दशैँको परम्परा धानिरहेको एउटा पसल

 असोज १७, २०७९ सोमबार ९:४३:४३ | वैद्यनाथ पाैडेल
unn.prixa.net

लटाईको खात । पसलको भित्र अनि बाहिर पनि लटाई झुण्डिरहेका छन् । कागज अनि प्लास्टिको चङ्गा पनि । चङ्गा उडाउने धागो पनि छ । लटाई पनि धागो सहित तथा रहित छन् । अहिले पुनःनिर्माण हुँदै गरेको पाटनको भीमसेन मन्दिर तथा मङ्गलबजार ठूलो घण्टको दक्षिणमा रहेको सुनिलराज श्रेष्ठको यस पसलले दशैँको परम्परा धानिरहेको छ । अचेल बिरलै देखिने यस्ता पसलमा यो पसल भने नमुना बनेर उभिएको छ मङ्गलबजारमा ।

श्रेष्ठको यो पुस्तैनी व्यापार तथा पसल हो । उहाँका भाइहरु पनि पसल त गर्छन् तर यस्तै चङ्गाको पसल भने होइन । भाइहरुको किराना पसल छ । ‘आफ्नै घर भएको हुनाले मात्र यसरी चङ्गा, लटाई बेचेर बसेको नत्र भाडा तिरेर यस्तो ठाउँमा यो व्यापारले कहाँ बस्न सकिन्छ र,’ श्रेष्ठ भन्नुहुन्छ, ‘पहिलेदेखि बाउ, बाजेले गरेको काम छोराले छोड्यो भनेर भन्ला भनेर पनि यो काम गरिरहेको हो ।’

उहाँलाई आफूपछि यस पसललाई छोराहरुले निरन्तरता नदिनेमा चिन्ता पनि छ । उहाँ भन्नुहुन्छ, ‘यो मेरै लास्ट होला । छोराहरु त बस्दैन पसलमा ।’

उहाँको यस पसलमा पहिले सात जना मान्छे हुन्थे व्यापार गर्नका लागि । उहाँलगायत बाजे, बुबा, दुई जना भाइ र दुई जना काम गर्ने मानिस पनि । यतिका मानिस हुँदा पनि पसलमा धेरै भिड भएर सामान बेलैमा दिएन भनेर मान्छे रिसाएर जान्थे । पहिले उहाँहरुले चङ्गा, लटाईकै थोक व्यापार पनि गर्ने हुनाले घरबाट बहिनीहरुले पनि बेच्थे । तर, अहिले त्यस्तो अवस्था छैन । श्रेष्ठ भन्नुहुन्छ, ‘व्यापार ठिकै छ । अहिले थोरै व्यापार भए पनि महँगी केही बढेकोले चलेको छ ।’

उहाँको पसलका कागज तथा प्लास्टिकको चङ्गाहरु छन् जसको दाम २०,२५ रुपैयाँ ३० पैसा, ३५ रुपैयाँ हेरीहेरी छ । प्लास्टिकको चङ्गा धेरै बच्चाहरुले लैजाने गर्छन् । प्लास्टिकको चङ्गा जुधाउन मिल्दैन र यसमा कार्टुनहरु हुने हुनाले बच्चाहरुले मन पराउने भनाइ छ श्रेष्ठको । उहाँ भन्नुहुन्छ, ‘कागजको चङ्गा एकातिर धेरै उड्छ । चङ्गा त्यति बाठो नहुने हुनाले बच्चाहरुले लैजान्छन् । त्यसमा मोटु, पतलु अनि अरु कार्टुन पनि हुन्छ । त्यै भएर बच्चाहरुले मन पराउँछन् ।’

तर, यसको विपरीत कागजको चङ्गा भने उडाउन जान्ने तथा सौखिन मान्छेहरुले लैजाने गर्छन् । कागजको चङ्गा विशेषगरी चङ्गा लडाएर रमाइलो गर्न लैजाने हुन्छ । ‘कागजको चङ्गा दुवैतिर बराबरी उड्ने, हावाको वेग कसरी नियन्त्रण गर्ने भन्ने पनि उडाउनेले जान्नु पर्छ । यसकारण पनि उडाउन नजान्ने र बच्चाहरुले लाने गर्दैनन्,’ श्रेष्ठ भन्नुहुन्छ ।

पहिले पहिले उहाँको पसलमा नेपाली कागज, कपडा अनि चाइनिज चङ्गाहरु पनि हुन्थे । अहिले भने त्यस्ता चङ्गाहरु भने बिक्री नहुने भएर उहाँले राख्ने गर्नु भएको छैन । कपडाका चङ्गाहरु पहिले यहीँ बन्थे । उहाँ भन्नुहुन्छ, ‘त्यस्तो चङ्गा त्यो बेला नै ४ सय पर्थ्याे । गाडीमा आउने धनाढ्यहरुले मात्र त्यस्तो चङ्गा किन्थे । अहिले भने चीनबाट आउँछ ।’

‘पहिले पहिले नेपाली कागजको पनि चङ्गा आउँथ्यो’ सुनिल भन्नुहुन्छ, ‘तर, अहिले नेपाली कागज महँगो भएर अरु चङ्गा ३५ रुपैयाँमा आउँछ भने त्यसको सय रुपैयाँ पर्छ । त्यही भएर नेपाली कागजको चङ्गा आउनै छोड्यो ।’

पहिले पहिले चङ्गा काठको बाकसमा आउँथ्यो र त्यति बिग्रेको हुँदैनथ्यो । तर, अहिले भने कागजको बाकसमा आउने हुनाले धेरै बिग्रेको हुने बताउनुहुन्छ श्रेष्ठ । उहाँ भन्नुहुन्छ, ‘अरुमा राम्रै नाफा छ । तर, चङ्गामा भने खास नाफा छैन । र, महँगो पनि छ । अहिले भन्सार दोब्बर लगाएको छ ।’

उहाँको पसलमा लटाईका किसिम भएजस्तै चङ्गा तथा धागोका पनि विभिन्न किसिम छन् । धागोमा ६ कोड, ९ कोड, १२ कोडका धागोहरु छन् । धागो अनुसार पैसा पनि फरक हुने भइहाल्यो । कुनै एक हजार मिटरको धागोलाई एक हजार २ सय रुपैयाँ पर्छ । कुनै ८ सय ९ सय मिटरको धागोको हेरीहेरी ८ सय, ९ सय अनि एक हजार रुपैयाँ पर्छ । उहाँ भन्नुहुन्छ, ‘मकहाँ ६ सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्मको धागो पाइन्छ ।’

उहाँको पसलमा अहिले १०/१५ किसिमका लटाईहरु पनि छन् । चङ्गा पनि कागज, प्लास्टिक तथा कपडाको चाइनिज चङ्गा पनि छ । श्रेष्ठकहाँ नम्बरका आधारमा नेपालमा बनेका ४ किसिमका लटाई छ । नम्बरको भनेको ४, ५, ६ र ७ दशमलव ४ नम्बरको लटाईको ४ सय ५० रुपैयाँ पर्छ भने ७ नम्बरको एक हजार रुपैयाँ पर्छ ।

उहाँकहाँ भएको लटाई काठमाण्डौको चिकमुगलमा बन्छ । लटाई बनाउनेहरुको पनि यो पुर्ख्याैली पेसा हो । उहाँका अनुसार पहिला कालीमाटी, मैतिदेवी, मङ्गलबजार गरी धेरै ठाउँमा लटाई बनाउनेहरु थिए । तर, अहिले भने धेरै छैनन् । उहाँको धारणा छ, ‘यसलाई सरकारले नै संरक्षण गर्नुपर्थ्याे। अब सरकारले नै नगरेपछि हामीले के गर्न सक्नु ।’

लटाईका बनाउनका लागि मेसिनमा पुँजी धेरै लगानी गर्नुपर्ने अनि केही दिनको व्यापारका लागि धेरै पैसा लगानी किन गर्ने भन्ने सोचका कारण केही बचेका लटाई बनाउनेहरु पनि अब यो पेसाबाट विमुख हुने देख्नुहुन्छ श्रेष्ठ । कारणमा उहाँ भन्नुहुन्छ, ‘एक त काठ महँगो छ । अर्को भनेको एक सिजन मात्र व्यापार हुन्छ । हामीकहाँ दशैँमा आठ/दश दिन हुन्छ । भारतमा भए एउटा स्टेटबाट अर्को स्टेटमा कम्पिटिसन हुन्छ त्यसैले वर्षभरि बिक्छ ।’

व्यापार पहिले पहिले राम्रो हुने भए पनि अहिले पनि नराम्रो नभएको बताउनुहुन्छ श्रेष्ठ । ‘पहिले सस्तो भएका कारण किन्न आउने धेरै हुन्थे । तर, अहिले किन्न आउने कम छन् । पैसा महँगो भएकोले अहिले व्यापार ठिकै छ । अहिले दैनिक आठ/दश हजार रुपैयाँको व्यापार हुन्छ ।’

व्यापारका हिसाबले बल्ल उहाँलाई दशैँ लाग्याे । उहाँ भन्नुहुन्छ, ‘फूलपातीदेखि बल्ल दशैँ लाग्छ हामीलाई । अष्टमी, नवमी, दशमीको बेलामा अलि बिक्री हुन्छ ।’

बिक्रीका हिसाबले पहिले मनोरञ्जनका धेरै साधन नभएकोले चङ्गा धेरै बिक्ने श्रेष्ठको अनुभव छ । ‘पहिले दशैँमा मनोरञ्जनको साधन भनेको चङ्गा उडाउने, तास खेल्ने, रक्सी र मासु खाने आदि थियो त्यही भएर चङ्गा धेरै बिक्थ्यो,’ श्रेष्ठ भन्नुहुन्छ, ‘अहिले भनेको इन्टरटेनमेन्टकाे साधन धेरै छ । त्यही भएर चङ्गाको व्यापार खास छैन । तर, हामीले आफ्नो संंस्कृति भने बचाउनुपर्थ्याे । अब कस्ले बचाउने ?’

संस्कृति बचाउने नाममा पैसा बाहिर पठाउने कुरामा उहाँ सहमत हुनुहुन्न । हामीले आफ्नो देशमा उत्पादन गरेको भए पैसा पनि जोगिने र संस्कृति पनि जोगिने उहाँको विचार छ । उहाँ भन्नुहुन्छ, ‘हामीले संस्कृति त बचाउनु पर्ने हो तर, आफ्नो देशमा उत्पादन गरेर बचाएको भए राम्रो हुन्थ्यो । अहिले संस्कृति बचाउने नाममा हामी बाहिर पैसा पठाइरहेका छौँ ।’

संस्कृति चिनाउन र जोगाउन दशैँका अलावा विदेश जानेले पनि उहाँको पसलबाट चङ्गा, लटाई किनेर लैजाने गर्छन् । तर, त्यो व्यापारले मङ्गलबजारको मुख्य सडकमा व्यापार गरेर बस्न नसकिने उहाँको भोगाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले मेन रोडको भाडा नै ७०/७५ हजार रुपैयाँ भन्छ । अनि आफ्नो घर नभए यस्तो व्यापार गरेर कसरी टिक्नु ।’

जे होस् केही व्यापार, केही पुस्तैनी परम्परा, परम्परालाई नजोगाउँदा कसैले केही भन्छन् कि भन्ने लाजगालले पनि अडिएको छ उहाँको पसल । व्यापार केही कम भए पनि संस्कृति जोगाउन केही टेवा पुग्छ भन्ने एउटा सोचका कारण अहिले पनि पाटन मङ्गलबजारको मुख्य सडकमा चङ्गा, लटाई झुन्ड्याएर ग्राहक पर्खिरहेको छ श्रेष्ठको पसल । 

अन्तिम अपडेट: मंसिर १०, २०७९

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया