संविधानको संरक्षकले नै संविधान मिच्ने काम गरे : अध्यक्ष प्रचण्ड

 असोज ७, २०७९ शुक्रबार १६:४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले संविधानको संरक्षकबाट संविधान मिचिएको बताउनुभएको छ । 

शुक्रवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताउनुभएको हो । 

उहाँले संरक्षकबाट नै जानिबुझि संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरु खोस्ने षड्यन्त्रको रुपमा रहेको टिप्पणी गर्नुभयो ।

उहाँले देशमा प्रतिगमनको षड्यन्त्र गएकाे वर्षदेखि सुरु भएको उल्लेख गर्दै अहिलेसम्म नरोकिएको बताउनु भयो । आफूहरुले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा रहेको उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘म भन्न चाहन्छु कुरा धेरै गहिरो छ । कुरा धेरै नै गहिरो छ । जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको छ । त्यो रोकिएको छैन । त्यो नयाँ–नयाँ रुपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ । हामीले आफ्नो सतर्कता गुमायौँ भने, हामीले हामी भित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आम किसानहरु, मजदुरहरु, सुकुम्वासीहरु, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुनसक्ने खतरा छ । मैले यो कुरा अमूर्त कुरा गरेको होइन ।’

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणिकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । विधेयक प्रमाणिकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उहाँको भनाइ छ । 

उहाँले प्रतिगमनको फणाहरु उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया