दशैँको मुखमा खाने तेलको भाउमा केही राहत, सहुलियत पसलमै छैन मूल्यमा एकरुपता

 असोज ५, २०७९ बुधबार ११:२६:५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

फाइल तस्बिर

खाने तेल आयातमा सरकारले भन्सार शुल्क घटाएपछि खुद्रा बजारमा खाने तेलको मूल्य घट्न थालेको छ । एक महिनाअघिको तुलनामा तेलको मूल्य लिटरमा ५० रुपैयाँसम्मले घटेको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट तथा सरकारले घटाएको भन्सार शुल्कका कारण खाने तेलको मूल्यमा गिरावट देखिन थालेको छ ।

खुद्रा व्यापारी प्रकाश महर्जन तेलको मूल्य घटेको स्वीकार गर्नुहुन्छ । ‘घटेको त हो । तर, संघले भने जस्तो होइन,’ उहाँ भन्नुहुन्छ, ‘आफूले एक महिना अघि ३ सय ७० रुपैयाँमा बेचेको सूर्यमुखी तेल अहिले ३ सय २० रुपैयाँ छ । अरु तेलमा पनि त्यस्तै छ । ३ सय २० मा बेचेको भटमासको तेल अहिले २ सय ७० मा बेच्दैछु ।’

संघका अनुसार औसत बजारमा तेल उद्योगीले तोकेको मूल्य ३ सय रुपैयाँ लिटर थियो तर भन्सार घटेको र अन्तर्राष्ट्रिय मूल्य पनि घटेका कारण २ सय १० रुपैयाँसम्म पनि झरेको छ । तर, संघको यस मूल्यलाई खुद्रा व्यापार संघको मूल्यसूचीसँग दाँज्दा मेल खाँदैन । खुद्रा व्यापार संघको असोजको मूल्यसूची अनुसार तोरीको तेल लिटरको ३ सय ७०, भटमासको तेल २ सय ५५ तथा सूर्यमुखी तेल २ सय ९० रुपैयाँ छ । तर, खुद्रा व्यापार संघको यो मूल्य अनुसार बजारमा खरिद बिक्री नहुने व्यापारी महर्जन बताउनुहुन्छ । 
 
खुद्रा व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ थोक तथा खुद्रा मूल्यमा निश्चित रुपले फरक हुने बताउनुुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मूल्यमा के कस्तो अन्तर छ थाहा छैन । तर, थोक र खुद्रामा केही अन्तर त भइ नै हाल्छ नि ।’

सरकारले असोज १ गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा सञ्चालन गरेको चाडपर्व लक्षित सहुलियत पसलमा भने तोरीको तेल प्रति लिटरकाे २ सय ७५ रुपैयाँ, सनफ्लावर तेल २ सय ८५ रुपैयाँ तथा भटमासको तेल २ सय ४० रुपैयाँ रहेको छ ।  त्यस्तै साल्ट ट्रेडिङ लिमिटेडद्वारा सञ्चालित सहुलियत पसलमा पनि तेलको मूल्यमा भने समानता पाइन्छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अलावा साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले पनि सहुलियत पसल सञ्चालन गरेको छ । कम्पनीद्वारा जावलाखेलमा सञ्चालित सहुलियत पसलमा सनफ्लावर तेल, मासको दाल तथा चिउरा किन्नु भएका कमल श्रेष्ठ यस किसिमको पसल सञ्चालन गर्नुलाई राम्रो मान्नुहुन्छ । तर, उहाँको गुनासो छ, ‘सहुलियत पसल भने पनि यहाँ पनि खास सस्तो भने छैन । सेफ सनफ्लावर तेल बाहिर कति पर्छ थाछैन । बाहिर सोधेको छैन भन्यो । मासको दाल बाहिर पनि १ सय ६० मा दिन्छ । तर यहाँको सफा र राम्रो हुन्छ ।’ उहाँ अगाडि थप्नुहुन्छ, ‘चिउरा भने यहाँ सस्तो छ । बाहिर १ सय ५० रुपैयाँ भन्छ । यहाँ भने १ सय ३५ रुपैयाँ छ ।’

खाद्य तथा साल्ट ट्रेडिङले सञ्चालन गरेका सुपथ मूल्य पसलमा पनि मूल्यमा एकरुपता देखिँदैन । खाद्यमा भन्दा साल्ट ट्रेडिङमा नुन र चिउरा बाहेक अन्य चिज महँगो छ । नुन खाद्यमा २० रुपैयाँ छ भने साल्ट ट्रेडिङमा १८ रुपैयाँ । त्यस्तै तराईं ताइचिन चिउरा खाद्यमा ८५ रुपैयाँ छ भने साल्ट ट्रेडिङमा ८० रुपैयाँ छ ।
 
अन्य चिजमा भने खाद्यमा १ सय १० रुपैयाँ किलो पर्ने बासमती चामल साल्ट ट्रेडिङमा १ सय १४ रुपैयाँ, जिरा मसिनो चामल २५ किलोको खाद्यमा १ हजार ५ सय २५ रुपैयाँ तथा १ हजार ८ सय ४५ साल्ट ट्रेडिङमा, त्यस्तै मुसुरो दाल १ सय ४५ रुपैयाँ तथा १ सय ६० रुपैयाँ, मास दाल १ सय ५५ रुपैयाँ तथा १ सय ६० रुपैयाँ, रहर दाल १ सय ७० रुपैयाँ तथा १ सय ८३ रुपैयाँ, मुंग छाँटा १ सय ६८ रुपैयाँ तथा १ सय ८० रुपैयाँ रहेको छ ।
 
खाद्यको सहुलियत पसल थापाथलीमा चामल तथा दाल किन्न आउनुभएकी रमा श्रेष्ठ भन्नुहुन्छ, ‘चामल तथा दाल भने बाहिरभन्दा सस्तो छ । सफा र राम्रो पनि छ । त्यै भएर आएको । तेल र घ्यूको भाउ भने मैले बुझ्न पाएकी छैन ।’

अन्तिम अपडेट: चैत १६, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया