एसीसी १९ वर्षमुनिको महिला एशिया कपमा नेपाली र श्रीलङ्काको खे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक सङ्ख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
आज सोमवार सङ्घीय संसद् सचिवालयमा आयोजित ‘संसदमा कानुन, न्याय तथा मानव अधिकार समिति : अभ्यास र उपलब्धि’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले पछिल्ला दिन संसदमा गणपूरक सङ्ख्या नपुगेकोप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।
पछिल्लो समय संसदमा हाजिर गरेर सांसदहरू बाहिरिने गरेपछि विधेयक पास गर्न गणपूरक सङ्ख्या पुग्न छोडेको छ । आइतवार मात्रै बसेको प्रतिनिधि सभाको बैठकमा समेत विधेयक पास गर्नका लागि सांसदहरूको गणपूरक सङ्ख्या नपुग्दा मङ्गलवारसम्मका लागि बैठक स्थगित गर्नुपरेको थियो ।
सभामुख सापकोटाले संसदलाई जनतामा जोड्नका लागि धेरै परिश्रम गर्नुपरेको उल्लेख गर्दै सांसदहरू अनुपस्थित भइदिँदा जनमुखी विधेयकहरू प्रमाणीकरण र पास गर्न संसदलाई अप्ठेरो भइरहेको बताउनुभयो । उहाँले संसदमा विधेयक पास गर्नका लागि धेरै पटक घण्टी बजाउनुपरेको र मन्त्रीहरू बोलाउन कुर्नुपरेको भन्दै सबै सांसद र मन्त्रीहरू जिम्मेवार र गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले सबैभन्दा माथि म छु भनेर कसैले ठान्नुपर्दैन । हामीभन्दा माथि पनि कानुन छ । हामीले संसदलाई जनतामा जोड्नका लागि कति बुद्धि र विवेक लगायौँ ? कति मेहनत र परिश्रम ग¥यौँ, त्यो मूल्याङ्कनको कुरा छ । हाम्रा सबै कुरा जनताले हेरिरहेका छन् । हामीले कति पटक घण्टी बजाउनुपरेको छ विधेयक पास गर्नका लागि, हामीले कतिन्जेल पर्खिनुपरेको छ मन्त्रीहरू बोलाउनका लागि । हामी जिम्मेवार र गम्भीर बन्नुपर्छ ।’
सभामुख सापकोटाले समितिमा दोहोरपन देखिएको बताउनुभयो । उहाँले समितिले दिएका निर्देशन सरकारले किन लागू गरेन भन्ने भन्दा पनि देशको धरातललाई बुझेर निर्णय भएको हो वा होइनन् भन्ने कुरा स्वयम् समितिले आत्मालोचना गर्नुपर्ने बताउनुभयो । देशको धरातलीय यथार्थ अनुकूल समितिले निर्देशन गरेको छ वा छैन भन्ने कुराको समीक्षा हुन जरुरी रहेको उहाँको भनाइ छ ।
सभामुख सापकोटाले सरकार उदीयमान व्यवस्थापिकाको पक्षमा रहेको बताउनुभयो । उहाँले सङ्घीय संसद्लाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सभामुख सापकोटाले खोज, अनुसन्धान गरेर प्रभावकारी बनाएका कारण अमेरिका, स्विडेन, जर्मनीका समितिहरू धेरै शक्तिशाली रहेको बताउनुभयो । त्यहाँका समितिहरू कानुन निर्माणमा असाधारण खोज, अनुसन्धान गरेका कारण शक्तिशाली भएको उहाँले बताउनुभयो । नेपालमा खोज, अनुसन्धानमा आवश्यक ध्यान नपुगेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।