ढुङ्गा प्रहारबाट सोलु भ्रमणमा आएका एक विदेशी  घाइते, एक युवक पक्राउ

 असोज ३०, २०७९ आइतबार १२:९:१४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बु भ्रमणमा आएका एक विदेशी पर्यटक अज्ञात व्यक्तिको ढुङ्गा प्रहारबाट घाइते भएका छन् । घाइते हुनेमा अमेरिकी नागरिक २५ वर्षीया महिला क्याथृङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक रामकिशोर शाहका अनुसार असोज २७ गते बिहीवार सोलुदुधकुण्ड नगरपालिका २ को सलुङ जङ्गलमा हिँड्दै गर्दा क्याथृङलाई एक अपरिचित पुरुषले टाउकोमा ढुङ्गा प्रहार गरी घाइते बनाएका हुन् ।

प्रहरीका अनुसार सुरुमा ती पुरुषले विदेशीसँग डलर मागेको तर विदेशी महिलाले रकम दिन इन्कार गर्दा एक्कासी टाउकोमा ढुङ्गा प्रहार गरी भागेका थिए । ढुङ्गा प्रहारबाट विदेशी महिलाको टाउकोमा गहिरो चोट लागेको छ ।

उनको टाउकोमा ७ टाँका लगाइएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ । एक्लै सोलु भ्रमण आएका अमेरिकी नागरिक उपचारपछि काठमाण्डौ फर्किसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय एक युवकलाई पक्राउ गरेको छ । घटना पश्चात प्रहरी चौकी बेनीबाट खटिएका प्रहरी टोलीले ३५ वर्षीय दावा जाङ्बु शेर्पालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शेर्पा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको हिरासतमा रहेका छन् ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया