अवैध संरचना त भत्किए तर फोहर सफा गर्ने कस्ले ?

 भदौ ११, २०७९ शनिबार ९:१:१७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

चाबहिल बस्ने रमा पाण्डे काठमाण्डौ मल अगाडि सुन्धारामा गाडी कुरिरहनु भएको छ । गाडी आए पनि भिड भएर चढ्न नसक्दा उहाँ उभिएको करिब आधा घण्टा भयो । न्युरोड गएर किनमेल गरेर आउनु भएकी उहाँ काठमाण्डौ मल अगाडिको सडक पेटीमा रहेको टायल, काठ, सिसाका टुक्रा हेरेर अब यो सफा चाहिँ कस्ले गर्ने हो भनेर प्रश्न गरिरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘महानगरले अवैध भनेर भत्काउन त भत्कायो तर अब सफा चाहिँ कस्ले गर्ने हो ? त्यो पनि व्यवस्था गरिदिए राम्रो । हुन्थ्यो । हामी जस्ता सडक पेटीबाट हिँड्नु पर्ने पैदल यात्रीको खुट्टा मर्किएला भन्ने डर भयो ।’

गाडी कुर्ने र दैनिक मान्छेको आउजाउ गर्ने मुख्य सडक पेटी भएका कारण सुन्धारा सधैँ भिडभाड हुने गर्छ । अझ त्यसमा साँघुरो पेटी यात्रुको चापले ठेलमठेल हुने सुन्धाराको सडक पेटीमा काठमाण्डौ मल भत्काएको फोहर र टुक्राटाक्रीले पैदल यात्रुका लागि अझ कष्टकर बनेको छ । 

काठमाण्डौ मलको तल्लो तलामा पसल गर्ने राजन भट्टराई मलको बाहिरपट्टि आफ्ना केही साथीहरुसँग गफिँदै हुनुहुन्छ । बिहीवारदेखि उहाँहरुले पसल खोल्न पाउनु भएको छैन । महानगरले तल्लो तला सबै पार्किङ बनाउनुपर्छ भनेका कारण उहाँहरुले पसल खोल्न नपाउनु भएको हो । मलको व्यवस्थापन पक्ष र महानगरबीच यसका विषयमा छलफल चलिरहेको छ । भट्टराई भन्नुहुन्छ, ‘यहाँ पार्किङ छ तर महानगरले तल्लो तला सबै पार्किङका लागि खुला गर्नुपर्छ भनेका कारण पसल नखोल्नु भनेको छ भन्ने कुरो आएको छ व्यवस्थापन पक्षबाट । दशैँ आइसक्यो मर्का भने हामीलाई परेको छ ।’

मलको बाहिर सडक पेटीमा रहेको फोहरबारे उहाँ भन्नुहुन्छ, ‘महानगरले फोहर सम्बन्धित घरबेटीले नै सफा गर्नुपर्छ भनेको छ । हेरौँ अब कस्ले गर्छ । तर, अहिलेको यो पसल खोल्ने नखोल्ने विवाद मिल्यो भने यो त सफा होला । यो के ठूलो कुरो रह्यो र ।’

काठमाण्डौ महानगरले अवैध संरचना भत्काएको न्युरोडको आरबी कम्प्लेक्समा पनि भत्किएका संरचनाको अवशेष असरल्ल छ । यहाँको यो फाेहर पनि कस्ले सफा गर्ने भन्ने अन्योल छ । तर, यहाँका अवशेष धेरै कबाडीमा बिक्री हुने अवस्थाको रहेको हुनाले त्यति समस्या देखिँदैन । 

भत्किएको अवशेष अगाडि पसल गर्दै आउनु भएका आरबी कम्प्लेक्सका व्यापारी सुरज सिंह भन्नुहुन्छ, ‘खोइ अहिलेसम्म कसले सफा गर्ने भनेर नभने पनि महानगरले आएर त के सफा गर्ला र । यहाँकै मान्छेहरुले गर्नुपर्ला नि । त्यसमाथि महानगरले जस्को हो उसैले सफा गर्नुपर्छ भनेको छ ।’

मेयर बालेन शाह आफैँले ड्रिल गरेर केही भत्काएको बानेश्वर रेष्टुरेन्ट भने सम्बन्धित घर धनी आफैँले भत्काउन लगाएका छन् । भत्किएर निस्किएका फाेहरहरु बोरा बोरामा राखेर गाडीमा हाल्दै गरेका मिन बहादुर तामाङ भन्नुहुन्छ, ‘साहुजी बिहान आएर यो सबै भत्काएर निस्केको फाेहर सफा गर्नु भन्नु भएको हो । त्यही भएर अहिले भत्काएको फाेहर बोरामा हालेर टाटा मोबाइलमा हालेको हो ।’

अल्फा बिटा भवनको फाेहर भने सञ्चालकले नै व्यवस्थापन गरेका छन् । बाहिरपट्टिको फोहर भवनको पश्चिमतिर तह लगाइएको छ । घरबेटी आफैँले छिट्टै व्यवस्थापन गरेका कारण त्यहाँ असरल्ल परेको फाेहर देखिँदैन । 

सडक पेटीमा बसेर काम गर्दै गरेको हेरिरहनु भएका सञ्जय काफ्ले भन्नुहुन्छ, ‘अस्ति भत्काएको दिनमा त अलि फोहर असरल्ल थियो । तर, अहिले हेर्दा त भत्काएको नभत्काएको नै थाहा नहुने भइसक्यो । आफैँले गरेर छिटै काम गरे ।’

काठमाण्डौ महानगरपालिकाले भत्काएका अवैध संरचनाको सरसफाइ सम्बन्धित घरबेटीले नै गर्नुपर्ने जनाएको छ । साथै महानगरले अवैध संरचना भत्काएका कारण नोक्सानीमा परेका पसल थाप्ने वा अन्य व्यापारिक क्रियाकलाप गर्ने व्यापारीलाई सम्बन्धित घर धनीले नै क्षतिपूर्ति दिनुपर्ने र त्यसका लागि महानगरलेसमेत पहल गरिदिने जनाएको छ । 

महानगरले अवैध संरचना भत्काउने तथ नक्सा पास विपरीतका क्रियाकलापमा कारबाही थालेपछि सम्बन्धित पक्षबाट आफैँ खाली गर्ने र महानगरलाई सहयोग गर्ने गरेको पनि देखिन्छ । राहदानी विभागमा महानगरको टोली पुगेपछि विभागले सूचना प्रकाशित गरेर अब सेवाग्राहीका लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएको बेसमेन्टमा सेवाग्राहीको गाडी पार्किङ गर्ने जनाएको छ । 

विभागले पार्किङको लागि प्रयोग गर्नुपर्ने बेसमेन्टलाई सेवाग्राहीको लागि होल्डिङ सेन्टरको रुपमा प्रयोग गर्दै आएको थियो । विभागमा पुगेको महानगरको टोलीले बेसमेन्टमा राखिएका कुर्सीहरु हटाएको थियो। 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया