निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

 भदौ १, २०७९ बुधबार ९:४४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई धनुषाबाट हिजो बेलुका पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभएको छ ।

महोत्तरीकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आउनुभएको छ । राजपुतले डीएनए जाँचको मुख्य माग राख्नुभएको छ । यसअघि बलात्कारको आरोपमा धनुषा जिल्ला अदालतले युवकलाई सफाइ दिएको भन्दै न्यायाधीश र आरोपित युवकलाई सजाय हुनुपर्ने माग राख्दै निहारिकाले लामो समयदेखि आन्दोलन गर्दै आउनुभएको छ ।

गएको शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि उहाँलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । अहिले पनि उहाँ महाराजगञ्जमै उपचारकै क्रममा हुनुहुन्छ । यो घटनापछि राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ । यसअघि उहाँ गएको जेठ २७ देखि माइतीघर र वसन्तपुरमा धर्ना र अनसन बस्नुभएको थियो । गएको असार ३ गते माग पूरा गर्ने प्रतिबद्धतासहित गृहमन्त्री बालकृष्ण खाणले अनसन तोडाउनुभएको थियो ।

सहमतिपत्रमा आरोपित व्यक्ति र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने र अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएपछि उहाँले फेरि अनसन सुरु गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया