हेटौँडामा वधशाला खोल्ने नाममा ६२ लाख रुपैयाँ अनुदान अनियमितता

 साउन २६, २०७९ बिहिबार १५:५७:३३ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा – बाग्मती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अनुदान दिने नाममा अनियमितता भएको पाइएको छ । अहिलेका सचिव तथा मन्त्रालयका तत्कालीन योजना तथा अनुगमन महाशाखाका प्रमुख डाक्टर शरणकुमार पाण्डे र तत्कालीन सचिव डा. योगेन्द्र कार्कीले वधशाला निर्माणका लागि दिएको रकमको अहिले कुनै नामनिसाना फेला परेको छैन । 

बाग्मती प्रदेश सभामा पटक–पटक छलफलमा आएको विषयमा संसदीय समितिले अनुगमन गरेको थियो । अनुगमनपछि वधशाला निर्माण गर्ने भनेर सरकारी रकम अनियमितता भएको पाइएको हो । मन्त्रालयका तत्कालीन सचिव कार्की र पाण्डेले हेटौँडामा वधशाला खोल्ने नाममा उद्योगीसँग मिलेर ६२ लाख रुपैयाँ अनियमितता गरेकाे तथ्य बाहिरिएको हो ।

तत्कालीन समयका योजना महाशाखाका प्रमुख पाण्डेले सम्झौता गरेर वधशाला खोल्ने नाममा काम नै नगरिकन रकम भुक्तानी दिएका हुन् । बफेलो क्वालिटी फुड प्रालिले प्रदेश सरकारको त्यति बेलाको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग सम्झौता गरेर ६२ लाख २२ हजार पाँच सय रुपैयाँ अनुदान लिएर वधशाला पुनः सञ्चालनमा ल्याएको थियो । यो वधशालाको अहिले कुनै नामनिसाना छैन । मन्त्रालयका तर्फबाट पाण्डे र बफेलो क्वालिटी फुड प्रालिका तर्फबाट सैयद रियाजउदिनबीच सम्झौता भएको थियो । मन्त्रालयका तर्फबाट अनुगमन गरेर भुक्तानी दिनका लागि सचिव कार्की समक्ष पाण्डेले सिफारिस गर्नुभएको थियो । सम्झौताअनुसार काम गरेको प्रतिवेदन तयार गरेर भुक्तानी पनि दिइयो । तर अहिले वधशाला सञ्चालनमा नै छैन ।

सङ्घीय सरकारको ससर्त बजेटबाट वधशाला निर्माणमा अनुदान रकम दिएको बताउँदै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन मन्त्री दावा दार्जे लामा भन्नुहुन्छ, ‘हामिले सङ्घीय सरकारबाट प्राप्त भएको बजेटअनुसार योजना छुट्याएर काम गरेका हौँ । सङ्घीय सरकारबाट आएको बजेट मन्त्रालयका योजना महाशाखाका प्रमुख शरण पाण्डेले सम्झौता गरेर कार्यान्वयन प्रक्रियामा लगेका हुन् । अनुगमन पनि उनैबाट भएको हो । भुक्तानी पनि उनीहरूले नै दिएका हुन् । कार्यान्वयन र भुक्तानीमा मन्त्रीको कुनै भूमिका छैन र हुँदैन पनि ।’ यस विषयमा पाण्डेलाई फोन गर्दा सम्पर्क हुन सकेन ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा पशु वधशाला तथा मासु जाँच ऐन लागू भएको २१ वर्षपछि हेटौँडा औद्योगिक क्षेत्रभित्र वधशालालाई पुनः सञ्चालनमा ल्याइएको थियो ।  अहिले न सरकारको अनुदान सदुपयोग भएर वधशाला सञ्चालनमा छ न पुराना मेशिन नै । सरकारको अनुदानसँगै उद्योगको मेशिन पनि गायब छ । वधशाला भएको ठाउँमा अहिले पुराना सिमेन्टका संरचना, पशु बाँध्ने फलाम, काठका संरचना र कोल्डस्टोरेज घर मात्र छन् । यी संरचना वधशाला खरिद गरेको त्रिशक्ति पोलिब्याग इन्डस्ट्रिजले भत्काइरहेको छ । अबको केही दिनभित्र इतिहास बोकेको पशु वधशालाको नामनिसान यहाँ भेटिँदैन ।

वधशालाको कुल परियोजना लागत एक करोड ४२ लाख ८४ हजार रुपैयाँ थियो । सम्झौताअनुसार वधशाला सञ्चालनको लागत अनुमानअनुसारको रकमको ५० प्रतिशत बढी अर्थात् ७१ लाख ४२ हजार रुपैयाँ भुक्तानी हुने भनिएको छ । बफेलो क्वालिटी फुडले एक करोड ३१ लाख १९ हजार पाँच सय २४ रुपैयाँको सञ्चालन खर्च पेस गरेपछि ६२ लाख २२ हजार पाँच सय रुपैयाँ अनुदान पाएको प्राप्त प्रतिवेदनमा उल्लेख छ । सरकारको अनुदान लिएर वधशालालाई पूर्णरूपमा सञ्चालन नै नगरि बफेलो क्वालिटी फुड प्रालिले औद्योगिक क्षेत्रमै रहेको त्रिशक्ति पोलिब्याग इन्डस्ट्रिजलाई झन्डै १२ करोड रुपैयाँमा सम्पत्ति बेचेर हिँडेको थियो । बोरा उत्पादन गर्ने कम्पनीलाई वधशाला बिक्री गरेपछि त्रिशक्ति उद्योगले वधशालाका पुराना मेशिन कबाडीमा बिक्री गरेको खुलेको छ ।

त्रिशक्तिका प्रबन्धक नगेन्द्रराज न्यौपानेले वधशालाको मेशिन कबाडीमा बिक्री गरेको बताउनुभयो । ‘हामीले सबै संरचना खरिद गरेका हौँ । पुराना मेशिनहरू थिए, कबाडीमा बिक्री ग¥यौँ’, न्यौपानेले भन्नुभयो । २०२८ सालमा डेनिस सरकारको १८ करोड रुपैयाँ लागतमा स्थापना भएको नेपाल लाइभस्टक वधशाला यसअघि तीन पटकसम्म उद्घाटन भइसकेको थियो । पछिल्लो समय रिजन क्वालिटी फुड नामक कम्पनीले वधशाला चलाउँदै आएको थियो । तर पटक–पटक उद्घाटन र बन्द हुँदै आएको वधशाला नियमित सञ्चालन हुन सकेको थिएन । वधशाला पछिल्लो पटक २०७३ सालदेखि बन्द थियो ।

पशु वधशाला तथा मासु जाँच ऐन २०५५ देशमै पहिलो पटक हेटौँडामा लागू भएको थियो । कर्मचारीको मिलेमतोकै कारण अन्ततः सरकारको अनुदान बालुवामा पानी हाले बराबर भएको छ । बफेलो क्वालिटी फुड प्रालि र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबीच १६ जेठ २०७६ मा लागत साझेदारीमा वधशाला स्थापना गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार मन्त्रालयले कम्पनीले पेस गरेको लागत अनुमानको ५० प्रतिशत वा बढीमा ७१ लाख ४२ हजार पाँच प्रतिशत कन्टेन्जेन्सी कटाइ हुन आउने रकम प्रदान गर्ने उल्लेख छ । वधशाला खरिद गरेको त्रिशक्ति इन्डस्ट्रिजका प्रबन्धक न्यौपानेले आफूले बफेलो क्वालिटीसँग नभइ रिजन क्वालिटी फुडसँग वधशालाको संरचना खरिद गरेको बताउनुभयो । तर बफेलो क्वालिटी निकट प्रतिनिधि जोब्सन खानले भने त्रिशक्तिलाई सबै सामान बिक्री गरेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया