मखमलीमय गुन्डु  : फूलको माला विदेशसम्म

 कात्तिक २, २०७९ बुधबार १२:६:५७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

मखमली फूलले ढपक्कै ढाकेको बारी । घरै पिच्छे माला उन्न भ्याइनभ्याइ छ । भक्तपुर सूर्यविनायकदेखि करिब ७ किलोमिटरको दूरीमा रहेको गुन्डु गाउँले गएको धेरै वर्ष अघिदेखि ‘मखमली’ परिचय बनाएको छ । तिहारमा भाइटीकाको बेला दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली फूलका धेरै माला यहीँ गुन्डुमा बन्छ । पहिले पहिले नेपालमा मात्र बिक्री हुने मखमली फूलको माला अहिले विदेशमा रहेका नेपालीहरुसम्म पुग्छ । त्यसैले गुण्डुका बासिन्दाको चटारो पहिलेभन्दा बढेको छ ।

यही चटारोमा हुनुहुन्छ, गुन्डुकी सञ्जु बिष्ट पनि । उहाँसहित अरु चार जना उहाँकै घरमा माला गाँसिरहनु भएको छ । उहाँका श्रीमान भने माला गाँस्नेहरुलाई चटपटे, चिया, पानी तथा खाजाको व्यवस्था गर्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘अरुको त माला गाँसेरै फुर्सद छैन । यति त सहयोग गर्नैैपर्यो नि ।’

बिष्टका अगाडि बारीबाट बिहान टिपेर ल्याएको मखमली फूलको थुप्रो छ । सियोमा मखमली फूल उन्दै धागोमा सपक्क मिलाएर राख्दै हुनुहुन्छ उहाँ । उहाँले मखमलीको खेती गर्न थालेको १५ वर्ष भयो । मखमली खेती गर्नु अगाडि उहाँ मुला, केराउ जस्ता तरकारी खेती गर्नुहुन्थ्यो । पहिले उहाँको घरभन्दा परपर गाउँका अरुले फूल खेती गर्न थाले । त्यसपछि त्यही सिको गर्दै उहाँले पनि खेती गर्न थाल्नु भएको हो । उहाँ भन्नुहुन्छ, ‘धान, मकै अरुभन्दा यसमा पैसा आउँछ भनेर लगाएको यसपाली चाहिँ आएन ।’

अघिल्लो वर्ष ३० रुपैयाँमा बिक्री भएको माला यस पटक भने व्यापारीले २० रुपैयाँ मात्र दिए । उहाँ भन्नहुन्छ, ‘पहिले पहिले ३० दिएको माला अहिले २० मात्रै दिन्छन् । बीच बीचकाले खाइदिएर अहिले हामीले २० रुपैयाँभन्दा पाएका छैनौँ ।’

धागो तथा फूलमा हाल्ने औषधिको भाउ बढ्दा पनि मालाको भाउ नबढेकोमा उहाँको गुनासो पनि छ । उहाँ भन्नहुन्छ, ‘औषधिको पनि मूल्य बढ्यो, धागोको पनि मूल्य बढ्यो । तर, मालाको भाउ भने बढ्नुको साटो घट्यो ।’

यति नै भन्ने नभए पनि उहाँ सालाखाला सिजनमा डेढ/दुई लाख रुपैयाँ कमाउनुहुन्छ । उहाँले यो सिजनमा अहिलेसम्म झण्डै ६ हजार जति माला तयार पारिसक्नु भयो । सबै माला बिक्री पनि भइसके । विदेश लैजाने माला भने दशैँ अगाडिदेखि नै व्यापारीहरु लिन आउने हुनाले धेरै पहिले नै बिक्री भइसके । अहिले तयार भइरहेका माला भने देशभित्रैको बजारका लागि हो ।

सरस्वती बिष्टले पनि मखमलीको खेती गर्न थाल्नु भएको झण्डै १५ वर्ष भयो । उहाँले भने दुई रोपनी जग्गा भाडामा लिएर मखमली खेती गरिरहनु भएको छ । पहिले पहिले भने उहाँ काउली, बन्दा, आलु लगायत तरकारीको खेती गर्नुहुन्थ्यो । तर, तरकारीभन्दा धेरै फाइदा फूलमा आउन थालेपछि भने उहाँले दुुई रोपनी जग्गा भाडामा लिएर खेती गर्न थाल्नु भएको हो । वर्षको २५ हजार रुपैयाँ भाडा बुझाउनुहुन्छ । मखमली फूलको सिजन सकिएपछि भने उहाँ केराउ, बन्दा आलु जस्ता तरकारी खेती सुरु गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मखमलीको सिजन सकिएपछि तरकारी खेती गर्ने हो । त्यसमा पनि यसमा जत्तिको फाइदा नभए पनि फाइदै हुुन्छ ।’

मखमलीबाट फाइदा त हुन्छ, तर त्यसैअनुसार मेहनत गर्नुपर्छ । ‘फाइदा मात्र भनेर भएन खेताला लगाउनुपर्छ । महिलाले ७ सय रुपैयाँ लिन्छन् । पुरुषले हजार रुपैयाँ लिन्छन् । झण्डै पाँच जना जति खेताला हालियो होला ।’

खेतालाले राम्रै पैसा लिएर आफू खेतालासँगै खटिए पनि राम्रो फाइदा छ मखमलीमा । बिष्ट एक सिजनमा झण्डै साढे दुई लाख रुपैयाँ कमाउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘झण्डै साढे दुई लाख कमाइ भयो होला यो सिजनमा । फूलपछि अब तरकारी गर्दा अलि आउँछ त्यसबाट पनि ।’

माला गाँस्ने धागोको सय रुपैयाँ पर्छ । सय रुपैयाँको एक गोली धागोले झण्डै ५ सय माला बन्छ । उहाँले पाँच गोली धागोले झण्डै २५ सय माला तयार गर्नुभयो अहिलेसम्म । अघिल्लो सिजनमा एउटै माला ५० रुपैयाँमा बिक्री गरेको बताउने बिष्ट भन्नुहुन्छ, ‘अहिलेसम्म २५ सय माला बेचियो । भाउ खास आएन । बीस रुपैयाँ मात्र दिए मालाको ।’

माला बेच्नेहरु सबैले एउटा दरमा बेचेको भए भाउ राम्रो आउने बताउनुहुन्छ बिष्ट । उहाँ भन्नुहुन्छ, ‘सबैले एउटै दाम गरिदिए त हुन्थ्यो । एउटाले २० भन्यो भने अर्कोले १८ मा दिन्छ । यसरी एउटाले मकहाँ छ भनेर तानेर लैजान्छ । त्यसरी व्यापारीले सस्तोमा उठाएर लान्छन् ।’

मखमली फूल खेतीमा केवल गृहिणी महिलाहरु मात्र नभएर पढ्दै गरेका महिलाहरु पनि संलग्न छन् । बीबीएस पढ्दै गर्नु भएकी सन्ध्या बिष्ट माला गाँसेर आफ्नो आमालाई सघाउँदै हुनुहुन्छ । आफू बीबीएस पढ्दै गरे पनि माला गाँस्ने तथा अरु कृषिको काम किन गर्नु भन्ने त्यस्तो नलाग्ने बताउनुहुन्छ सन्ध्या । ‘काम भनेको सानो ठूलो केही हुँदैन । यसमा पनि पैसा आउँछ भोलि पर्सी जब गर्दा पनि पैसा आउँछ,’ उहाँ भन्नुहुन्छ, ‘पढाइ पनि आफ्नो ठाउँमा छ काम पनि आफ्नो ठाउँमा छ । गरिराखेको काम किन छोड्नु ।’

उहाँ बिहान कलेज जानुहुन्छ अनि घरमा आएर खाना खाएर आमाले टिपेर राखेको फूलको माला गाँस्न बस्नुहुन्छ । उहाँ दिनभरीमा झण्डै ५०/६० वटा माला गाँस्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘फूलको आम्दानी अरु भन्दा राम्रो छ । देखिन्छ पनि । तर, गर्न चाहिँ अलि गाह्रो छ । अधबैंसे र हामी जस्ता युवालाई ठीक छ । बुढाबुढीले गर्न सक्दैनन् ।’

२० रुपैयाँको दरले झण्डै १५ सय माला आफूहरुले बेचिसकेको बताउनुहुन्छ सन्ध्या । यसमा पैसा राम्रो आउने कारणले पढेलेखेका मान्छेहरुले पनि यस्तो कृषिको काम गर्नुपर्ने उहाँको राय छ ।  उहाँ भन्नुहुन्छ, ‘पछिको काममा पनि गाह्रो भइहाल्छ । अहिलेदेखि सिक्दै गयो भने भोलि काम पाइएन भने पनि यही काम गरेर खान सकिन्छ ।’

अहिलेका युवाहरुले पनि कृषिको काम गर्नुपर्ने बताउँदै सन्ध्या भन्नुहुन्छ, ‘अहिले विदेश पनि गइरहेकोले हामीले यसलाई प्रमोट गर्नुपर्छ । तर, यसलाई एक जनाले मात्र प्रमोट गरेर हुँदैन । सबै जना एकजुट भएर मिलेर गर्यो भने चाहिँ हुन्छ ।’ 
 

अन्तिम अपडेट: चैत २३, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया