भट्टेडाँडाको बाटोमा भाले कुखुरो !

 असोज १६, २०७५ मंगलबार १३:८:२२ | अर्जुन पोख्रेल

मनले भन्न थाल्यो, ‘उमेर खाएका तीनजना बाउको हाराहारी उमेरका मान्छेसँग नगरपालिका भनिएका गोदावरीका शहरी गल्ली हिँडेर पनि कहिँ हाइकिङ हुन्छ ! न उमेर मिल्छ, न गफ मिल्छ !’ हिँडाइको तौरतरिका पनि नमिल्ला जस्तो लाग्न थालेपछि मन खिन्न हुन थालेको थियो जब म उमेशसिंह भण्डारी, गोपाल गुरागाई र मोहन सुब्बासित दक्षिण ललितपुरको हाइकिङमा मिसिएँ । 

दुई बै‌ंकर र एक पत्रकारको पछि लागेर मोटर बाटोबाट गल्लीमा पस्दा पनि पाँच दश मिनेटसम्म मनले अलि थकथक मान्दै थियो । तर, तीनजनाको पछाडि लुरुलुरु हिँड्न थालेको झण्डै १५ मिनेटपछि मेरो मनलाई यात्राका दृश्यले गलत सावित गर्ला भन्ने संकेत ग्‍ार्‍यो । 

पन्ध्र मिनेटसम्मको हल्का निरसिलो यात्रालाई गज्जबको यात्रामा बदल्ने संकेत देखाएको थियो, धापाखेलमा एकाएक देखिएको मखमली फूलबारीले । बाटो तन्किदै जाँदा केही बेरपछि त बुढाहरु पनि खुल्दै गए ।  एकाएक दौतरी मिल्ने छाँट देखियो । 

कसैले घुम्न जाउँ भनेपछि दायाँबायाँ केही नसोची हिँडिहाल्ने बानी छ आफ्नो । कार्यालयको काम राति १२ बजेसम्म सकेर होस् या अरु साथीसँग साटेर होस्, अथवा कहिलेकाहीँ मुश्किलै परि आउँदा ढाँटेरै पनि घुम्न निस्कने बानी परेको छ । असोजको ७ गते दिउँसो एउटा काममा थिएँ । तीनमध्येका एउटा बुढाले भने, ‘हामी भोलि हामी घुम्न जाँदैछौँ, फुर्सद छ भने मिसिँदा हुन्छ !’ मनमनै भने घुम्न जाने भनेपछि फुर्सद नभए पनि निकाल्ने त हो नि !

भोलि घुम्न जाने भएपछि राति नै कार्यालयको भोलिका काम आधा सकियो ।

असोज ८ गते बिहान साढे ६ बजे नै सुनाकोठीबाट हाम्रो यात्रा सुरु भयो । सुरुका १५ मिनेट केही असजिलो लागे पनि जब हामी सुनाकोठीबाट धापाखेलको फाँट हुँदै नागदहतर्फ लाग्यौँ, तब आउन थाल्यो यात्राको मज्जा । 

नागदह नपुग्दै मन फरुङ्ख बनाउने मखमली फूलको बारी भेटियो । भर्खरै उदाउँदै गरेको सूर्यको किरण मखमली फूलमा परेको थियो, सूर्यका किरण र मखमली फूलकोे रंगले मेरो मनमा खुसीको इन्द्रेणी भरिदियो । 

विस्तारै यात्राका सहयात्रीसँग कुरा जम्न थालेको थियो । उमेरको अन्तरले यात्रालाई कुनै असर गरेन, कुराकानी मिल्न थाले । यात्रा सुरु गरेको आधा घन्टामै हामी नागदह पुग्यौँ । हामीले घुम्ने लक्ष्य राखेका दक्षिण ललितपुरका चार धाममध्ये एउटा धाम नागदहको दर्शन गरियो । उदाउँदो सूर्य, छेउछाउका फाँट, तरंगित भएको नागदहको पानी, अनि पानीमाथि तैरिहेका केही कमलका फूल र हंसाकार नाउ । नागदहबाट ओरालो लागेर खेतका फाँटमा पुग्दा नपुग्दै सुरु भयो झरुवाराशीको फाँट । मतलब अब हामी सन्तानेश्वरको उकालो लाग्दै थियौँ । 

कहिले राजनीतिका, कहिले पुराना जमानाका, अनि कहिले अहिलेका युवा पुस्ताका कुरा गर्दै, खेतमा झुल्दै गरेका धानका बाला र ढकमक्क फूलेका फूलसँग ठट्टा गर्दै हामी सन्तानेश्वर मन्दिरको दक्षिणी फेदमा पुग्यौँ । 

त्यहाँसम्म पुग्दा पनि मलाई लाग्दै थियो तीनजना बुढाको फटाफट गतिमा उकालाले ब्रेक लाउँछ र सन्तानेश्वर महादेवको उकालो चढ्दा बुढाहरुको हाइकिङ हैसियत देखिन्छ । तर बुढाहरुले फेरि मेरो अनुमानलाई गलत बनाउन थाले । सन्तानेश्वर महादेवको  टुप्पोमा पुग्न सिँढी चढ्दा म थकाइले खुइय खुइय गर्दै थिएँ, तीनजनाको गति फाँट र सम्म ठाउँमा जस्तै थियो, फटाफट ..... फटाफट .....!

हुँदाहुँदा एउटा बुढाले उल्टो जिस्क्याए, ‘यो उमेरमा पनि अर्जुन हिँड्न सकेन ! भनेपछि के गरिखाने हो, बिहेपछि के हुने हो !’ 

आकाश खुल्दै थियो, काठमाडौं पनि खुल्दै थियो । हामी सन्तानेश्वर पुग्दा काठमाडौं उपत्यका हेर्दै मख्ख परेका थियौँ । डाँडाको चुचुरोमा रहेको मन्दिर, बिहानको पारिलो घाम, वरपरको हरियाली अनि सुन्दर काठमाडौं हेरेर हामी हर्षित  थियौँ । तर एक्कासि मुड खराब हुने दृष्य देखियो । 

मन्दिरको फेदैमा फोहोरको डंगुर थियो, फोहोरको डंगुरमा धेरैजसो प्लाष्टिकका बोत्तल र मन्दिर परिसरमा रहेको नाङले रेष्टुरेन्टबाट उत्पादित फोहोर थियो । भगवानको पाउमा फोहोरको डंगुर देख्दा हामी चारैजनालाई नरमाइलो लाग्यो । 

उकालो चढ्दै एउटा बुढाले अब मन्दिर आउने सबै भक्तजनलाई अलिअलि फोहोर बोकेर पहाडको फेदमा पुर्याउन लगाउने योजना बनाए । तर यो योजनामा के मिलेन कुन्नि, उनैले आफ्नो बैंकमार्फत मन्दिर सफाइको केही काम गर्नुपर्ला भन्ने अर्को योजना बनाए । यी कुरा सक्दा हामी ठाडो उकालो सकेर मन्दिरको प्रांगणमा पुग्यौँ । मन्दिरमा एकैछिन विश्राम, दर्शन र फोटो खिचिसकेपछि हामी अर्को पाटोबाट गाउँमा ओर्लियौँ । कलिलो घाममा सन्तानेश्वर मन्दिरबाट देखिएको दृश्यले सबैको मन रमाएको थियो, तर भोकले पेटमा काउकुति पनि लगाउन थालेको थियो सबैको । 

हाम्रो गन्तव्य अब बज्रवाराही हुँदै टीकाभैरव मन्दिरमा पुग्नु थियो । बुढाहरुले त झरुवाराशीको एउटा खाजाघरमा चना, अण्डा र सेलरोटीको खाजा खाँदाखाँदै टीकाभैरवको एउटा रेष्टुरेन्टमा गाउँको एउटा लोकल भालेको झोलमा रम्ने योजना पनि बनाइसकेका थिए । सन्तानेश्वरबाट बज्रबाराहीतर्फ जाँदा अलिकति बाटो पक्की र धुलो उड्ने थियो । तर तत्कालै बाटो परिवर्तन गरेर हामी बज्रबाराहीको दक्षिण पूर्वी क्षेत्रबाट जंगल  प्रवेश गर्‍याैँ । 

काठमाडौं उपत्यकामा बज्रयानी बुध्दको जगजगी भएका बेला निर्माण भएको बज्रवाराही मन्दिरको दर्शन गरेपछि हाम्रो टोली अब तीनजनामा सीमित हुने भयो । हाइकिङ, ट्रेकिङ र खेलकुदका अत्याधिक प्रेमी मोहन सुब्बा घण्टौँ फुटसल खेलेर बिहानैदेखि पुरै दिन हिँड्ने कि नहिँड्ने दोधारमा देखिएका थिए । मोहनलाई बज्रवाराहीबाट सुनाकोठी जान बिदा गरेपछि अब हामी तीनजनाको गन्तव्यमा थियो प्याङगाउँबाट राजकुलो हुँदै पुगिने टीकाभैरव मन्दिर । 

हामी बज्रवाराहीबाट सानो गल्ली हुँदै चापागाउँको बसपार्क प्याङगाउँ पुग्यौँ । त्यहाँबाट अलिकति ओरालो उकालो बाटो लागेपछि खानेपानीको पोखरीबाट दाहिने मोडियौँ । त्यता लागेपछि सयौं वर्ष पुरानो राजकुलो भेटिन्छ । मल्लकालमा बनेको राजकुलोले झण्डै पाँच दशक अघिसम्म दक्षिण ललितपुरको खेतीपाती र पाटन क्षेत्रका ढुंगेधाराहरुलाई सिञ्चित गरेको थियो ।

राजकुलोकै पानीले पाटनका हरेक पोखरी टनाटन भरिन्थे अनि धाराहरुबाट पानी खलल बग्थ्यो भन्ने कुरा पनि मैले यही यात्रामा थाहा पाएँ । मल्लकालका शासकहरुले बरु व्यवस्थित गाउँ सहर बनाउन राजकुलो बनाएका रहेछन्, तर अहिलेका शासकमा त्यो दूरदर्शिता खै त भने जस्तो पनि लाग्यो । 

हामी भैँसेपाटीको दक्षिणपट्टिको भाग हेर्दै, धान झुलेका खेतको फोटो कैद गर्दै गफिँदै राजकुलोको डिलैडिल टीकाभैरवतर्फ लाग्यौं । राजकुलोमा पसेपछि यस्तो लाग्यो मानौँ हामी काठमाडौंबाट पचास कोष टाढा छौँ । न गाडीको ट्याँ ट्याँ टु टु, न त धुलो धुवाँ नै । जंगलको बीचमा बगेको कुलैकुलो हिँड्दा कुनै निकुञ्जको बाटो हिँडेको आभास हुन्थ्यो । 

कुलैकुलो आफ्नै सुरमा हिँडेका हामीलाई अग्लो झोलुंगे पुलले अल्झायो । यो छम्पीलाई चापागाउँ र लेलेसित जोड्ने पुल हो भन्ने कुरा पनि यात्रामै थाहा पाइयो । निकै अग्लो पुलबाट खोलापट्टि हेर्दा मुटु सिरिङ्ख भयो । फोटो खिचेर हामी फेरि टीकाभैरवतर्फ लाग्यौँ । हरिया रुख, राजकुलोमा बगिरहेको पानीको कलकल, दाहिनेपट्टिको भीर अनि रुखमा चिर्बिर चिर्बिर गरिरहेका चराहरुको गीत सुन्दै प्रकृतिसित एक घण्टाभन्दा धेरै समय रमाएर हामी पुग्यौँ टीकाभैरव । 

टीकाभैरवको एउटा होटलमा लोकल कुखुरा भनेर हामीलाई गिरिराज कुखुरामै टार्ने लक्षण देखिएपछि हामी टीकाभैरव मन्दिरको दर्शन गरेर पुरानो बजार हुँदै भट्टेडाँडा जाने उकालोतर्फ लाग्यौँ । कान्ति लोकपथलाई देब्रे पारेर पहाडको उकालो चढ्दै गएपछि तामाङ बस्ती देखिन थाले । खड्कुलामा बन्न थालेको तीन पाने रक्सीका बाहनले बस्तीमा चाडपर्व पस्न थालेको संकेत देखाउन थाले । टीकाभैरवबाट भट्टेडाँडा जाने उकालो उक्लिँदा पनि मलाई सन्तानेश्वर महादेवको डाँडा चढेको याद आयो । 

युवा जोश जाँगर भएको भनिएको म स्याँ स्याँ गर्दै पसिनाका धारा बगाउँदै थिएँ, तर मैले उमेर ढल्कन लागेको ठानेका गोपाल गुरागाईं र उमेशसिंह भण्डारी भने गफिँदै उकालोमा रमाइरहेका थिए । बाटोमा कतिबेला चौतारो भेटिएला र टुसुक्क बस्न पाइएला भन्ने आशमै हामी उकालो चढिरह्यौँ स्कुसका झाल र दलानमा सुकाएका मकैका बिस्कुन हेर्दै । हिँड्दाहिँड्दै हाम्रो टोली कोटडाँडाको भञ्ज्याङमा पुगिसकेको थियो । अब हामी यहाँ भन्दा माथि जाने कि नजाने भनेर सुस्ताउने ठाउँ खोज्न थालेका थियौँ । 

यस्तै बेलामा बारीमा मकै स्याहार्दै गरेका एकजना दाइले पहाडको टुप्पोमा एउटा रिसोर्ट देखाइदिए । त्यो रिसोर्टमा आफैले छानेर लोकल कुखुरा काटी खान पाइन्छ भनेर दाइले हामीलाई फेरि उकालो चढ्ने कुखुरो नामक लिस्नु हालिदिए । यहाँ आइपुगेपछि भोकै टीकाभैरव फर्कन अब मेरो पनि मन मर्न थालेको थियो । 

दिउँसोको १२ बज्नै आँटेको बेला हामी कान्ति लोकपथको किनारमा उत्तर फर्केर बसेको रिसोर्टमा पुग्यौं । टीकाभैरवबाट ३ किलोमिटर उकालो पार भैसकेको थियो । पेट भोको थियो, तर कचौरा जस्तो काठमाडौं आँखै अघि देख्दा भोक हराएको जस्तो आभास हुन्थ्यो । हाम्रै आँखा अघि देखिने त्रिभुवन विमानस्थलको रनवेमा हाम्रै शीरमाथिबाट जहाज ल्याण्ड गरेको पनि प्रष्ट देखिन्थ्यो । डाँडाको टुप्पोमा रहेको रिसोर्टमा बसेर वरपरको जंगल, तलपट्टिको गाउँ अनि काठमाडौं उपत्यका हेर्दाको आनन्द शब्दमा वर्णन गरेर के भ्याउनु र !

हुन त भोको पेटले मिठो नमिठो जान्दैन भन्छन्, तर रिसोर्ट चलाएको रहेछ एउटा सहकारीले । जस्मा पाइँदो रहेछ स्थानीय साग र च्याउको तरकारी, अनि लप्सी र मुलाको अचार ! त्यो पनि स्थानीय स्वादमै ! हरेक परिकारमा हाम्रो जिब्रो झुण्डियो । केहीबेरको आराम र खानापछि हामी पुरानै बाटो फर्कियौँ । टीकाभैरवमाथिको त्यो कोटडाँडामा रात बिताउन मन त थियो, तर मनलाई कामको बाध्यताले थिचेकाले हामी जुन बाटो गएका थियौँ, त्यही बाटो फर्कियौँ । 

यसरी एकैबिहान हामीले स्थानीय जीवनसँग मितेरी लगाउँदै दक्षिण लतिलपुरका चार धाम मानिने नागदह, सन्तानेश्वर, बज्रवाराही र टीकाभैरव समेत राजकुलो र डाँडाकाँडा घुम्न भ्यायौँ । हामीले ४-५ घन्टाको फुर्सद निकालेमा काठमाडौंको कोलाहलबाट सुन्दर र शान्त ठाउँमा मन चंगा बनाउन पाउने रहेछौँ । धेरै समय पनि नलाग्ने रथोरै बजेटमा खानपिन गर्दै काठमाडौं वरिपरि घुम्न चाहनेहरुका लागि यो रुट खुब गज्जबको लाग्यो । 

यो यात्रापछि लाग्न थालेको छ आधा दिनको समय निकाल्ने हो भने काठमाडौं उपत्यकाभित्रै स्वर्गीय आनन्द मिल्ने ठाउँमा पुग्न सकिन्छ । उपत्यकामा पनि मनलाई चङ्गा बनाउने गरि प्रकृतिसित रम्ने ठाउँहरु धेरै छन् । 

तस्वीरहरु : गोपाल गुरागाईं

उज्यालोको यूट्युब च्यानल Ujyaalo TV मा बाउछोरीको कथा हेर्नुहाेस्

 

अन्तिम अपडेट: असार ४, २०७७

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

2 Comments

  • SamrEddha

    Oct. 3, 2018, 9:09 a.m.

    Location please

  •  0 Reply
  • Ramesh Byanjankar

    Oct. 3, 2018, 8:41 a.m.

    पढ्दै रमाइलो लाग्यो , के यस्तै यात्रामा सहभागी हुन सकिन्छ र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया