नेपालकाे विकासकाे 'माेडेल' आफ्नै प्रकारकाे हुनुपर्छ, सिङ्गापुर र स्विट्जरल्यान्डजस्ताे भन्ने हाेइन : प्रचण्ड

 साउन ३०, २०७९ सोमबार १४:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको स्थायित्व र विकासका लागि सबै तागत लगाउनुपर्ने बताउनुभएको छ । 

आज सोमवार काठमाण्डौमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको स्थायित्व र विकासका लागि सबै तागत लगाउनु आवश्यक रहेको बताउनुभएको हो । उहाँले नेपालको विकासको स्वरूप आफ्नै प्रकारको हुनुपर्ने बताउनुभयो । नेपाली मोडेलले नै देशको विकास हुनुपर्ने भन्दै देशको इतिहास, भूगोल, संस्कृति र जातीय बनावट अनुकूल नेपाली स्वरूपको विकास गर्न सक्नुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हामीले राजनीतिक परिवर्तनका निम्ति धेरै सङ्घर्ष गर्‍याैँ । अब देशको स्थायित्व र विकासको निम्ति सबै तागत लगाउन आवश्यक छ । नेपालको विकासको मोडेल नेपालको जस्तै हुनुपर्दछ । विगतमा कतिपयले सिङ्गापुरजस्तो, स्विट्जरल्यान्डजस्तो, जापानजस्तो इत्यादि भन्ने पनि गरेका छौँ । तर अहिले सबैतिरको स्थिति हेर्दा हामीले नेपालको विकास नेपाली मोडेलकै हुनुपर्दछ ।’

अध्यक्ष दाहालले विकासको वातावरण बनाउनका लागि उत्पादन अभिवृद्धि गर्ने, आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने, निर्यात प्रवर्द्धन गर्ने र आयात प्रतिस्थापन गर्ने लगायतका काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले मानिसहरूको जीवन सरल र सहज बनाउनका निम्ति कला र संस्कृतिको ठूलो भूमिका हुने बताउनुभयो । कला र संस्कृतिले मानिसलाई सफल जीवन जिउनका लागि प्रेरणा दिने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया