नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा महिला भलिबल प्रतियोगिता सुरु

 असोज २७, २०७९ बिहिबार २०:१:४८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित म्याग्दीको सदरमुकाम बेनीमा आज (बिहीवार) देखि नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा गण्डकी प्रदेशले लगातार सोझो तीन सेटमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियाेगितामा विजयी सुरुवात गरेका छ । 

गण्डकीले सुदूरपश्चिम प्रदेशलाई २५–१८, २५–८ र २५–२२ को सेटमा पराजित गरेको हो । भोलि (शुक्रवार) को पहिलो खेल कर्णाली प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) को बीचमा हुने आयोजकले जनाएको छ । भलिबल प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम गरेर १० वटा टिमको सहभागिता रहेको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । 

यसैगरी शुक्रवारदेखि नै म्याग्दीको बेनीमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि सञ्चालन हुने भएको छ । तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनसहित ११ वटा टिमको सहभागिता रहने जनाइएको छ । आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सय जनाभन्दा बढी खेलाडी तथा अफिसियलहरू म्याग्दी आइपुगेका छन् । 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले खेलकुद प्रतियोगिताले म्याग्दीको प्रचारप्रसार हुने बताउनुभयो । उहाँले म्याग्दी जिल्लामा पहिलो पटक महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न पाउनु गौरवको विषय भएको बताउँदै म्याग्दीलाई खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसर दिएकोमा राष्ट्रिय खेलकुद परिषद्लाई धन्यवाद दिनुभयो । 

प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले म्याग्दीमा आयोजना गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले म्याग्दी जिल्लाको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।  

बेनीको खुलामञ्चमा आयोजित खेलकुद प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु हुनुअघि खेलाडी, अफिसियल, सरोकारवाला तथा विभिन्न जातीय सङ्घ–संस्थाको टोलीले बाजागाजा, भेषभूषा, झाँकी र र्‍यालीसहित बेनी बजारको परिक्रमा गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया