लाल मोहम्मद हत्या प्रकरण : ३ जना सार्वजनिक, तीनै जना २१ वर्षमुनिका

 असोज १४, २०७९ शुक्रबार १७:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे गोठाटारमा गएकाे असोज ३ गते सर्लाहीका व्यापारी लाल माेहम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । 

आज शुक्रवार प्रहरी परिसर काठमाण्डाैले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाण्डाैकाे गाेठाटारमा गएकाे असोज ३ गते गोली हानी हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ गरेका तीनै जना २१ वर्षमुनिका रहेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताउनुभयो । उहाँले गोली हानी हत्या गर्न सहयोग गर्ने तीन जनामध्ये एक जना महिला रहेको बताउनुभयो । 

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेका एसएसपी बाेहराले बताउनुभयो । पक्राउ पर्नेमध्ये महारम र रेहानले लाल माेहम्मदकाे हत्या गर्नका लागि वीरगञ्जबाट हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको उहाँले जानकारी दिनुभयाे । 

एसएसपी बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भूमिका खेलेको पाइएको जानकारी दिनुभयो । उहाँले पक्राउ परेका व्यक्तिहरूले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको बताउनुभयो । 

एसएसपी बोहराले अहिलेसम्म घटनाको अन्तिम विन्दु कहाँसम्म पुग्छ भन्ने निष्कर्ष ननिस्किएको बताउनुभयो । घटनाकाे वास्तविकतासम्म पुग्न समय लाग्ने उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया