मुस्ताङ : शीतोष्ण बागवानी विकास केन्द्रमा बाढी पस्दा लाखाैँ मूल्य बराबरकाे तरकारी र फलफूलमा क्षति

 असोज २२, २०७९ शनिबार २०:२७:५८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - वर्षासँगै मार्फाको फारमखोलामा आएको बाढी शीतोष्ण बागवानी विकास केन्द्रमा पस्दा लाखाैँ मूल्य बराबरकाे स्याउ तथा तरकारीमा क्षति पुगेकाे छ । बाढीले शीतोष्ण बागवानी विकास केन्द्रको (बी) र (सी) ब्लकमा क्षति पुर्याएकाे हाे । 

प्राविधिक सहायक भीमसेन भण्डारीले मार्फाको बागवानी विकास केन्द्रको २१ रोपनी क्षेत्रफलको 'बी' ब्लक र 'सी' ब्लकको ३७ दशमलव ५ रोपनी क्षेत्रफलमा लगाइएको बेमौसमी तरकारी र फलफूललगायत बिउबिजनमा बाढी बसेकाे बताउनु भएकाे हाे । 

गएको आर्थिक वर्षमा यस केन्द्रले ब्लक ए, बी, सी र डी मा उत्पादन भएको स्याउलगायत तरकारी तथा अन्य उत्पादन बिक्रीबाट ६९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । चारवटा ब्लकबाट त्यति आम्दानी गरेको बागवानी विकास केन्द्रका दुईवटा ब्लकमा अहिले बाढी पसेर लाखौँ मूल्यको उत्पादन नष्ट भएको केन्द्रले जनाएको छ । ब्लक 'बी' मा पाँच रोपनी क्षेत्रफलमा ओखरको नर्सरी, ११ रोपनी क्षेत्रफलमा स्याउको बगैँचा, तीन रोपनी क्षेत्रफलमा कागजी बदाम र दुई रोपनी क्षेत्रफलमा आवास तथा कुलो र बाटो गरी कुल २१ रोपनी क्षेत्रफल रहेको छ ।

 

यसैगरी 'सी' ब्लकमा अर्गानिक स्याउ चार रोपनी, स्याउ बगैँचा २१ रोपनी, आरु बगैँचा पाँच रोपनी, आरुबखडाको बगैँचा दुई रोपनी, खुर्पानी साढे एक रोपनी, अङ्गुर बगैँचा आधा रोपनी, हेजलनट बगैँचा एक रोपनी र दुई रोपनी क्षेत्रफलमा आवास तथा कुलो र बाटो गरी कुल ३७ दशमलव पाँच रोपनी क्षेत्रफल रहेको छ ।

फारमखोलाको बाढीले स्थानीय गोपाल गौचन, राम परियार, शेषबहादुर गौचन, गोपाल गौचन, विमल लालचन र दीपक लालचनको स्याउ बगानमा क्षति पुगेको छ । स्थानीय छ जना कृषकको २५ रोपनी क्षेत्रफलको स्याउ बगानमा बाढीले क्षति पुर्याएको हो । घरपझोङ गाउँपालिका–२ बाट १ नम्बर वडामा जाने कालीगण्डकी नदीमाथिको झोलुङ्गे पुल पनि फारमखोलाले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार तामाङका अनुसार बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङ खण्डमा सडक अवरुद्ध हुँदा पर्यटकहरुलाई सास्ती भएको छ । मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्रको मार्फा नजिकै सडक अवरुद्ध भएको छ । त्यस्तै मार्फा र टुकुचेको बीचमा, कोबाङको खन्ती क्षेत्रमा समेत सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक तामाङले बताउनुभयो ।

प्रहरी निरीक्षक तामाङका अनुसार जोमसोम–कोरला सडक खण्ड पनि धेरै ठाउँमा पहिरो खसेर अवरुद्ध भएको छ । बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत दर्जनभन्दा बढी ठाउँमा बाढी पहिरो र नदी कटानको कारण यातायात सञ्चालन हुन नसक्दा दशैँअघि मुस्ताङ पुगेका पर्यटकहरु मुस्ताङमै रोकिन बाध्य भएका छन् । पैदलै भए पनि जोखिम मोलेर हिँड्नेबाहेक अन्य यातायातको साधनहरु नचल्दा यात्रुलाई सास्ती भएको हो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया