चाेलेन्द्रशम्शेरकी छाेरीकाे गुनासाे : सरकार हाम्राे विरुद्धमा लाग्याे, औषधि पनि ल्याउन दिएन !

 असोज २, २०७९ आइतबार १८:२०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकी छोरी सुनिधिले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली नागरिकसँग आग्रह गर्नुभएको छ । जबराकी छोरी सुनिधिले आफूहरूको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने अधिकार सुरक्षित गर्न पनि नेपाली नागरिकले साथ दिनुपर्ने बताउनुभयो । 

आइतवार दिउँसाे बालुवाटारमा रहेकाे प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उहाँले आफूहरूलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्नसमेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली नागरिककाे साथ चाहिएको बताउनुभयो । देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरूलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली नागरिकबाट ठूलो भरोसा लिएको उहाँकाे भनाइ छ । उहाँले भावविह्वल हुँदै स्कुलमा रहेको बच्चा ल्याउन नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरू सरकारले परिचालन गरेको भन्दै दुःखेसो गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चा लिन स्कुल जानुपर्छ । एउटाले बच्चा लिएर आइराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुपर्‍याे नि । एकदमै अराजकताको पनि पराकाष्ठा भएकाे छ । यो कुरा नेपाली जनताले बुझिदिनुपर्‍याे । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौँ– सब जनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने उठेर आइ दिनुपर्‍याे । हामीहरूलाई नजरबन्दमै राखिएको छ । सन्चो छैन, औषधि लिन जानुपर्‍याे । काम गर्ने मानिस बाहिर हिँडिराखेको बेलामा उनीहरूलाई समातेर लगेर थुनिराखेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हातखुट्टा नै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौँ ? हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनतासँग हो । जनताले के सही हो, के गलत हो छुट्टयाएर, बुझेर आइ दिनुपर्‍याे ।’

सुनिधिका अनुसार स्कुलमा बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ हुनुभएको बुझिएको छ । छोरी सुनिधिका अनुसार उहाँलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउनसमेत नदिएको बताइएको छ ।

निलम्वित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधि सभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज बिहान १० बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गर्नुभएको थियो । तर सरकारले नजरबन्दमा राखेर जान नदिएको परिवारले बताएको छ ।

यता राष्ट्रिय मानव अधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश जबरा र उहाँको परिवारको अवस्थाबारे जानकारी लिन गए पनि त्यसबारे कुनै औपचारिक जानकारी गराएको छैन ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया