तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
केटाकेटी, युवायुवती अनि बुढाबुढी सबैलाई दशैँ भनेपछि रमाइलो लाग्ने नै भयो । तर, जिम्मेवारी नहुँदा र खेल्ने, खाने अनि रमाइलो गर्ने उमेर भएका कारण पनि केटाकेटीहरु दशैँमा बढी रमाउँछन् । विशेषगरी दशैँमा काम विशेषले घर बाहिर रहेका आफन्त तथा साथीभाइ भेट हुने र सबैजना बसेर सुख, दुःख साट्ने तथा रमाइलो गर्ने भएका कारणले पनि दशैँ विशेष हुनेगर्छ ।
सानोमा आफूले देखेको, भोगेको दशैँ सम्झेर अहिले आठ दशक पार गरेर ज्येष्ठ नागरिक हुँदाको समयमा गाउँघर सम्झेर पुलकित हुनुहुन्छ दुई ज्येष्ठ नागरिक तनहुँका ८४ वर्षीय तेजबहादुर थापा र ललितपुरका ८५ वर्षीय सूर्यबहादुर केसी ।
टपरीमा चिउरा अनि ठूलो डाडुले मासु दुई चौटा हाल्दिन्थे
तेजबहादुर थापा, तनहुँ
हाम्रो पालामा दशैँ, दशैँ भनेर केटाकेटी उफ्रिन्थे । दशैँको दिनमा लत्ताकपडा दौरा, सुरुवाल चाहियो भन्थे । मासु, चिउरा खान पाइन्छ भनेर केटाकेटी त्यसै रमाउँथे । आमाबाउलाई पनि दशैँ आयो, वर्ष दिनको दशैँ अब अर्को वर्ष नभइ दशैँँ आउँदैन भन्ने हिसाबले पहिलेदेखि खसी पालेर राख्थे घरैमा । दशैँको ट्याममा बेसीका बस्तुभाउ गाउँमा लगेर पाल्थे सात दिनको लागि । फूलपातीको दिन लगेर पूर्णिमासम्म राख्थे ।
पहिले पहिले त्यही दिनको टीकामात्र राम्रो भन्थे । हामी भने विजयादशमीको दिनमात्र टीका लगाउँथ्यौँ । हामीलाई फूलपातीको दिन दिनभर गोठालो जानुपर्थ्याे । बेलुका आएर खसी काट्थे । टपरीमा चिउरा अनि ठूलो डाडुले मासु दुई चौटा अनि चिउरा भिज्नु पर्यो भनेर टन्न झोल हाल्थे । सबैले बसेर मिलेर बाँडेर खान्थे । रमाउँथे । खुसीयाली मनाउँथे । गाउँमा पनि सबैले खाने भनेर खसी काट्थे । बाँडेर खान्थे । धार्नी, बिसौलीको चलन थियो । सक्नेले धार्नी लान्थे । नसक्नेले बिसौली लान्थे ।
घटस्थापनाको दिनमा गाईको गोबर ल्याएर लिपपोत गरेर जमरा राख्थे । नुहाइधुवाइ गरेर पूजा गर्थे । मकै, गहुँ, जौ भिजाएर राख्थे । टपरीमा माटो, बालुवा हालेर जमरा राख्थे । बाहिर राख्दा हरियो हुन्छ भनेर गुम्स्याएर राख्थे । आठ दिनका जमरा लगाउन हुँदैन भन्थे । द्वितियाका जून हेरेर जमरा राख्ने भन्थे । एकथरीले हाम्रो महाअष्टमी भन्थे । अरुहरुले हाम्रो महानवमी भन्थे । र, सबैको विजयादशमी भन्थे ।
खसी बलि दिनुहुँदैन भनेर बोका पालेर राख्थे सक्नेले । खसी सजेको भएर हुँदैन भन्थे । नसक्नेले अरुले पालेको भनेर राख्न लगाउँथे । बलि दिने दिन खड्ग राखेर पूजा गर्थे । पूजाआजा गरेर जमरा चढाउँथे । पूजाको सामग्री सबै घण्ट, शङ्ख बजाएर बोकालाई पानी हालेर मनाउँथे । माने पछि ल मान्यो भन्थे । अनि बलि हान्थे । जाने बेलामा न मानेको हो न दुःखी भएको हो कस्ले जान्नु र । कालीका भनेर पहिले राखेको हुन्थ्यो । भित्र कालरात्रि भनेर सधैँ पूजा गर्थे । त्यहाँ लगेर बलि दिएको टाउको चढाउँथे ।
टीका लगाएर त्यो बेलामा पनि पैसा दिने चलन थियो । तामाका पैसा हुन्थे । पाँच पैसे भन्थे । ज्वाइँ, भान्जा, भान्जीलाई पैसा दिन्थे । चार पैसा, आठ पैसा, दश पैसा हुन्थ्यो । चार आना, पाँच आना भन्थे त्यस्तो दिन्थे । धेरै दिनेले चालीस पैसा दक्षिणा दिन्थे । पछि बीचमा गोलो काटिएको चार पैसा निस्कियो । तामाको एक पैसा, दुई पैसा हुन्थ्यो ।
त्यतिखेर चलेको लुगा भनेको घरबनाहरु भन्थे । बुटे भन्थे । छोरी मान्छेलाई कमल पोखरी भन्थे । पटुका भन्थे । लोग्नेमान्छेलाई दौरा सुरुवाल हाल्दिन्थे । आइमाईलाई चोलो, फरिया हाल्दिन्थे । भारतबाट आउनेले देहरादूनबाट साडी ल्याउँथे । एउटा साडीको तीन रुपैयाँ पर्थ्याे ।
आफू भारतीय सैनिक भएको हुनाले फौजमा पनि दशैँ मनाउँथे । कम्पनी, प्लाटुन तथा बटालिएन हुन्थ्यो । कोतपूजा गर्थे । सबै हतियार लगेर पूजा गर्थे । बाजा बजाउँथे । ब्याण्ड बाजा हुन्थ्यो र सलामी दिनुपर्छ भनेर आठ/दश जनालाई तालिम दिएर राख्थे । रबरको नक्कली गोली हालेर बडाइँ दिन्थे । सप्लाइबाट कम्पनीमा खसी आउँथ्यो । अनि एउटा कम्पनीमा पाँच/छ वटा ठूल्ठूला खसी काटेर ठूलो ४५ इन्चको भड्डुमा मासु पकाउँथे । एक/एक डाडु झोल, चौटा खान्थे । भव्य रुपमा दशैँ मनाउँथे । अहिले भने परिस्थिति अलि बदली हुँदै गएको छ । खानपिनको तरिका पनि अर्कै ढङ्गले लिन्छन् । अहिले मासु सधैँ खाइरहेको त हो नि दशैँमै के खानु भन्छन् ।
पोगटी रङ्गको पहेँलो पहेँलो भोटो सुरुवाल हाल्दिन्थे
सूर्यबहादुर केसी, ललितपुर
हामी त्यसबेला दशैँ आउनु पन्ध्र दिन अगाडि रातोमाटो र कमेरोले लिपपोत गर्थ्याैँ। आमाहरु दशैँमा घर पोत्नका लागि रातोमाटो लिन भनेर माटोखानीमा जानुहुन्थ्यो । सेतो कमेरो पनि ल्याउँथे । अनि घरको माथि पट्टिको भाग रातोमाटोले पोत्थे भने तल सेतो कमेरोले पोत्थे ।
दशैँमा नयाँ लुगा हालिन्थ्यो । वर्षभरिको लागि त्यही नै लुगा हुन्थ्यो । तीन मोहर भयो भने सम्पूर्ण पुग्थ्यो हामीलाई । हामीलाई सुती कपडाको भोटो सुरुवाल हाल्दिन्थे । पोगटी रङ्ग भन्ने पहेँलो पहेँलो रङ्गको भोटो सुरुवाल हाल्दिन्थे ।
त्यसबेला हामीसँग त दौरा भए सुरुवाल अर्कै हुन्थ्यो । सुरुवाल भए दौरा अर्कै हुन्थ्यो । गाई गोठाला गइन्थ्यो । दशैँलाई भनेर खसी पालिन्थ्यो । भेडा पालिन्थ्यो । खसी, बोका कसैकोमा छैन भने उधारो दिएर पनि दशैँ मनाउन सहयोग गर्ने चलन थियो । लट्टाई लिएर चङ्गा उडाउँदै हिँडिन्थ्यो । चङ्गा लडाउन भनेर अर्को अर्को गाउँमा पनि पुगिन्थ्यो । काटिएको चङ्गा लुट्ने चलन थियो । हामी दक्षिणाको पैसाले चङ्गा किन्ने गर्थ्याैँ। चङ्गा लुट्दा कुस्ताकुस्ती पनि पर्थ्याे ।
त्यसबेला पनि टीका लगाएर दक्षिणा दिने चलन थियो । तर, पैसा भने ज्यादै नै कम । टीका लगाएर दुई पैसा, तीन पैसा, पाँच पैसा दिने चलन थियो । अझ कतिको त दक्षिणा दिने चलन नै थिएन । हामीकहाँ ब्राह्मण आउनुहुन्थ्यो जमरा राख्न । उहाँले पूजापाठ गरेर जमरा राख्नुहुन्थ्यो । सकभर हावा, घाम नछिर्ने अँध्यारो कोठामा जमरा राखिन्थ्यो । त्यसबेला जौ र मकै मिसाएर जमरा राखिन्थ्यो । गहुँको जमरा राख्ने चलन थिएन ।
हामीकहाँ अष्टमीको दिन जून अस्ताएपछि कालरात्रि गर्ने चलन थियो । कालरात्रिमा प्राय कालो बोका काट्ने चलन थियो । घरमा टीका लगाएर मामाघर गइन्थ्यो । मामाघर जाँदा एक सुका दक्षिणा पाइन्छ भनेर हामी मामाघर जान्थ्यौँ । भक्तपुर मामाघर हिँडेरै जानुपर्थ्याे । गाडी थिएन । हामी हरिसिद्धि हुँदै लुभु भएर हिँडेर जान्थ्याैँ ।
हाम्रो गाउँमा लिङ्गे पिङ हाल्ने चलन थियो । ठूला मान्छेहरुले बाँस काटेर ल्याएर खाल्डो खनेर बाँस गाड्थे । गाडेको दुई-दुई वटा बाँसको टुप्पो बाँधिन्थ्यो । र चार वटा बाँसको दुई वटा टुप्पोमा काठको गरालो बाँधिन्थ्यो । पिङ बाँगो मच्चिएला भनेर गाउँको जन्ने मान्छेलाई गरालो बान्न लगाउँथे । अनि सहरमा आएर डोरी किनेर लगेर पिङ हाल्थे । पिङ खेल्न मारामार हुन्थ्यो । हामी साना मान्छेलाई ठूलाहरुले हप्काएर पिङ खेल्न दिँदैनथे ।
टीका लगाउँदा अलि हुनेको घरमा ब्राह्मण बोलाएर घडा राखेर लगाउने चलन थियो । पहिला ब्राह्मणको हातबाट टीका लगाएपछि मात्र घरको मूल मान्छेका हातबाट टीका लगाइन्थ्यो । टीका लगाउने रोलक्रम अनुसार हुन्थ्यो । घरमा भएको सुन्तला, केरा तथा अम्बा पनि दिने चलन थियो । हुनेहरुले केही पैसा पनि दिन्थे । ज्वाइँचेला आए भने रित्तो हात टीका लगाउनु हुँदैन भनेर एक रुपैयाँको डबल राखेर सलाम गर्ने चलन थियो ।
त्यसबेला अलि धनीको घरमा खसी काट्ने चलन थियो । नहुनेको घरमा भने बोका, भेडा ल्याएर काट्ने चलन थियो । त्यसबेला च्याङ्ग्रा त सबैभन्दा काम नलाग्ने भन्थे । तर, अहिले त सबैभन्दा महँगो छ भन्छन् । भाग लगाएर काट्ने चलन थिएन त्यस बेला । कसैकहाँ खसी काटेन भने फलानोकहाँ त यसपालि खसी काटेन भनेर अलि होच्याउँथे । त्यस्तालाई मेडो भन्थे । मेडो काटेन भन्थे।
मनोरञ्जन भनेर त्यसबेला पनि तास खेल्ने चलन थियो । सत्रै भन्ने खेल खेल्थे । हुनेहरु त जुवा नै खेल्थे । नहुनेहरु तास खेल्थे । गच्छेअनुसार कहाँ गएर कोसँग खेल्ने भन्ने चलन थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।