चितवन राष्ट्रिय निकुञ्ज : ११ करोड राजस्व संकलन, ३ करोड राहत वितरण

 साउन २१, २०७९ शनिबार १८:३१:६ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल तस्बिर

चितवन – चितवन राष्ट्रिय निकुञ्जले एक वर्षमा ११ करोड ४९ लाख रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । निकुञ्जले गएकाे आर्थिक वर्ष २०७८/०७९ मा विभिन्न शीर्षकबाट ११ करोड ४९ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको हाे । 

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले सबैभन्दा बढी राजस्व पर्यापर्यटन शीर्षकबाट प्राप्त गरेको छ । निकुञ्जले पर्यापर्यटन शीर्षकबाट १० करोड २३ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले गैरकाष्ठ वनपैदावर (ढुङ्गा, गिट्टी तथा बालुवा) बिक्रीबाट ६९ लाख ४९ हजार, दण्ड सजायबाट ३२ लाख ११ हजार, काठ र दाउरा बिक्रीबाट सात लाख १७ हजार तथा अन्य शीर्षकबाट १७ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

निकुञ्ज प्रवेशबापत प्रतिव्यक्ति नेपालीले एक सय ५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र विदेशीले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन् । गएकाे वर्ष निकुञ्जले पर्यटकबाट सात करोड २९ लाख ४५ हजार, जीप सफारीबाट दुई करोड ७८ लाख ८० हजार तथा डुङ्गा सफारीबाट १५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयाे ।

५ सय ४९ जना पक्राउ

वन्यजन्तुको चोरीसिकारीको मुद्दामा गएकाे आ.व.मा पाँच सय ४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरीसिकारीमा संलग्न थिए । गैँडा, बाघ, हात्तीलगायत २७ प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।

संरक्षित वन्यजन्तुको चोरीसिकारीमा संलग्न सातमध्ये छ जना गैँडा सिकारी हुन् । जाजरकोट शिवालय गाउँपालिका–२, डुङ्ग्रा बस्ने वीरबहादुर बस्नेत, तनहुँ शुक्लागण्डकी नगरपालिका–२ बस्ने कमल गुरूङ, २२ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–१ बस्ने कृष्णप्रसाद न्यौपाने, कालिका नगरपालिका–२ बस्ने राजन प्रजा र राप्ती नगरपालिका–१० बस्ने रामकुमार प्रजालाई पक्राउ गरिएको तिवारीले जानकारी दिनुभयो । बाघको छाला खरिद–बिक्रीको कसुरमा विगत १६ वर्षदेखि फरार तनहुँ जिल्ला देवघाट गाउँपालिका चुन्दुली बस्ने विष्णुबहादुर गुरूङलाई पक्राउ गरिएको हो ।

तीन करोड रुपैयाँ राहत 

निकुञ्जले निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले मानव, पशु तथा भौतिक क्षति पुर्‍याएका परिवारलाई तीन करोड चार लाख ७३ हजार ३८७ रूपैयाँ राहत वितरण गरेको छ । निकुञ्जआसपासका मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले ७ सय २४ वटा घटना घटाएका थिए ।

१२ महिनामा वन्यजन्तुबाट १४८ वटा पशु आक्रमणमा परेका छन् । त्यसबापत निकुञ्जले १७ लाख ८२ हजार रूपैयाँ राहत दिएको छ । अन्नबाली क्षतिबापत ३० लाख ३९ हजार ९०० रूपैयाँ उपलब्ध गराएको छ । घरगोठ क्षतिको एक लाख ४७ हजार, भण्डारण गरेको अन्नको क्षतिस्वरुप ५४ हजार ४४० रूपैयाँ प्रदान गरेको तिवारीले जानकारी दिनुभयो । 

२२ जनाको ज्यान गयाे

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट २२ जनाको ज्यान गएको छ भने ५३ जना घाइते भएका छन् । मृतक परिवारले १० लाखका दरले दुई करोड २० लाख रूपैयाँ प्रदान गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभएको छ ।

एक वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट २९ जना सामान्य घाइते भएका थिए । उनीहरुलाई ५३ लाख ३७ हजार ९५४ रूपैयाँ प्रदान गरिएको छ । त्यस्तै, गम्भीर घाइते भएका २४ जनाका परिवारलाई २९ लाख ११ हजार ७७३ रूपैयाँ वितरण गरिएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया