चुनाव आइसक्यो, छैन उत्साह

 कात्तिक १३, २०७९ आइतबार १८:५७:४५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

भोजपुर स्थायी घर भइ ललितपुर सातदोबाटो बस्ने तेजप्रसाद राईले जीवनमा धेरै चुनाव हेर्नुभयो । गएको वैशाखमा भएको पालिका चुनाव र २०७४ सालको चुनावमा पनि उहाँले भोजपुर पुगेरै भोट हाल्नु भएको हो । तर, यस पटक भने उहाँ तिहार मनाउन पनि भोजपुर जानुभएन र यतै बस्नुभयो । राई भन्नुहुन्छ, ‘अहिले तिहारमा घर गएकाे भए नेताहरू पनि सबै आएका हुन्थे । भोट माग्न आएरै हैरान बनाउँथे । अब जति भोट हाले पनि केही हुँदैन भन्ने देखिसक्यो, त्यै भएर पनि भोट हाल्न जान मन छैन ।’

उहाँ थप्नुहुन्छ, ‘हेर्नुस् त अहिले पनि नेताहरू माथि माथि मिलेका छन् अनि तल तल जनतालाई भने जुधाउँछन्, लडाउँछन् र बेवकुफ बनाउँछन् । हामी पनि नबुझी झगडा गरेर बस्छौँ । यस्तै छ ।’

राजनीति फोहोरी भएको कुरामा राईकाे गुनासो अझै धेरै छ । उहाँ भन्नुुहुन्छ, ‘हेर्नुस् त, पहिला पहिला चुनाव भनेपछि मान्छे कति धेरै रमाएर आफ्नो ठाउँमा भोट हाल्न जानुपर्छ भनेर तयारी नै गर्थे । तर, अहिले कसैले जाउँ भन्दा पनि के का लागि जाने, नेतालाई धनी बनाउन जाने हो भन्छन् । उल्टै हप्काउँछन् पो त ।’

ललितपुर सुनाकोठीका बासिन्दा जगन्नाथ महर्जनले चुनावमा भोट हालेको भनेको २०७४ सालको चुनावमा मात्र हो । पालिका चुनावमा भने उहाँ काम विशेषले गर्दा काठमाण्डौ उपत्यकाबाहिर जानु भएका कारण भोट हाल्न पाउनु भएन ।

उहाँ भन्नुहुन्छ, ‘पहिले पहिले यहाँ गाउँमा पनि चुनाव आएपछि रौनक नै अर्को हुन्थ्यो । समूह समूहमा बसेर कुराकानी छलफल र यो ठिक छ यसलाई भोट दिउँ भन्ने हुन्थ्यो । तर, अहिले भने त्यस्तो केही छैन । कसैलाई पनि चुनाव आएको मतलब नै छैन ।’

चुनावप्रति यस्तो चासो नहुनुमा नेताहरूकै व्यवहार प्रमुख कारण रहेको महर्जनकाे ठम्याइ छ । उहाँ भन्नुहुन्छ, ‘हुन त जतिसुकै र जे जे भने पनि मान्छेले भोट त हाल्लान् । तर, चुनाव भनेपछि जुन किसिमको उत्साह र वातावरण हुन्थ्यो त्यो भने हराएर गएको छ । यस्तै हो भने अब आउने वर्षदेखि चुनाव भनेको केवल भोट हाल्ने दिन हो भन्नेमा मात्र सीमित हुन बेर छैन । वा यस्तै अवस्था रहे चुनाव नै बहिष्कार भन्छन् कि जस्तो लाग्छ अब आउने पुस्ताले ।’

उहाँ यसलाई अहिले नै चुनावप्रतिको निराशा नभए पनि वितृष्णा भने हो भन्न रुचाउनुहुन्छ । महर्जन भन्नुहुन्छ, ‘२०७४ को चुनावको जुन दृष्य मैले देखेको थिएँ त्यसका आधारमा अहिले भन्नुपर्दा यो एक किसिमको वितृष्णा नै हो । यसरी नेताहरूको व्यवहार नबदलिने हो भने अब बिस्तारै वितृष्णातर्फ अघि नबढ्ला भन्न सकिन्न ।’

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन अब तीन हप्तामात्रै बाँकी छ । चुनाव यति नजिकै आइसक्दासमेत मतदातामा जुन प्रकारको उत्साह देखिनुपर्ने हो त्यो देखिएको छैन । हुन त दशैँ, तिहार, छठजस्ता ठूला पर्व भर्खर सकिए । यसले पनि चुनावी उत्साह देख्न नपाइएको हुनसक्ने अनुमान छ जावलाखेल निवासी रेणु थापा मगरको । उहाँ भन्नुहुन्छ, ‘अहिले चुनावमा खासै उत्साह देखिएको छैन । हुन त अहिले चाडपर्व चुनावको मुखमा भएर पनि होला । तर, चाडपर्व नआउँदै पनि खास चुनावको उत्साह देखिएको थिएन । अहिले पनि छैन ।’

पहिले पहिलेको चुनावमा जस्तो अहिले मतदातामा भोट हाल्ने उत्साह नदेखिएको बताउनुहुन्छ मगर । उहाँ भन्नुहुन्छ, ‘नेताहरूले भ्रष्टाचार गरे, नातागोतालाई पोस्ने काम गरे, यसले पनि जनतामा राजनीतिप्रति वितृष्णा छायो र जनतामा राजनीति अनि चुनावप्रति खासै उत्साह जगाउन सकेन । अहिले मानिस चुनावको नामै सुन्न चाहन्नन् ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया