ५ कट्ठा जग्गा दृष्टिबन्धकमा मिटर ब्याजी साहुले खाइदिए । उहाँलाई त्यस साहुको नाम कण्ठ नभए पनि उहाँको श्रीमानलाई भने थाहा छ । हातमा प्लेकार्ड बोकेकी तामाङ भन्नुहुन्छ, ‘दृष्टिबन्धक भनेको त कागज लेखेर दिने हो नि । तर, हाम्रो त जग्गै खाइदिए । जग्गा फिर्ता नभएसम्म हामी जाँदैनौँ ।’

अहिले नवलपरासीबाट ८५ जना माइतीघर मण्डलामा मिटरब्याजी विरुद्ध पुनः धर्नाका लागि भनेर आउनु भएको छ । पहिले केवल ४०/५० जना मात्र आएकोमा यो आन्दोलन चर्किएपछि अन्य पीडितहरु पनि न्याय पाउने आशामा यसपटक पैदल हिँडेरै काठमाण्डौ आउनु भएको हो ।

नवलपरासी बर्दघाटका जितबहादुर थापा मगर पनि यस पटक माइतीघर मण्डलाको धर्नामा मिसिन आइपुग्नु भएको छ । उहाँको जग्गा दृष्टिबन्धक भनेर साहुले अर्कैलाई बेचिदिएपछि धर्ना दिन आइपुग्नु भएका मिटरब्याज पीडित थापा मगर भन्नुहुन्छ, ‘हामीसँग दृष्टिबन्धक भनेर छिनमा जग्गा पास गरेर लिएर जाने । अनि अर्कोबाट अर्को गर्दै साहुहरुलाई बेच्ने र धेरै पैसा असुल गर्ने ।’ 

घर बनाउन ७ लाख  रूपैयाँ ऋण लिएको बताउने मगर दृष्टिबन्धक दिएको साहु चितवनका हेमराज थापा क्षेत्रीले चितवनकै पदमपाणि खरेललाई बेचेपछि अहिले खरेलले जग्गा फिर्ता गर्न ३ करोड मागेको बताउनुहुन्छ । अदालतमा मुद्दा गरेर जिते पनि जग्गा फिर्ता लिन नसकेपछि बाध्य भएर धर्ना दिन आइपुग्नु भएका मगर भन्नुहुन्छ, ‘मुद्दा त जितियो । तर मुद्दा जितेर के गर्नु । पैसावालाकै बल रै'छ । जसले पैसा फाल्यो त्यतैपट्टि लाग्दो रैछ वकिलहरु पनि ।’

अघिल्लो पटकको धर्नामा प्रायजसाे सञ्चार माध्यमको अग्रभागमा छाउनु भएका राम शुभक मुसहर अहिले धर्नाकारीहरुको पुछारमा बसिरहनु भएको छ । एक महिनाअघि नवलपरासी प्रहरीमा भएको वार्तामासमेत सहभागी मुसहर भन्नुहुन्छ, ‘यताबाट आश्वासन पाएर फर्केर गएको थिएँ । उसले ५० लाख बाँकी छ पो भन्छ । डेढ लाख लिएको कसरी ५० लाख हुन्छ भन्दा डीएसपीले उसलाई केही बोलेन ।’

तर, वार्ताकै क्रममा अर्का मिटरब्याजी जगदिश बानियाँले अब पैसा तिर्न बाँकी छैन भनेर लेखेर सहीछाप गरेको चिकर्टो देखाउँदै मुसहर भन्नुहुन्छ, ‘यस्तोमा लेखेको कुराको के विश्वास । यिनीहरुले पछि पनि बाँकी छ भन्छ । त्यही भएर अहिले पनि धर्नामा आएको ।’

मिटरब्याज पीडित सङ्घर्ष समितिका अध्यक्ष तथा नवलपरासी सुस्ताका बासिन्दा राम शुभक गुप्ता आफूले बुझ्दै जाँदा यस्ता पीडित धेरै पाएको बताउनुहुन्छ । १/२ लाख रुपैयाँ साहुसँग लिएर त्यो भन्दा धेरै तिर्दा पनि अझै सकिएको छैन र ३ करोड मागेको पीडितसमेत यहीँ धर्नामा रहेको बताउनु हुन्छ गुप्ता ।

 

गृह मन्त्रालयसँग यसै विषयमा एक महिनाअघि भएको वार्तामासमेत रहनु भएका गुप्ता भन्नुहुन्छ, ‘हामीसँगको वार्तामा गृहका प्रवक्ताजीले जिल्लामा गएर कुरा मिलाउनुस् भन्नुभयो । तर, जिल्लामा जाँदा त्यहाँको डीएसपीले हामीसँग मात्र प्रमाण माग्छ । प्रमाण दिँदा पनि यो डुप्लिकेट प्रमाण हो भन्छ।’ 

अघिल्लो पटक २०७९ असार १५ गते जिल्ला प्रशासन कार्यालयको समन्वयमा पीडित र मिटरब्याजीहरुबीच जिल्ला प्रहरी कार्यालय नवलपरासीमा वार्ता समेत भएको थियो जसमा २० जना पीडितको तमसुक पनि च्यातिएको थियो । तर, सरकारसँगको सहमतिमा पीडितले बढी तिरेको रकम साथै दृष्टिबन्धक राखिएका जग्गा फिर्ता गर्ने सहमति भएकोमा पालन नभएपछि पुनः पीडितहरु धर्नामा आएका हुन् । 

मिटर ब्याज पीडितलाई सुरुदेखि सघाउँदै आउनु भएका अभियन्ता निर्ग नविनका अनुसार त्यसबेला गृहका प्रवक्ता फणिन्द्र पोखरेलले जाहेरी दिन तथा तथा न्यायिक प्रकृयामा सहभागी हुन भनेपछि पीडितहरु नपलपरासी गएका हुन् । नवलपरासी जाँदा प्रहरी प्रशासनले मिलापत्रमा जाने कुरा गर्यो । तर वातावरण त्यस्तो थिएन । 

‘एक लाख लिनेले २६ लाख तिर्दा पनि किसानले मिलापत्रको लागि पैसा तिर्नुपर्ने भयो,’ नविन भन्नुहुन्छ, ‘प्रहरी कार्यालयमा नै साहुले पैसा मागिरहेको छ । प्रहरीले दिएर मिलाइदिनुस् भनिरहेको छ । त्यसैले त्यहाँ न्याय पाउने स्थिति बनेन र आन्दोलन काठमाण्डौ आयो ।’

नवलपरासीमा प्रहरीले काठमाण्डौ आएका २५ जनाको केस मात्र लियो । पीडितहरु वार्ताको लागि नवलपरासी गएपछि सङ्घर्ष समितिको कार्यालयसमेत खुल्यो । कार्यालयमा पीडित किसानले आफूसँग भएका प्रमाणहरु पनि लिएर आए । झन्डै डेढ सय जनाको आवेदनसमेत परेको छ समितिको कार्यालयमा । ‘समितिको कार्यालयमा आएका निवेदनलाई नहेर्ने भनेपछि आन्दोलनको विकल्प भएन,’ नविन भन्नुहुन्छ ।

पीडितहरु धर्नाका लागि काठमाण्डौ आएको ५ दिन भए पनि धर्ना बस्न थालेको भने ३ दिन भयो । यस बीचको २ दिन उनीहरुको बस्ने व्यवस्था मिलाउँदैमा बित्यो । उनीहरु अहिले तिलगङ्गामा पशुपति विकास कोषको पार्किङ भएको जग्गामा पाल टाँगेर बसिरहेका छन् । प्रायजसाेले खान बस्नका लागि आफैँले सातु सामल, लत्ता कपडा र भाँडा वर्तन लिएर आएका छन् । तर, ती पर्याप्त नभएपछि अभियन्ताहरुले सघाएका छन् । 

‘राति आइपुगियो । काठमाण्डौको ठाममा बाउ छैनन् आमा छैनन् । बस्ने बास त गराउन पर्यो,’ धर्नाकारी बस्ने छाप्राको बारेमा तामाङको दिक्दारी यस्तो छ, ‘काठमाण्डौको ठाम नाम था' छैन । त्यै मान्छे पोल्ने ठाममा बनाको छ । जहाँ टेक्यो त्यहीँ हिलो हुन्छ । अस्ति त रातभरि पानी परेर सुत्न पनि पाइएन ।’ 

अन्तिम अपडेट: चैत १४, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया