स्वास्थ्य, शिक्षामा सरकारले ध्यान दिएन : अध्यक्ष ओली

 साउन २५, २०७९ बुधबार १९:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा ध्यान नदिएको आरोप लगाउनुभएको छ । स्वास्थ्य, शिक्षा र उपचार गर्ने अस्पतालहरूको हब बन्नका लागि उपयोगी रहेको देशमा ती विषयलाई नै निषेध गर्ने काम सरकारबाट भइरहेको अध्यक्ष ओलीको भनाइ थियो । 

आज बुधवार काठमाण्डौमा आयोजित कृषि वैज्ञानिकसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कृषिको उपज बढाउनका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसका लागि कृषि बजारको अभाव भने नेपालमा नभएको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘स्वास्थ्य, शिक्षालाई नै निषेध गर्ने गरी सरकारी क्षेत्र अगाडि बढिराखेको छ । यसलाई त मेडिकल हब बनाउनुपर्ने हो । यहाँको हावापानी र भूगोल नै यी चिजहरूलाई दिन्छ । यी आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्दै हामी अघि बढ्नुपर्दछ । कृषि क्षेत्रको विकासका लागि प्रविधिको प्रयोगमा जोड दिनुपर्दछ । कृषि उत्पादन र उत्पादकत्व बढाऔँ । देशलाई आत्मनिर्भर बनाऔँ ।’

अध्यक्ष ओलीले कृषि उपज बढाउनका लागि माटो मर्न नदिने काममा सचेत रहन पनि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया