दशैँको मुखमा इन्धनको मूल्यवृद्धिले नागरिक मर्कामा

 भदौ १८, २०७९ शनिबार १३:८:४० | वैद्यनाथ पाैडेल
unn.prixa.net

भक्तपुरका शान्तराम प्रजाले गाडी चलाउन थालेको झण्डै १० वर्ष भयो । बागबजार– भक्तपुर रुटमा गाडी चलाउँदै आउनु भएका प्रजा आफूले गएको ३/४ वर्षमा जतिको इन्धनको मूल्यवृद्धि कहिल्यै नदेखेको बताउनुहुन्छ । प्रजा भन्नुहुन्छ, ‘पेट्रोल/डिजलको भाउ किन बढेको बढ्यै गरेको हो केही थाहा भएन । घट्ने नामै छैन । सधैँ बढेको बढ्यै ।’

डिजलको भाउ बढेपछि सामान्यतया ढुवानी खर्च बढ्न जाँदा सबै उपभोग्य वस्तुको भाउ बढ्न जान्छ । अझ त्यसमा गाडी भाडा पनि बढ्न जाँदा नागरिकको दैनिक यातायात खर्चदेखि उपभोग्य वस्तुमा हुने खर्च पनि बढ्न जान्छ । मूल्यवृद्धिको मार खेपिरहेका नागरिकलाई अहिले इन्धनमा भएको मूल्यवृद्धिले जीवन झन सकस बनाएको छ ।
 
अहिले आयल निगमले डिजलमा गरेको मूल्यवृद्धिले आफूहरुलाई भाडा लिन अप्ठ्यारो परेको गुनासो छ प्रजाको । उहाँ भन्नुहुन्छ, ‘लिटरमा ६ रुपैयाँ बढाउनु भनेको थोरै पैसा होइन । हेर्दा बढेको मूल्य अनुसारको भाडा लिने त हो नि भने जस्तो लागे पनि यात्रुलाई पनि भाडा कति बढाइरहने भन्ने जस्तो हुन्छ हामीलाई ।’

नेपाल आयल निगमले शुक्रबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो ।

लगनखेल – चापागाउँ रुटमा बस चलाउने सुमन देसार आफू बिहान डिजल हाल्न जाँदा एकैपटक  ६ रुपैयाँ बढेको थाहा पाएपछि तेल हाल्नु कि नहाल्नु भएको बताउनुहुन्छ । उहाँको आक्रोश छ, ‘होइन यो तेलको भाउ कति बढाइराको भन्या । हामीले पनि त गरिखानु पर्छ । एकछिन गाडी चलाए पनि हाम्रा पनि जहान केटाकेटी छन् । यसरी मूल्य बढिरहे कसरी घर चलाउने ।’

देसार अगाडि थप्नुहुन्छ, ‘यसरी सधैँ भाउ बढाइरहने हो भने अब आन्दोलन गर्नुपर्छ । जनताले गाडी चढ्ने पैसा चाहिँ कहाँबाट ल्याउँछन् हो यसरी बढिरहे ।’

चापागाउँबाट बस चढेर लगनखेलमा झर्दै गर्नु भएकी सन्जु आचार्य भन्नुहुन्छ, ‘अहिलेसम्म त गाडी भाडा बढेको छैन । अब कहिलेदेखि बढाउलान नि । भाडा बढाउन निहुँ चाहिएर बसेका हुन्छन् । दशैँको मुखमा अब बढाउलान नि । के छोड्थे ।’

आयल निगमले डिजलको मूल्यवृद्धि गरेकोमा आपत्ति प्रकट गर्नुहुन्छ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला । उहाँ भन्नुहुन्छ, ‘गाडी भाडा त स्वचालित प्रणालीमा आधारित छ बढ्दा बढ्छ । घट्दा घट्छ । तर, बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिका नाममा लुट मचिरहेको छ । महँगी अनियन्त्रित छ । त्यो कहाँ गएर टुंगिने हो थाहा छैन ।’
 
आयल निगमले स्वचालित मूल्य प्रणाली भने पनि राति, बिहान जुनसुकै बेलामा बढाउने तथा घटाउने गरेकोमा उहाँ झनै आक्रोशित देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी नागरिक पनि भएका कारण सरकारले यत्रो चाडको मुखमा एक डेढ महिना हेर्नुपथ्र्यो । तर, त्यसो भएन । दशैँको मुखमा मूल्य वृद्धि गर्दा सरकार नागरिकप्रति उत्तरदायी देखिएन ।’

सिटौला भन्नुहुन्छ, ‘हामीले सरकारलाई कर घटाउन पटक पटक अनुरोध गरेका छौँ । अहिले पनि सरकारले लिएको ५६/६० रुपैयाँ कर लिएको छ त्यसलाई मात्र घटाउने हो भने जनतालाई राहत हुन्छ नि ।’

मूल्य घटाउने कुरामा यसअघि आयल निगमले स्वचालित मूल्य प्रणाली अर्थात भारतीय आयल कर्पोरेशनसँग इन्धन खरिद गर्दा मूल्य बढेर आउँदा बढ्ने र घटेर आउँदा स्वतः घट्ने कारण घटाउन नसकिने बताउँदै आएको थियो । तर, यसअघि तीनपटक मूल्य घटेर आउँदा पनि निगमले मूल्य घटाएको थिएन । अहिले बढेर आउनेबित्तिकै बढाउँदा उपभोक्ता आक्रोशित भएका छन् । 

आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय निगमले करिब एक÷डेढ वर्षअघिदेखि नै स्वचालित मूल्य प्रणाली नअपनाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘झण्डै मासिक १० अर्ब रुपैयाँ घाटामा रहेको निगमले यसअघि मूल्य घटेर आए पनि घटाउन सक्ने कुरै भएन ।’

उपाध्यायका अनुसार पछिल्लो समय निगमको घाटा घटेर मासिक ६१ करोड रुपैयाँ भएको थियो । तर, भारतीय आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो दर अनुसार मूल्य समायोजन नगरेको भए निगमको घाटा बढेर मासिक एक अर्ब रुपैयाँ पुग्ने भएका कारण पनि मूल्य बढाउनु परेको उपाध्यायको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘मूल्य समायोजन गरेर डिजलको भाउ ६ रुपैयाँ नबढाएको भए अहिले निगमको मासिक घाटा एक अर्ब रुपैयाँ पुग्थ्यो ।’

निगम लामो समयदेखि घाटामा रहेका कारण अहिले नै मूल्य घटाउने बारेमा सोच्न नसकिने भनाइ छ उपाध्यायको । उपाध्यायका अनुसार अहिले पनि निगमले भारतीय आयल कर्पोरेशनलाई २१ अर्ब रुपैयाँ बुझाउन बाँकी छ । त्यसमा नेपाल सरकारले उपलब्ध गराएको ७ अर्ब रुपैयाँ ऋण, निगमको जग्गा धितोमा राखेर लिएको ३ अर्ब रुपैयाँ ऋण पनि बाँकी छ । यसरी झण्डै ३१ अर्ब रुपैयाँ ऋणमा रहेको निगमले अहिले मूल्य समायोजन नगर्दा ऋणभार झनै थपिने भएकोले पनि मूल्य बढाउनु बाध्यता रहेको उपाध्यायको भनाइ छ ।
 

अन्तिम अपडेट: चैत २६, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया