चितवन मेडिकल कलेजमा एक सय शय्याकाे क्यान्सर अस्पताल सञ्चालन हुने

 साउन २६, २०७९ बिहिबार १०:२२:२५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवन मेडिकल कलेज शिक्षण अस्पतालले अत्याधुनिक उपकरणसहित एक सय शय्याको क्यान्सर अस्पताल सञ्चालनको तयारी गरेको छ । दुई अर्ब रुपैयाँ लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न लागिएको अस्पतालले जानकारी दिएको हाे । 

क्यान्सर उपचारका लागि चितवन मेडिकल कलेजको शिक्षण अस्पतालसँगै ६ तले भवन निर्माण गरिएको छ । क्यान्सर उपचारका क्रममा विकिरणहरु बाहिर नजाओस् भन्नका लागि विशेष सतर्कता अपनाइएको छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बङ्कर निर्माण गरिएको र परीक्षण सफल भएको उहाँले बताउनुभयो । 

एक महिना भित्रमा सञ्चालनमा ल्याउने गरी अस्पतालले आफ्नो भगिनी संस्थाको रुपमा “सीएमसी क्यान्सर इन्स्टिच्युट” निर्माण गरेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताउनुभयो । नेपालका क्यान्सरका बिरामी अब दक्ष जनशक्ति र आधुनिक उपकरणको अभावमा विदेश जानु नपर्ने बताउँदै डा. लम्सालले  विदेशका अस्पतालमा जडान गरिएका आधुनिक उपकरणहरु यहाँ जडान भएको जानकारी दिनुभयो । 

उपकरणहरु खरिदमा मात्रै १ अर्ब २७ करोड रुपैयाँ खर्च भएकाे जानकारी दिँदै उहाँले अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी क्यान्सर इन्स्टिच्युटमा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने बताउनुभएको छ ।

 रेडिएसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचार हुने अस्पतालले जानकारी दिएको छ । 

विदेशका ठूला अस्पतालमा कामको अनुभव लिएका चिकित्सकहरुसँग सम्झौता गरिरहेकाे बताउँदै डा. लम्सालले दक्ष जनशक्तिमार्फत गुणस्तरीय स्वास्थ्य उपचार गर्नेगरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो । क्यान्सरका बिरामीलाई लामो समय पालो कुर्नु पर्ने र विदेश जानु पर्ने बाध्यताको अन्त्य गर्न क्यान्सर इन्स्टिच्युट सुरु गरेको उहाँले बताउनुभयो । दैनिक एक सय जनासम्मलाई रेडिएसन सेवा दिन सकिने प्रविधि जडान गरिएको उहाँले बताउनुभयो । रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको हो । 

चितवन मेडिकल कलेज शिक्षण अस्पतालले अहिले वार्षिक ३ लाख ५० हजारभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा २८ विभाग रहेका छन् । जहाँ अङ्ग प्रत्यारोपणसहित अति विशिष्टिकृत सेवा रहेका छन् । क्यान्सरका बिरामीलाई अन्य विभागको सेवा समेत आवश्यक पर्ने भएकोले बिरामीले उपचारमा सहजता पाउने अस्पतालले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया