बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा पहिरो

 असोज १९, २०७९ बुधबार १८:०:११ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – गए रातिदेखि परेको पानीसँगै पहिरो खसेर म्याग्दी र मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक बन्द भएको छ । बेनी–जोमसोम खण्डको ठाउँ–ठाउँमा पहिरो खसेर सडक बन्द भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।   

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम खण्डअन्तर्गत म्याग्दी खण्डको ठाउँ–ठाउँमा पहिरो खसेको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनुभयो । बेनी–जोमसोम सडक खण्डअन्तर्गत आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेर सडक बन्द भएकाे उहाँले जानकारी दिनुभयो ।   

घुमाउने भिर

म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोला, २ नम्बर वडाको बैंसरी र ३ नम्बर वडाको राहुघाट क्षेत्र तथा अन्नपूर्ण–२, भूरुङ–तातोपानीको नैनीबगर, ३ नम्बर वडा दानाको जलथले, गुइँठे र रुप्से खोलामा पहिरो खसेर सडक बन्द भएको डीएसपी भारतीले बताउनुभयो । अविरल वर्षासँगै सडकभन्दा माथिबाट ढुङ्गा, माटो, ढिस्को र लेदोसहित ढुङ्गाको गेग्रान खसेर सडक खण्ड बन्द भएको छ ।   

अविरल वर्षाको कारणले गर्दा पहिरो खसिरहेको र दशैँकाे समय भएकाले सडक आयोजनाको प्रतिनिधि र कामदार नहुँदा बन्द सडक खुलाउन समस्या भइरहेको छ । दशैँकाे टिकाको अघिल्लो दिनदेखि परेको पानीका कारण बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्ड पूरै हिलाम्मे भएको छ । वर्षासँगै सडक माथिबाट पहिरो खसिरहेकाले आवतजावतमा उच्च जोखिम हुनुका साथै दशैँ मनाउनेहरू सास्ती बेहोर्न बाध्य भएका छन् । यस क्षेत्रमा अहिले पनि पानी परिरहेकाे छ । 

रुप्से खाेला

मुस्ताङमा पनि गए रातिदेखि नै निरन्तर पानी परिरहेकाे छ । वर्षाले बेनी–जोमसोम सडक बन्द हुँदा मुस्ताङमा खाद्यान्न तथा निर्माणका सामग्री ढुवानी गर्न र त्यहाँ उत्पादित स्याउलगायतका फलफूल, आलु, ढकायोसहितका तरकारीजन्य उत्पादन म्याग्दीसहित देशका विभिन्न जिल्लामा ढुवानी गर्नसमेत समस्या भएको छ ।   

यसैगरी पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले बन्द भएको छ । बेनी नगरपालिका–४, तातोपानी र मंगला गाउँपालिका–२, सिमलचौरको सिमानामा पर्ने घुमाउने भिरमा पहिरो खसेर सडक खण्ड बन्द भएको प्रहरीले जनाएको छ । त्यस्तै मालिका गाउँपालिका–६ दरबाङ नजिकै बाङ्गेपहिरो भन्ने ठाउँमा पनि पहिरो खसेर सडक खण्ड बन्द भएको छ । पहिरो खसेर बन्द भएकाे सडक पानी पर्न रोकिएपछि खुलाइने प्रहरीको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया