म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

 असोज १५, २०७९ शनिबार १९:२२:५८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको हो ।

आसन्न निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारबाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरु सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको म्याग्दीका जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले उद्घाटन गर्नुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको आवश्यक तयारी औपचारिक रुपमा सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनका सबै गतिविधिहरु सञ्चालन गरिने जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनपछि निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा बोल्दै मुख्य निर्वाचन अधिकृत नेपालले आचारसंहिताको पूर्ण रुपमा कार्यान्वयन गरी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने दायित्व राजनीतिक दल, उम्मेदवार, प्रशासन, सुरक्षाकर्मीलगायत सरोकारवाला सबैको भएको बताउनुभयो । आउँदो २३ गते हुने उम्मेदवारी दर्ताको क्रममा उम्मेदवारले आफ्नो सम्पत्ति विवरण भरेर गोप्य खामबन्दी गरी बुझाउनुपर्ने उहाँले जानकारी दिनुभयो ।

राजनीतिक दल र उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समयमा यसपटक भने बाजागाजा र ठूलो जुलुस नगरी बढीमा २५ जना सहभागी हुनुपर्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख एवम् जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताउनुभयो । 

दलहरुले फरक–फरक समय मिलाइ आवश्यक सबै कागजात र प्रक्रिया पुर्याएर उम्मेदवारी दर्ता गर्नुपर्ने तथा निर्वाचन प्रचारप्रसारको कार्यतालिका समेत बुझाउनुपर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना तथा निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो । उनीहरुले आसन्न निर्वाचनलाई म्याग्दी जिल्लामा स्वच्छ, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्ने बताउँदै निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्नुपर्ने र गराउनुपर्नेमा जोड दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्याग्दीमा कुल ८६ हजार १ सय २० जना मतदाता कायम भएका छन् भने तीमध्ये महिला ४४ हजार ६४, पुरुष ४२ हजार ५५ र अन्य १ जना रहेका छन् । 

प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा आसन्न निर्वाचनका लागि ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया