'इच्छुमती' ले आफ्नो इच्छाअनुसार बग्न पाउलिन् ?

 भदौ ३१, २०७९ शुक्रबार १६:२४:२८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

बिहीवार हात्तीसारमा रहेको जय नेपाल हलको आँगनमा डोजरले खोतल्दा टुकुचा खोला भेटिएपछि यसबारे चौतर्फी चर्चा भइरहेको छ । इच्छुमतीसमेत भनेर चिनिने टुकुचा खोलालाई पहिलेजस्तै सतहबाट बगेको देख्न पाइएला भन्ने धेरैलाई आशा लागेको छ । तर टुकुचा खोला नै मासेर र पुरेर धेरै भवन र संरचना बनेकाले महानगरपालिकाको अभियानले कत्तिको सार्थकता पाउला भन्ने आशङ्का पनि छ ।

काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार हराएको टुकुचा खोज्ने अभियानले निरन्तरता पाउँछ । उहाँ भन्नुहुन्छ, ‘खोज्दै अगाडि बढ्ने हो, कहाँसम्म पुगिन्छ भन्ने कुरा प्राविधिक कुरा भएकोले अहिले यसै भन्न सकिन्न । अब पुरिएको खोला मापदण्डअनुसार खोल्ने कुरा अगाडि बढ्छ ।’ 

काठमाण्डौका अवैध संरचना हटाएर चर्चामा आउनुभएका मेयर बालेन्द्र शाह पछिल्लो समय टुकुचा खोलाको अतिक्रमण हटाउने कुरामा अध्ययन र गृहकार्यमा लागिरहनु भएको छ । शाह स्वयम् स्ट्रक्चरल इन्जिनियर भएका कारण इन्जिनियरसहितको टिममा रहेर छलफल र अध्ययन गर्दै टुकुचाको अतिक्रमण हटाउने काममा अगाडि बढिरहनु भएको छ । 

बूढानीलकण्ठबाट सुरु भइ भाटभटेनीमा रहेको टुँडालदेवी मन्दिर नजिकदेखि सुरु भएको टुकुचा खोला चिनियाँ दूतावास, गैरीधारा, नारायणहिटी दरबार, हात्तीसार, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सिंहदरबार, थापाथली हुँदै बाग्मतीमा मिसिन्छ । झन्डै पाँच किलोमिटर लामो यस टुकुचा खोलाको धेरैजसाे भाग सहरको मध्य भागमा पर्ने तथा यसमा घर तथा अन्य ठूला–ठूला संरचना बनिसकेको हुनाले पनि अतिक्रमण हटाउन गाह्रो देखिन्छ । साथै अतिक्रमणका कारण खोला कहाँबाट बग्छ भन्ने पनि थाहा छैन ।

महानगरले असोज १२ गते टुकुचा खोला अतिक्रमण गरेर बनाइएका घर/टहरा तथा अन्य संरचना घरधनी आफैँले हटाउनु भनी ३५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद सकिएपछि मेयरको निर्देशनमा वडाध्यक्षसहित नगर प्रहरी टोली टुकुचा खोलाको खोजी कार्यमा लागेको महानगरले जनाएको छ । 

काठमाण्डाै महानगरपालिकाका सहरी सुव्यवस्था विभागका प्रमुख सुरज शाक्यका अनुसार महानगरको टोलीले टुकुचा खोला खोज्ने अभियान जारी राख्ने छ । अहिलेलाई जय नेपाल हलदेखि सुरु भएको अभियान झन्डै चार सय ५० मिटर अगाडि काठमाण्डौ प्लाजासम्म पुग्ने पहिलो अभियान रहेको पनि उहाँले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘खोल्ने काम हिजो हामीले देखाइसक्यौँ । हिजो हामीले अन्दाज गरेर खोल्यौँ । अब खोला खोल्ने कार्य हुन्छ’, खोला खोज्ने काम निरन्तर अगाडि बढिरहने बताउँदै शाक्य अगाडि भन्नुहुन्छ, ‘अब त्यति मात्रै गरेर त के छोड्ने !’

उहाँका अनुसार अहिलेको पहिलो प्राथमिकता भनेको खोला खोल्ने हो । उहाँ भन्नुहुन्छ, ‘खोला खोलिसकेपछि मात्र के कसरी व्यवस्थापन गर्ने भन्ने कुरा विभागले योजना बनाउने र कार्यपालिकाले निर्णय गरेपछि निर्माण कार्य अघि बढ्छ ।’ 

चार मिटर चौडाइको भनिएको यो खोलामा दायाँबायाँ अब फेरि चार/चार मिटर छोडेर महानगरले काेरिडोर बनाउने योजना बनाएको छ । काठमाण्डौको मुख्य सहर भएर बग्ने टुकुचा खोलाको दायाँबायाँको सिमाना धेरै ठाउँमा मिचिएको छ । कतिपय ठाउँमा त खोला कहाँ छ भनेर स्थानीयवासीलाई समेत थाहा छैन । 

अन्तिम अपडेट: बैशाख १, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया