नागरिकता दिन एमाले बाधक भयाे भनेर गठबन्धनले भ्रम फैलाउन खाेज्याे : अध्यक्ष ‌ओली

 भदौ १२, २०७९ आइतबार १७:२१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई एमालेले मार्छ भनेर भ्रम छरेजस्तै अहिले पनि नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैलाउने कोसिस सत्तारूढ दलहरूले गरिरहेको भन्दै अध्यक्ष ओलीले त्यसको खण्डन गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । 

आज बिहीवार केन्द्रीय निर्वाचन परिचालन कमिटीकाे बैठकमा बाेल्दै उहाँले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने काम किन अल्झाएर राखेको ? भन्दै सरकारलाई प्रश्नसमेत गर्नुभयो । नेकपा एमाले नागरिककाे हरेक समस्या समाधान गर्दै आएको र गर्ने पार्टी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले नागरिकताको समस्या स्थायी रूपमा समाधान गर्न आफ्नो पार्टीले चाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले जनताको हरेक समस्या समाधान गर्न चाहन्छ । एमाले नागरिकताको समस्या स्थायी रूपमा समाधान होस् भन्ने चाहन्छ । अनि एमालेकै विरुद्ध अहिले पनि भ्रम फिँजाउन खोज्ने ? पहिले–पहिले जस्तै ६० वर्षभन्दा माथिकालाई एमालेले गोली हानेर मार्छ भनेर गाउँमा कुँदेजस्तै अहिले फेरि अर्को खालको भ्रम फिँजाउन खोज्ने ? त्यस कारण सरकारको काम हो– जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता देऊ । किन अल्झाएर राख्ने ? तर संसदीय प्रक्रिया त हुन्छ नि । अनि संसदीय प्रक्रिया मिच्नका लागि एमाले बाधक भयाे भनेर बहाना बनाउने ? त्यस कारण अहिलेको गठबन्धनको यस्ता कपटपूर्ण खालको दुष्प्रचारहरूकाे हामीले जोडदार खण्डन गर्नुपर्दछ ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले आउँदाे प्रदेश सभा र प्रतिनिधि सभा चुनाव जित्नैपर्ने दोहोर्‍याउनुभयाे । देशकाे हितको रक्षा र सम्मानका लागि, राष्ट्रियताको रक्षा र संवर्द्धनका लागि, देशको स्वाधीनताको सही ढङ्गले प्रयोग गर्नका लागि एमालेले आउँदाे चुनावमा बहुमत ल्याएर सरकार बनाउनुपर्ने उहाँको तर्क थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया