इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको लिभरपुलसँग साउथह्याम्...
मंसिर १०, २०८१ सोमबार
लमजुङ – सुन्दरबजार नगरपालिका वडा नम्बर २ परेवाडाँडाले रक्सी–जाँड तथा जुवातास नियन्त्रण अभियान सुरु गरेको छ ।
विकृति विसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि यस अभियान थालिएको वडाअध्यक्ष जगतबहादुर खड्काले बताउनुभयो । ‘पछिल्लो समय वडामा रक्सी–जाँड सेवनकै कारण घरेलु तथा महिला हिंसाका घटना बढे । घरपरिवार, समाजमा अशान्ति फैलियो । सामाजिक विकृति–विसंगति न्यूनिकरण गर्दै सभ्य समाज निर्माणका लागि हामीहरुले यस अभियान थालनी गरेका हौँ,’ वडाअध्यक्ष खड्काले भन्नुभयो ।
यस अभियानमा वडालाई स्थानीय तिलक स्मृति युवा क्लब, प्रगतिशिल महिला सञ्जाल लगायत स्थानीयले साथ दिएका छन् । उनीहरुले शनिबार गाउँमा एक सचेतनामुलक र्याली समेत निकालेका छन् । नारासहित देउरालीबाट सुरु भएको र्याली लेकपानी, बडहरे, भुत्याहा, मनकामना टोल, जामुने टोल हुँदै पुनः देउरालीमा नै कोणसभामा परिणत भएको हो ।
र्यालीमा सहभागी भएकाहरुले चर्को घामको बेवास्ता गरी ‘जुवातास र जाँडरक्सी निर्मुल गरौँ, सभ्य समाजको विकास गरौँ,’ ‘घरेलु तथा महिला हिंसा अन्त्य गरौँ, सभ्य समाज निर्माण गरौँ’ लगायतका नारा समेत लगाएका थिए ।
‘गाउँमा केही मान्छेहरु बिहानैदेखी रक्सी खाएर, जुवातास खेलेर पैसा र समयको बर्वादी गरिरहेका छन् । रक्सी पिएर अबेर घर पुग्ने, झैझगडा गर्ने, महिला हिंसा जस्ता घटना घट्ने पनि गरेका छन् । सामाजिक विकृति–विसंगति अन्त्य हुनु जरुरी छ । त्यसैले समाजमा सबैलाई यसबारे सचेतना जगाउने उद्धेश्यका साथ हामीले र्याली पनि निकालेका हौँ,’ उहाँले थप्नुभयो ।
अब वडामा बिहान ५ बजेदेखी साँझ ७ बजेसम्म सार्वजनिक स्थलमा रक्सी किनबेच गर्नुका साथै रक्सी पिउन पाइने छैन । ‘कसैले नियमको उल्लंघन गरे कारबाही हुन्छ,’ उहाँले भन्नुभयो ।
वडाअध्यक्ष खड्काका अनुसार बिहान ५ बजेदेखी साँझ ७ भित्रको समयमा सार्वजनिक स्थलमा रक्सी बेचेको पाइएमा पहिलोपटक बेच्नेलाई ५ सय र पिउनेलाई एक हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
‘तोकिएका यस समयमा एकै व्यक्तिले ३ पटकभन्दा बढी रक्सी पिएको भेटिएमा ५ हजार जरिवाना तोकिएको छ । अझै अटेर गरी नियमको उल्लघंन गरेको पाइए कारबाहीका लागि प्रहरीलाई बुझाइने छ,’ उहाँले जानकारी गराउनुभयो । यस अभियानले समाजमा विकृति–विसंगति न्यूनिकरणमा टेवा पुग्ने स्थानीय शान्ता भुजेलले बताउनुभयो ।
‘रक्सी खाएर, जुवातास खेलेर आउने अनि घरमा महिलाहरुलाई कुटपिट गर्नेजस्ता घटना पनि घट्दै गए । हाम्रो अभियानले पक्कै यस्ता विकृति न्यूनिरकणमा टेवा पुग्ने हाम्रो विश्वास छ,’ र्यालीमा सहभागी हुनुभएकी शान्ताले भन्नुभयो ।
जाँड–रक्सी तथा जुवातास नियन्त्रण अभियानले गाउँमा सुखशान्ति, समृद्धि आउने स्थानीय विन्दु अधिकारीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।