आर्थिक सङ्कटसँगै महँगी : सौराहामा पर्यटक घटे

 साउन २५, २०७९ बुधबार २०:२९:३७ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनको पर्यटकीय नगरी सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या घटेको छ । देशमा देखा परेको आर्थिक सङ्कट र कोरोना महामारीको दीर्घकालीन असरका कारण सौराहामा पर्यटकको सङ्ख्या घटेको हो । पर्यटक आगमन घट्दै गएपछि सौराहा सुनसान भएको छ भने व्यवसायी निराश बनेका छन् ।

कोरोना महामारीको अन्त्यसँगै स्वदेशी पर्यटकका कारण सौराहा चलायमान हुन्छ भन्ने अनुमान व्यवसायीले गरेका थिए । तर त्यसो भएन । अहिले सौराहामा विदेशी पर्यटक फाट्टफुट्टमात्रै देखिन्छन्, स्वदेशी पर्यटक दैनिक डेढ सय जनाको हाराहारीमा आएका छन् ।

साना तथा मझौला होटलमा पर्यटक नआएपछि बन्द गर्नुपर्ने अवस्था आएको छ । पर्यटक घटेपछि व्यवसायीले कर्मचारीलाई बिदा दिएका छन् । यहाँका गाइड अहिले कामविहीन छन् । प्रत्यक्ष–अप्रत्यक्ष गरी १० हजार जनाभन्दा बढीले रोजगारी पाएको सौराहा क्षेत्र यति बेला समस्यामा रहेको छ ।  

पर्यटकको चहलपहल हुने सौराहाको राप्ती नदी किनार पनि सुनसान छ । क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष दीपक भट्टराई सौराहा सुनसानजस्तै रहेको बताउनुहुन्छ । केही अन्तरिक पर्यटक देखिए पनि विगतको वर्षमा यही मौसममा आउने पर्यटकको अनुपात हेर्दा यो वर्ष घटेको उहाँले बताउनुभयो । जेठको पहिलो हप्तादेखि भदौ अन्तिमसम्मको समय अरू बेलामा पनि पर्यटक धेरै नआउने समय हो । 

आर्थिक सङ्कटसँगै महँगीका कारणले जहाज भाडादेखि खान र बस्न महँगो भएपछि पर्यटकको आगमन कम हुँदै गएको सौराहाका व्यवसायी बताउँछन् । एकातिर आर्थिक महँगी र अर्कोतिर मुख्य सडकहरूमा देखिएको समस्याले सौराहासम्म पर्यटक आउन समस्या भएको भट्टराईले बताउनुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार ‘प्रतिपर्यटकको नेपालमा हुने प्रतिदिन खर्च’ को तथ्याङ्कले पनि पर्यटकको नेपाल बसाइ र खर्च गर्ने प्रवृत्ति घट्दै गएको देखाएको छ ।

सौराहामा अहिले करोडौँ रुपैयाँको लगानीमा होटलहरू थपिँदै गएका छन् । सौराहामा रहेका ठूला होटल बाहेक ४० रेस्टुरेन्ट, एक सय वटाभन्दा बढी जीप, ४० वटा टांगा र ४८ वटा हात्तीमा संलग्न रहेका कामदारको सङ्ख्या एक हजार जनाभन्दा बढी छ । सामान्य अवस्थामा स्वदेशी र विदेशी गरी महिनामा ५० हजार जना पर्यटक सौराहा आउँछन् । यसमा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत विदेशी पर्यटक पर्छन् ।

सौराहामा साना–ठूला गरी एक सय ५० वटा होटल रहेका छन् । होटलमा पाँच हजार पाँच सय बेड क्षमता छ । व्यवसायीका अनुसार होटल, रेस्टुरेन्ट, लज लगायत आधा दर्जन संरचना निर्माणाधीन अवस्थामा छन् । यहाँको होटल क्षेत्रमा २० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ । यसमध्ये ६० प्रतिशतभन्दा बढी बैंकको लगानी रहेको छ ।

विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहा पर्यापर्यटनका लागि प्रसिद्ध छ । विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु र यहाँका आदिवासी थारुको जीवनशैली र संस्कृति अवलोकन गर्न पर्यटक यहाँ आउँछन् । 

रत्ननगर नगरपालिकाको वडा नम्बर ६ मा पर्ने सौराहा यसअघि भारतीय नाकाबन्दी र २०७२ सालको भूकम्पले सुनसान बनेको थियो । पर्यटकीय हिसाबले काठमाण्डौ र पोखरापछि चितवनलाई नेपालको तेस्रो गन्तव्य मानिन्छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया