चुनावी मैदानमा शीर्ष नेता : देउवा, ओली, प्रचण्ड, नेपाल र पौडेलको अवस्था कस्तो ?

 असोज २७, २०७९ बिहिबार ८:२:४९ | वैद्यनाथ पाैडेल
unn.prixa.net

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाउनु भएको छ ।

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा - २ रोज्नुभएको छ । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले रौतहट-१ बाट उम्मेदवारी दिनुभएकाे छ । 

शीर्ष नेताहरुले उम्मेदवारी दिएको क्षेत्रको अवस्था यस्तो छ :

शेरबहादुर देउवा

२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आउनुभएका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले यस पटक पनि डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेसभित्र आन्तरिक द्वन्द्व चर्किएको २०५१ साल, माओवादीले ठूलो प्रभाव पारेको २०६४ सालको चुनाव अनि वाम तालमेल भएको २०७४ सालको चुनावमा पनि एउटै निर्वाचन क्षेत्रबाट लगातार ६ पटक विजयी नेताको कीर्तिमान बनाउनु भएका देउवा यसपटक पनि जित्नेमा निश्चिन्त हुनुहुन्छ ।

२०७४ को पालिका चुनावमा कांग्रेसले ७ मध्ये ४ पालिका र १७ वडामा मात्र जित निकालेको थियो । त्यसबेला एमालेले सदरमुकाम रहेको अमरगढी नगरपालिकामा जित निकालेको थियो । तर, अहिलेको पालिका चुनावमा एमालेले डडेलधुराका कुनै पनि पालिकाको प्रमुख पद जित्न सकेन भने कांग्रेसले अमरगढीसहित पाँच पालिका र २९ वडा अध्यक्ष जितेको छ । बाँकी दुई पालिका र १३ वडा अध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । एमाले ५२ मध्ये ४ वडा अध्यक्षमा सीमित भएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका २, कांग्रेस (वीपी) का २ र स्वतन्त्र २ वडाअध्यक्ष छन् । यसअघि कम्युनिस्टको सहयोग नपाएका देउवा अहिले कम्युनिस्टसहितको गठबन्धनका कारण झन् सहजै चुनाव जित्नेमा ढुक्क हुनुहुन्छ । पालिका चुनावमा अवस्था सुध्रिएका कारण पनि त्यहाँका कांग्रेसको आत्मविश्वास बढेको छ ।

अहिले देउवाको प्रतिस्पर्धी बन्नु भएका कर्ण मल्ल २०७४ को चुनावमा डडेलधुरा (ख) बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो । लामो समय देउवाको स्वकीय सचिव रहनु भएका र दुई पटक डडेलधुरामा कांग्रेसको नेतृत्व गर्नु भएका मल्लको कांग्रेस (वीपी) ले एमालेसँग तालमेल हुँदा पनि पालिका चुनावमा २ वटा वडाध्यक्ष पद मात्रै जितेकोले पनि कांग्रेसीहरु देउवालाई कुनै चुनौती रहेको देख्दैनन् । यस क्षेत्रबाट सागर ढकालले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । 

केपी शर्मा ओली 

२०४८ सालदेखि झापाको क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धा गर्दै आउनु भएका केपी शर्मा ओलीले २०६४ सालमा पराजय भोगेबाहेक अहिलेसम्म जित्दै आउनु भएको छ । यसपटक सत्ता गठबन्धनका कारण ओलीलाई २०७४ सालको चुनाव जस्तो सजिलो हुने देखिँदैन ।

२०७४ को चुनावमा ओलीले मुख्य प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले जित्नु भएको थियो । ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदा उहाँका मुख्य प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २ सय ९७ मत ल्याउनु भएको थियो । ओलीले अधिकारीले भन्दा २८ हजार ८ सय ४२ अधिक मत ल्याउनु भएको थियो ।

तर, अहिले अवस्था पहिलेको जस्तो नरहे पनि झापा ५ मा एमालेको सङ्गठन बलियो रहेको मानिन्छ । झापाको निर्वाचन क्षेत्र ५ मा २९ वटा वडा रहेका छन् जसमा गएको पालिका चुनावमा एमालेले १८ वटा वडामा प्यानलै जितेको छ । ओलीको निर्वाचन क्षेत्रमा गौरादह नगरपालिकाका वडाहरु १, २, ३, ४, ५, ६, ७, ८ गौरीगञ्ज गाउँपालिकाका वडा नम्बरहरू ३, ४, ५, ६, दमक नगरपालिकाका सबै वडा र कमल गाउँपालिकाका सबै वडा पर्छन् ।

गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष र २ वटा वडामा कांग्रेस, उपाध्यक्षसहित ३ वटा वडामा एमाले र एउटा वडामा माओवादीले जितेको छ भने कमल गाउँपालिका भने कांग्रेसले अध्यक्षसहित एउटा वडा र एमालेले उपाध्यक्षसहित ५ वटा वडा जितेको छ । यी दुवै गाउँपालिकामा एमालेले धेरै वडा जितेको छ।

यस्तै, गौरादह नगरपालिकामा एमाले अध्यक्ष–उपध्यक्षसहित निर्वाचन क्षेत्र – ५ मा पर्ने छ वटा वडा जितेको छ भने दमक नगरपालिकामा मेयर राप्रपा र उपमेयर कांग्रेसले जितेको थियो । यो नगरपालिकामा एमाले ७ वटा वडा, कांग्रेसले २ र एउटा वडा राप्रपाले जितेको छ।

गएको पालिका चुनावमा वडाको मतका आधारमा हेर्दा झापा ५ मा एमालेले ४१ हजार ६ सय १९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७ सय ८८, राप्रपाले ८ हजार ३ सय ५३ र एकीकृत समाजवादीले १ हजार ९ सय ८८ मत पाएका छन् । 

पुष्पकमल दाहाल प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन – ३ छाडेर गोरखा – २ बाट उम्मेदवारी दिनुभएको छ । यहाँ कांग्रेसकी माधवी भट्टले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै यो क्षेत्रमा एमालेबाट अब्दुस मियाँको पनि उम्मेदवारी परेको छ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले चार पटक चुनावी प्रतिस्पर्धा गर्नुभएको छ । तर, हरेक पटक उहाँले क्षेत्र परिवर्तन गर्नुभएको छ । २०६४ सालमा संविधान सभाको चुनावमा उहाँले काठमाण्डौको क्षेत्र नम्बर १० तथा रोल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको थियो भने उहाँ दुवै क्षेत्रमा विजयी पनि हुनुभएको थियो ।

२०७० सालमा भएको संविधान सभाको दोस्रो चुनावमा उहाँ साविक काठमाण्डौ – १० तथा सिरहा – ५ बाट उम्मेदवार बन्नुभयो । काठमाण्डौमा उहाँ कांग्रेसका जिल्लास्तरीय नेता राजन केसीसँग पराजित हुनुभयो । सिरहामा उहाँले १५ हजार २ सय ४४ मत ल्याएर जित्नुभयो । उहाँको प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठले १४ हजार ३ सय २३ मत ल्याउनु भएको थियो ।

२०७४ सालको चुनावमा भने उहाँले चितवन – ३ बाट ४८ हजार २ सय ७६ मत ल्याएर राप्रपाका विक्रम पाण्डेलाई हराउनु भएको थियो । पाण्डेले ३८ हजार ९ सय ४२ मत ल्याउनु भएको थियो ।

तर, अहिले प्रचण्ड उम्मेदवार बन्नु भएको गोरखा – २ मा गएको पालिका चुनावमा वडाध्यक्षहरुले पाएको मतपरिणाम हेर्दा माओवादी केन्द्र एक्लैको २२ हजार २५० मत रहेको छ । त्यस्तै नेपाली कांग्रेसको २१ हजार १ सय ३६ र जनता समाजवादी पार्टी (जसपा) को ७ हजार ५ सय ४ मत छ । यो क्षेत्रमा एमालेको ७ हजार ९ सय २६ तथा राप्रपाको ८ सय ७८ मत मात्र भएकोले पनि गठबन्धनका उम्मेदवार प्रचण्डलाई सहज छ ।

माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौ – २ छोडेर रौतहट – १ बाट उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा एमालेबाट अजयकुमार गुप्ताको उम्मेदवारी परेको छ ।

यसअघि २०५६ सालको आमचुनाव तथा २०७० सालको दोस्रो संविधान सभाको चुनावमा नेपाल रौतहट – १ बाट नै निर्वाचित हुनुभएको हो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा भने उहाँ नेकपा माओवादीका उम्मेदवार देवेन्द्र पटेलसँग पराजित हुनुभएको थियो ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा काठमाण्डौ क्षेत्र नम्बर – २ बाट विजयी नेपाल यसपटक भने आफ्नो गृह जिल्लामा पुग्नुभएको छ । रौतहट–१ मा नेकपा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ । एमालेले धेरै पटक चुनाव जितेको क्षेत्र हुनाले यहाँ एमाले कमजोर मानिँदैन ।

तर, यस पटकका एमालेका उम्मेदवार २०७४ सालको गौर नगरपालिकाको मेयर हुनुहुन्छ । उहाँ भर्खरै राजपाबाट एमाले प्रवेश गर्नुभएको हो । यसकारण पनि यहाँ समाजवादीले आफूलाई बलियो मानेको छ ।

रौतहट–१ मा रहेको पाँचवटा पालिकामा गठबन्धन दलले नै विजय हासिल गरेको हो । गौर र राजदेवी नगरपालिकाको मेयरमा एकीकृत समाजवादी, माधवनारायण नगरपालिकामा नेपाली कांग्रेस, यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र दुर्गा भगवती गाउँपालिकामा नेकपा माओवादीका उम्मेदवारले जितेका हुन् । यसकारण पनि नेकपा समाजवादीले यसलाई सहज क्षेत्रका रुपमा लिएको छ ।

रौतहट – १ मा पर्ने गरुडा नगरपालिकाको एउटा वडा र गढीमाई नगरपालिकाको ३ वटा वडामा पनि गठबन्धनले जित निकालेकोले नेकपा समाजवादी यस क्षेत्रमा सहज जित निकाल्नेमा देखिन्छ ।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा रौतहट – १ बाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा निर्वाचित हुनुभएको थियो । पछिल्लो समय लोसपा पनि सत्तारुढ गठबन्धनमै रहेकोले पनि नेपालको जित सहज देखिनेमा आशावादी देखिन्छन् नेकपा समाजवादीका नेताहरु । 

रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ - १ बाट उम्मेदवारी दिनुभएको छ । यसपटक पनि त्यहाँ गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी परेको छ । यस क्षेत्रबाट एमालेले एकबहादुर रानालाई उम्मेदवार बनाएको छ ।

तनहुँ - १ बाट पहिलो पटक २०४८ को चुनाव जितेर सांसद बन्नु भएका पौडेलले २०५१ सालको मध्यावधि चुनावमा भने तनहुँ २ बाट सांसद जित्नु भएको थियो । त्यसबेला उहाँ प्रतिनिधि सभाको सभामुख पनि बन्नुभयो । त्यसपछि २०५६, २०६४ तथा २०७० सालमा पनि उहाँले तनहुँ २ बाट नै चुनाव जित्नुभयो ।

तर, २०७४ सालमा भने उहाँले तनहुँ - १ बाट उम्मेदवारी दिनुभयो । र त्यसबेला वाम गठबन्धनका उम्मेदवार किसान श्रेष्ठसँग उहाँ ६ हजार ४ सय १४ मतले पराजित हुनु भयो । वाम गठबन्धनका साथै त्यहाँ बलियो पकड राख्ने गोविन्दराज जोशीले पनि त्यसबेला श्रेष्ठलाई सहयोग गर्नुभएको थियो ।

अहिले पनि जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको छ । पालिका चुनावमा जोशीका छोराले व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएकोमा २ सय ५२ मतको झिनो मतले मात्रै पराजित हुनुभएको हो । यसकारण पनि पौडेललाई केही अप्ठ्यारो पर्ने देखिन्छ । तर तनहुँ - १ मा कांग्रेसको प्रभाव राम्रो रहेको र गठबन्धनका कारण अझ अवस्था सहज रहेको त्यहाँका कांग्रेस नेता कार्यकर्ताहरुले आकलन गरेका छन्। 

अन्तिम अपडेट: बैशाख ४, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया