फोहरले हैरान काठमाण्डौका बासिन्दा

 साउन ३१, २०७९ मंगलबार १०:२९:३५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

झापाको गौरादह नगरपालिका स्थायी घर भइ अहिले काठमाण्डौको घट्टेकुलो बस्दै आउनु भएकी गीता कार्की पेसाले व्यवसायी हुनुहुन्छ । बागबजारमा  किताब पसल चलाउँदै आउनु भएकी कार्की फोहरले आफू दोहोरो मारमा परेको बताउनुहुन्छ । कार्की भन्नुहुन्छ, ‘घरको फोहर फाल्न नपाएर हैरान छ । यता पसलमा आयो अरुले बाटोमा फालेको फोहरको दुर्गन्ध सुँघेर बस्नुपर्छ ।’

काठमाण्डौ महानगरले फोहर विसर्जन गर्दै आएको बञ्चरेडाँडा जाने बाटो बिग्रेर फोहर ७ दिन नउठ्ने सूचना जारी गरेको अर्को ७ दिन बितिसक्दा पनि फोहर भने उठेको छैन । महानगरको नयाँ नेतृत्वले फोहरको समस्या समाधान गर्ने आश्वासन दिए पनि अहिलेसम्म फोहर कसरी व्यवस्थापन गर्ने भनेर रुमल्लिरहेको छ । ‘चुनावको एजेन्डा नै हामी फोहर व्यवस्थापन गर्छौँ गर्छौँ गर्छौँ भनेर भन्या हो नि त । तर, अहिले फोहरमा चलखेल, राजनीति के भएको हो तर, यसबाट सास्ती पाउने भनेको जनताले नै हो’ कार्कीले गुनासो गर्नुभयो ।

वर्षाको समयमा फोहर उठ्न नसक्दा झनै समस्या थपिएको छ । सडकमा रहेका फोहर बगाएर ढल जाम हुने अनि त्यसले थप दुर्गन्ध तथा हैजा जस्ता सरुवा रोगको महामारीको खतरा पनि काठमाण्डौमा देखिन्छ। 

बागबजारमा किताब पसल सञ्चालन गर्दै आउनु भएका प्युठानका गुण प्रसाद आचार्य भन्नुहुन्छ, ‘भारी वर्षाले बागबजार सबै डुब्यो । फोहर नउठिरहेको अवस्थामा यसले फोहर छरपस्ट भएर हैजाको महामारी हुने खतरा देखिएको छ । फोहरका कारण काठमाण्डौ महानगरपालिकामा जटिल अवस्था छ । यो अत्यन्तै दुःखदायी स्थिति हो ।’

वर्षा अगावै काठमाण्डौका सडकका ढलहरु सफा गर्ने र फोहरमैला व्यवस्थापन गर्ने भन्ने काठमाण्डौ महानगरको पहिलो बैठकको प्रतिबद्धताले पनि काम गरेको छैन । वर्षौँ अघिदेखि थाती रहेका सिसडोलवासीका माग महानगरको नयाँ नेतृत्व आएसँगै चुलिएपछि फोहर व्यवस्थापन झन् जटिल बन्दै गएको छ ।

साउन २३ गते सोमवार राति फोहर लिएर गएका गाडीमा अज्ञात व्यक्तिहरुले तोडफोड गरी क्षति पुर्याएपछि मेयर बालेन साहले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ, ‘फोहर व्यवस्थापनप्रति हामी सुरुआतदेखि नै संवेदनशील र क्रियाशील छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षौँदेखि अव्यवस्थित भएको फोहरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।’

उहाँ अगाडि लेख्नुहुन्छ, ‘यसै क्रममा हिजो राति फोहर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’

अज्ञात व्यक्तिहरुबाट फोहर लिएको गाडीमा तोडफोड भएपछि आएको मेयर बालेनको प्रतिक्रियापछि साउन २९ गते धुनिबेसी नगरपालिका – १ का नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीका अध्यक्षहरुले फोहर फाल्न नदिने भन्दै विज्ञप्ति निकाले । यसले फोहरमा राजनीति भइरहेको भन्ने आम नागरिकको बुझाइलाई पुष्टि गर्ने काम गर्यो । 

महानगरले फोहर व्यवस्थापन गर्न पहल गर्दै आएको भए ठाउँको अभाव अनि भएको ठाउँमा फोहर फाल्न नदिँदा समस्या आएको बताउँदै बागबजारमा रेष्टुरेण्ट व्यवसाय गर्दै आउनु भएका म्याग्दीका शोभित खड्का भन्नुहुन्छ, ‘व्यवधान धेरै आएको छ । माग धेरै आएको छ । महानगरले विकल्प पनि खोजिरहेको छ । तर, ठोस निकास निस्किसकेको छैन ।’

महानगरले फोहर व्यवस्थापनको वैकल्पिक विधि नअपनाइ ल्याण्डफिल साइटमा लगेर फाल्ने पुरानो विधि र ढर्राले काठमाण्डौको फोहर व्यवस्थापन हुन झन् कठिनाइ हुने देखिन्छ । ल्याण्डफिल साइटका जनताको आफ्नो पीडा छँदैछ । त्यसमा बेलाबेला मिसिने राजनीतिक रङ र अन्य मागले गर्दा बेला बेला अवरुद्ध हुने फोहरमैला विसर्जनले काठमाण्डौ दुर्गन्धित हुने गरेको छ । 

काठमाण्डौ महानगरपालिकाले लामो समय फोहर लिन नआए पनि आफैँले फोहर व्यवस्थापन गरिरहेको बताउने गीता कार्की भन्नुहुन्छ, ‘एउटै कोठामा बस्ने मान्छेलाई त समस्या होला तर, अलिकति घर कम्पाउण्ड हुनेहरुले भने कुहिने र नकुहिने भनेर छुट्याएर बोरामा हालेर राख्ने हो भने पनि हप्ता दश दिन त म्यानेज गर्न सकिन्छ ।’ 

कार्कीसँग फोहर व्यवस्थापनको अर्को सुत्र पनि छ त्यो हो कौसी खेतीका लागि अर्गानिक मल तयार गर्ने । उहाँ भन्नुहुन्छ, ‘आफूले नै कौसी खेती गरेर तरकारी फलाउँदा त्यसले केही केही खर्च कम हुन्छ र केही न केही आयात घटाउने काम पनि गर्छ । नभए पनि मल नै बेच्न पनि सकिन्छ ।’

पछिल्लो समय काठमाण्डौ उपत्यकामा कौसी खेती राम्रो फस्टाएको छ । हेर्दा सामान्य लागे पनि यसले एउटा परिवारलाई आफूलाई खान पुग्ने तरकारी उत्पादन हुने अनि खर्च पनि जोगिने देखिन्छ । ताजा तरकारी पनि खान पाइने अनि अहिले जटिल भइरहेको फोहरमैला पनि सजिलै व्यवस्थापन गर्न सकिने हुँदा नागरिकको चासो कौसी खेतीमा बढेकोसमेत पाइन्छ ।

कपन बस्दै आउनु भएका तथा बागबजारमा पुस्तक पसल चलाइरहनु भएका छत्रनाथ मैनाली भन्नुहुन्छ, ‘कपनमा पनि फोहरको समस्या नभएको त होइन तर, त्यहाँ भने नगरपालिकाले कौसी खेतीका लागि बिउ दिने मल बनाउन भाँडो पनि दिने हुनाले केही न केही कम भएकै छ ।’

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया