मर्दी ट्रेक चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर ज्यान गयो

 असोज १५, २०७९ शनिबार १६:४०:४ | सागर राज तिमिल्सिना
unn.prixa.net

तनहुँ – पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी ३५ वर्षीय सुदीप गौतमको भीरबाट लडेर ज्यान गएको छ ।

मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रवार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर गाैतमकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ ।

गौतमले हाइक्याम्पमा होटल सञ्चालन गर्दै आउनु भएकाे थियाे । गौतम भीरबाट अन्दाजी ५१ मीटर तल खसेको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

होटल व्यवसायी अर्को एक जना साथीसँग गौतम पानी मर्मत गर्न जानु भएको थियो । लडेर गौतमको टाउकोमा चोट लागेको थियो । घटना लगत्तै नजिक रहेकाहरुले उद्धार गरेर ल्याए पनि उहाँको बाटोमा नै ज्यान गएको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।

गौतमको शवलाई शनिवार बिहान हेलिकप्टरबाट पोखरा ल्याइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

सफल पर्यटन व्यवसायी गौतमले मर्दी हिमाल पदयात्राको प्रचार प्रसार र प्रवर्द्धनमा ठूलो भूमिका खेल्नु भएको थियो ।

गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो । गौतमको परिवारमा बुवा, आमा, श्रीमती एक छोरी र छोरा छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया