महानगरको नजरपछि फेरिएको असन

 भदौ २८, २०७९ मंगलबार १०:५६:३१ | वैद्यनाथ पाैडेल
unn.prixa.net

बागबजारकी मीना श्रेष्ठको किनमेल गर्न आइरहने ठाउँ हो असन । प्रायः टिमुर, मरिच, बिरेनुन जस्ता परम्परागत तथा अन्य काजु, बदाम र यस्ता मसलालगायतका सामान किन्न श्रेष्ठ असन आइरहनुहुन्छ । सधैँ आइरहने र नजिकैको ठाउँ भए पनि श्रेष्ठलाई यसपटक असन किनमेलका लागि सहज र रमाइलो लागेको छ । श्रेष्ठ भन्नुहुन्छ, ‘असन त सधैँ आएकै हो तर, यसपटक आउँदा भने आनन्द लाग्यो । वर्षौँदेखिको फुटपाथ पसल हटेर किनमेल गर्न सजिलो भएको छ । देख्दा पनि अलि व्यवस्थित र राम्रो देखिएको छ ।’
 

सधैँ व्यस्त र भिडभाड रहने असनमा अहिले पनि भिड त घटेको छैन । तर, पैदल यात्रु र किनमेल गर्न आउने ग्राहकका लागि भने होलो, खुकुलो र सहज बनेको छ । काठमाण्डौ महानगरले अनधिकृत संरचना हटाउने र फुटपाथ पसल निषेध गरेपछि असनको यो स्वरुप देखिएको हो । 

असन चोकमा पुस्तौँदेखि भाइमसलाको व्यापार गरिरहनु भएका योगेश्वर मुल्मी पनि महानगरको फुटपाथ पसल हटाउने यो कदमले खुसी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फुटपाथ पसलले गर्दा हामीकहाँ आउन लागेको ग्राहक पनि अनावश्यक भिडभाडले आउन नसक्ने अवस्था थियो ।’

उहाँ अगाडि थप्नुहुन्छ, ‘ग्राहक आइ हाले पनि हतार हतार किनमेल गरेर जानु पर्दा ग्राहकले किन्न आएको सामान बिर्सने । कहिले किनेको सामान नै बिर्सने हुँदा ग्राहक आउन नै झण्झट मान्ने हुन्थ्यो । अब सुधार आएको छ हेर्दा पनि राम्रो देखिएको छ । विशेषगरी पैदलयात्रीलाई एकदमै सहज भएको छ । 

फुटपाथ पसल हटेपछि खुसी देखिनु भएका मुल्मी भन्नुहुन्छ, ‘अब त हाम्रो पनि व्यापार बढ्ला भनेर आश गरेका छौँ ।’

असन चोकको मन्दिर वरपर रहने फुटपाथ पसल र दायाँबायाँका पसलेले पसलभन्दा बाहिर सामान बाटोमा राख्ने गर्दा पैदलयात्रीलाई हिँड्न असहज बनेको थियो । र बाहिर सामान झुण्ड्याउँदा सडक कुरुप देखिन्थ्यो । महानगरपालिकाको कदमपछि यी दुवै कुरामा सुधार देखिएको छ । हेर्दा खुला र व्यवस्थित पनि देखिएको छ ।

असन भएर हिँड्दै न्युरोड जान लाग्नु भएका श्याम केसी पनि फुटपाथ पसल हटेर हिँड्न सहज भएकोमा खुसी हुनुहुन्छ । महानगरको यो कदमलाई धन्यवाद दिँदै केसी भन्नुहुन्छ, ‘असन भनेपछि सधैँ भिड हुने ठाउँ नै हो । हुनत अहिले पनि भिड नै छ तर, पनि हिँड्न सजिलो भएको छ । फुटपाथ पसल छैन । यसले धेरै नै सजिलो भएको छ ।’

उहाँ अगाडि भन्नुहुन्छ, ‘फुटपाथ पसल हटेर हिँड्न धेरै नै सजिलो भएको हो । अझ यहाँका पसलेले बाहिर सामान निकालेर पनि हिँड्न गाह्रो हुन्थ्यो । अहिले त्यो पनि महानगरले बन्द गराएछ । त्यसले पनि पैदलयात्रीलाई भने निकै नै सजिलो भएको छ ।’

साँघुरो बाटो अनि त्यसमा पनि फुटपाथमा पसल र पसलेले पनि पसल बाहिर सामान निकाल्दा असन साँच्चिकै साँघुरो बनेको थियो । त्यसमा पनि मोटरसाइकल र कहिँलेकाहीँ आउने ट्याक्सी तथा अरु साना गाडीका कारण बटुवालाई कताबाट हिँड्ने र गाडी आउँदा कता पन्छिने भन्ने ठूलै समस्या थियो ।

८/९ वर्षदेखि असनमा जुत्ता पसल गरिरहनु भएका सन्तोष भुजेल असन व्यवस्थित भएकोमा खुसी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘महानगरमा बालेन आएपछि गरेको यो काम राम्रो हो । तर, यो यसरी नै निरन्तर हुन्छ कि हुँदैन भन्नेमा भने शङ्का छ । किनकि पहिले पनि फुटपाथ हटाउने भनियो । केही समय यसो केही गरेजस्तो फेरि उस्तै हुने अवस्था देखियो ।’ 

उहाँ अझ अगाडि थप्नुहुन्छ, ‘हुनत हामीले पनि पसलको अगाडि अलिकति सामान राख्ने गरेका थियौँ । हामीलाई पनि केही नभानभा जस्तो त भाको छ । तर, जे होस यसले असन राम्रो देखिएको छ र व्यवस्थित पनि भएको छ ।’

चाडपर्वमा हुने किनमेलको भिडले मान्छे नै जाम हुने अवस्था पनि हुन्थ्यो असनमा । अझ त्यसमा मोटरसाइकल र ट्याक्सी पनि थपिँदा झनै असहज हुन्थ्यो । महानगरले फुटपाथ व्यवस्थित बनाउने अभियान थालेपछि अहिले भने पैदलयात्रीले निकै राहत महसुस गरेका छन् ।

असन भएर पैदलै इन्द्रचोक जान लाग्नु भएकी सरिता श्रेष्ठ असन इन्द्रचोक क्षेत्रका फुटपाथ पसल हटेर हिँड्न सहज भएकोमा प्रसन्न देखिनुहुन्छ । उहाँ भन्नुुहुन्छ, ‘असनमात्र नभएर इन्द्रचोकको मन्दिर वरपरको फुटपाथ पसल र ट्यासी पार्किङ पनि हटाएको छ महानगरले । यसले असन तथा इन्द्रचोक सफा, राम्रो र हिँड्नलाई पनि सजिलो भएको छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया