प्रचण्डले जापानमा दिएकाे अभिव्यक्तिले देश र जनताकाे शिर निहुरियाे : खिमलाल भट्टराई

 साउन २५, २०७९ बुधबार १४:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता खिमलाल भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाे टिप्पणी गर्नुभएको छ । नेपालमा एक पटक पनि नआउनुभएका जापानका तत्कालीन प्रधानमन्त्री शिन्जाे आबे नेपाल आएको बेला दुई/तीन पटक दुई देशको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष दाहालले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिङ्गो देशकाे शिर निहुर्‍याएकाे बताउनुभएको हो । 

आज बुधवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री र सत्ता साझेदार दलको जिम्मेवार नेता दाहालले नेपाल भ्रमणमै नआउनुभएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भारत भ्रमणको बेला पनि दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो । 

नेता भट्टराईले भन्नुभयो, ‘गठबन्धनभित्रका एक जना वरिष्ठ नेता जापान भ्रमणमा जानुभयो । जापान भ्रमणमा जाँदा उहाँले जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबे नेपाल आएको बेलामा दुई/तीन पटक उहाँसँग आपसी हितको बारेमा कुरा भएकाे भनेर सानका साथ भन्नुभयाे । जबकि आबे नेपाल आउनुभएकै थिएन । यस्तो खालको हल्का प्रस्तुतिले, हल्का टिप्पणीले के हुन्छ ? एउटा सिनियर नेता तर यस्तो हल्का प्रस्तुति । देश चल्छ ? लोकतन्त्र बलियो हुन्छ ? गणतन्त्र चलाउने, सङ्घीयता चलाउने, बलियो बनाउने यस्तै तरिकाले हो ? यस्तो नगरौँ । यसले देशलाई हल्का बनाउँछ । जनताको शिर निहुर्‍याउँछ । 

नेता भट्टराईले मूल्यवृद्धिले आहात भएका नागरिकलाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचनासमेत गर्नुभयो । दैनिक उपभोग्य खाद्यान्नको मूल्यवृद्धि एक वर्षमा सरकारले एक १७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उहाँले आक्रोशसमेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया