बञ्चरेडाँडामा अवरोध कायमै, आज पनि प्रहरी लगाएरै फोहोर फाल्ने तयारी

 भदौ १, २०७९ बुधबार ८:४२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ । हिजो जस्तै आज पनि अवरोधकैबीच प्रहरीको बलमा फोहोर फाल्ने तयारी भैरहेको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोधका कारण हिजो फोहोर बोकेका केही गाडी बाटोमै रोकिएका थिए  । बाटोमै रोकिएका ती गाडीलाई आज प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडामा पुर्‍याइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । तर स्थानीयबासिन्दाको अवरोध रहेकाले फोहोरका गाडीलाई बञ्चरेडाँडासम्म पुर्‍याउन चुनौती छ ।

हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा परेर त्यहाँका कमल तामाङ घाइते हुनुभएको छ । उहाँको अहिले काठमाण्डौमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सडक मर्मतको काम पूरा नगरी फोहाेर लैजान थालिएको र फोहाेर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयबासिन्दाले आन्दोलन गरेका हुन् ।

फोहोर र त्यसबाट निस्कने लिच्चडले गाउँ नै दुर्गन्धित पारेको वडा अध्यक्ष तामाङले बताउनुभयो । यसअघि लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको तामाङले बताउनुभयो । स्थानीयबासिन्दाको अवरोधकै बीच हिजो काठमाण्डौ महानगरपालिकाले १ सय ९० वटा गाडीलाई बञ्चेडाँडा पुर्‍याइएको थियो । स्थानीयबासिन्दाले अवरोध नगरे आज २ सय ५० वटा गाडी बञ्चरेडाँडामा पुर्‍याउने तयारी छ । लामो समयदेखि फोहोर नउठ्दा काठमाण्डौ उपत्यकामा दुर्गन्ध फैलिन थालेको छ । 
 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया